झापा/ नेपाल विद्युत प्राधिकरण भद्रपुर वितरण केन्द्रले गैरकानुनी रूपमा विद्युत उपभोग गर्नेलाई धमाधम पक्राउ गरी कारवाही अघि बढाएपछि विद्युत चुहावट निकै घटेको छ ।
अनाधिकृत रूपमा हुकिङ गरी विद्युत चोरेको भन्दै कारवाहीस्वरूप दण्ड जरिवाना समेत गराउन थालेपछि चुहावट कम भएको प्राधिकरण प्रमुख राम उदगार साहले बताए ।
प्राधिकरणले भद्रपुर वितरण केन्द्रलाई १ वर्षअघि नै हुकिङमुक्तक्षेत्र घोषणा गरेको भए पनि हुकिङ गरी गैरकानुनी रूपमा विद्युत उपभोग गर्ने कार्य अझै रोकिएको छैन ।
झापामा भद्रपुरका साथै अनारमनी र दमक विद्युत प्राधिकरण वितरण केन्द्र रहेका छन् । भद्रपुर वितरण केन्द्रबाट विद्युत चोरी गरेका बखत प्राधिकरणले पटकपटक अनुगमन गर्दै लाखांैका मालसामान जफत गर्नुका साथै घटनामा संलग्न व्यक्ति पक्राउ गरिएको प्राधिकरणले जनाएको छ ।
सो केन्द्रबाट अत्यधिक विद्युत चुहावट हुन थालेपछि केन्द्रले विद्युत चुहावट नियन्त्रण समिति नै बनाएर अनुगमन गरेको थियो । मिटर जडान नै नगरी हुकिङ गरी गैरकानुनी रूपमा विद्युत उपभोग गर्ने उपभोक्तालाई पक्राउ गरी आवश्यक कारबाही गरेको कार्यालयले जनाएको छ । लामो प्रयासपछि यस केन्द्रलाई २०६९÷ ०७० मा हुकिङमुक्त क्षेत्र घोषणा गरिएको थियो ।
गत वर्षको तुलनामा चालु आर्थिक वर्ष २०७४÷ ०७५ मा चुहावट घटेको कार्यालयले जनाएको छ । यस वर्ष १४ दशमलव ४१ प्रतिशतमा झरेको चुहावट गत वर्ष १६ दशमलव ४१ प्रतिशत थियो । चालु आर्थिक वर्ष २०७४÷०७५ मा ३ सय ९८ घरमा अनुगमन गर्दा ४ वटा घर कारवाहीमा परेको प्रमुख साहको भनाइ छ । प्राधिकरणका अनुसार आर्थिक वर्ष २०६७ ÷ २०६८ को तुलनामा २०६८÷ २०६९ मा जिल्लामा विद्युत चुहावट ५० प्रतिशतले घटेको थियो ।
२०६७÷२०६८ मा ३१ प्रतिशत चुहावट थियो भने २०६८÷२०६९ मा घटेर १७ प्रतिशतमा झरेको थियो । २०६९÷२०७० मा १५ प्रतिशत चुहावट भएको थियो । २०७०÷ ०७१ मा २० प्रतिशत र २०७०÷०७१ मा १९ दशमलव ६८ प्रतिशत विद्युत चुहावट भएको थियो । २०७२÷ ०७३ मा २० दशमलव ०६ प्रतिशत थियो ।
११ देखि १३ प्रतिशत सम्म प्राविधिक कारणले विद्युत चुहावट हुने गरेको प्राधिकरणले जनाएको छ ।
विभिन्न व्यक्तिले विद्युतको प्रमुख तारबाट हुकिङ गर्दै चिया बगानमा सिँचाइ गर्ने, घरमा बत्ती बाल्ने गरेको उनले बताए । कसैले खोलासम्म लगेर माछा मार्ने गरेको उनको भनाइ छ ।
प्राधिकरणले छड्के अनुगमन गर्ने र हुक लगाएर विद्युत चोरी गरी उपभोग गर्नेलाई कारवाही गर्ने क्रमलाई प्रहरीको सहयोगमा तीव्र पारेपछि बिजुली चोरहरू धमाधम कारबाहीमा पर्न थालेको उनले बताए ।
प्राविधिक रूपमा मिटरमा समेत समस्या आएका कारण विद्युत चुहावट हुने गरेको थियो । प्राधिकरणले यसका लागि पनि अनुगमन गरेको थियो । शुरुमा उपभोक्ताबाट रकम लिएर नयाँ मिटर जडान गरे पनि बिग्रिएका त्यस्ता मिटर संकलन गरी निःशुल्क नयाँ मिटर उपलब्ध गराएको साहको भनाइ छ ।
चालु आर्थिक वर्ष २०७४÷०७५ मा सिंगल फेजतर्फ ७ सय ३१ र अन्य फेजमा १ जारभन्दा बढी मिटर फेरिएको छ । मिटरमा आएको समस्या र गैरकानुनी रूपमा विद्युत उपयोग गर्दा राज्यले निकै ठूलो आर्थिक व्ययभार सहनुपरे पनि यो समस्या क्रमशm नियन्त्रणमा आएको प्रमुख साहको भनाइ छ ।
प्राधिकरणमा देखिएको विकृति सुधार्न आफू सक्रियपूर्वक लागेको उनले बताए । समयमा विद्युत महसुल नतिर्ने १ हजार ६९ जनाको लाइन काटेको उनले बताए । उनीहरूको १ करोड ७२ लाख ५६ हजार २ सय ९४ रुपैयाँ बक्यौता रहेको थियो । सेवा केन्द्रले त्यस्ता उपभोक्ताको लाइन धमाधम काट्न थालेपछि अहिले ८ सय ७६ जनाले बक्यौता रकम बुझाएर लाइन जडान गरेको प्रमुख साहले बताए । लाइन जडानबाट १ करोड ५६ लाख २७ हजार ६ सय ६१ रुपैयाँ संकलन भएको छ । यसलाई सकारात्मक मान्न सकिने उनी बताउँछन् ।