सङ्खुवासभाः ‘१ नम्बर प्रदेश हर्न निषेधित क्षेत्र’ लेखिएका ‘होडिङ बोर्डहरू’ सङ्खुवासभामा पनि थुप्रै राखिएका छन् । सौजन्यकर्तासहित अस्थायी प्रहरी पोष्ट सङ्खुवासभाको नाम उल्लेखित होडिङ बोर्डहरू तयार पारेर जिल्लाका मुख्य बजारमा सवारीका चाप हुने चोकमा राखिएका छन् ।

बजारका मुख्य चोकहरू, विद्यालय क्षेत्र, सार्वजनिक स्थलहरू, सरकारी कार्यालय आसपासका ठाउँलगायत धेरै ठाउँहरूमा हर्न निषेधित क्षेत्र लेखिएका ‘होडिङ बोर्डहरू’ देख्न सकिन्छ । तर त्यसको कार्यान्वयनमा सर्वसाधारणसमक्ष सरोकारवाला निकायहरूले कुनै किसिमको गतिविधि अगाडि बढाएको पाइँदैन ।

जथाभावी हर्न बजाउनेलाई कुनै किसिमको कारवाही चेतावनी नहुने, जथाभावी हर्न बजाउन नपाउने विषयमा कुनै किसिमका अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन भएका छैनन् । ध्वनि प्रदूषण के हो ? किन हर्न बजाउनु हुँदैन ? भन्ने विषयमा सर्वसाधारणलाई हालसम्म सरोकारवाला निकायले जानकारी दिन भ्याएका छैनन् ।

किन हर्न बजाउनु हँुदैन भन्ने विषयमा जानकारी नभएका कतिपय सर्वसाधारणले शायद ‘हर्न निषेधित क्षेत्र’ लेखिएको होडिङ बोर्डहरू नियाल्न पनि भ्याएका छैनन् । सचेतनामूलक कार्यक्रमहरू सञ्चालन नगरिँदा ध्वनि प्रदूषणका विषयमा जानकारी पाएका छैनन् ।

१ नम्बर प्रदेश हर्न निषेधित क्षेत्र घोषणा भए÷ नभएको विषयमा सर्वसाधारण धेरैले थाहा नपाएको बताए । कतिपय हर्नहरू ट्राफिक प्रहरीले जफत गरेको र बसपार्क, सडकलगायतका स्थानहरूमा ट्राफिक प्रहरीहरूको उपस्थिति रहने जस्ता कारणबाट केही हदसम्म हर्न नियन्त्रणका कामहरू भएका छन् ।

जिल्लास्थित खाँदबारी नगरपालिकाको हकमा बसपार्कमा विगतका दिनहरूमा एकाबिहानै ठूला बसहरूले जसरी ध्वनि उत्पन्न गर्दथे आजकल कम भएको स्थानीय बताउँछन् । ट्राफिक प्रहरी र प्रहरी भएको ठाउँमा हर्न कम हुने भएता पनि होडिङ बोर्डहरूले हर्न नियन्त्रणको विषयमा जति सचेतना प्रदान गर्नुपर्ने हो त्यो गर्न सकेको देखिँदैन ।

सडकमा बढेको आफ्नो सवारी गति सङ्केत गर्न, बाटो खुला गर्ने सङ्केत गर्न र कतिपय अवस्थामा यात्रु बोलाउन पनि हर्नको प्रयोग गरेको पाइन्छ ।