इटहरीः २०१९ को अङ्ग्रेजी नयाँ वर्षको लागि लक्षित गरेर भेडेटारमा यही पुस १६, १७ र १८ गते भेडेटार फुड फेस्टिबल हुँदैछ । भेडेटारका होटल व्यवसायीहरूको साझा संस्था होटल एसोसिएसन अफ भेडेटारको आयोजनामा सातौँ संस्करणको फुड फेस्टिबल आयोजना हुँदैछ ।

ब्यानरमा मुख्य आयोजकहरूको रूपमा होटल एसोसिएसन भए पनि फेस्टिबलको आयोजनामा भेडेटारका सबैजसो संस्था, क्लब, आमा समूह लगायतका संस्था सक्रिय छन् । ३० हाराहारी स्टलमा विभिन्न स्थानीय, जातीय, नेपाली र भारतीय परिकारहरू राखिने आयोजकले बताएको छ । मुख्यमन्त्रीले उद्घाटन गर्ने फेस्टिबलमा नेपालीसँगै भारतीय पर्यटकहरू पनि आकर्षित हुने बताउँछन् ।

भेडेटारको पर्यटकीय चहलपहल बढाउन, स्थानीय जातीय मौलिक परिकारहरूको ब्रान्डिङ गर्न र आगन्तुकहरूलाई नयाँपन दिन फुड फेस्टिबल हुने आयोजकहरू बताउँछन् । यस पटक अरुबेला भन्दा भिन्न काम गर्न हेलिकोप्टर उडानबाट भेडेटार आसपासको हवाइ अवलोकन हुने भएकाले यो फेस्टिबललाई विशेष मानिएको छ ।
प्रदेश पोर्टलले प्रदेश १ को सबैभन्दा व्यस्त हिल स्टेसन भेडेटारमै पुगेर आयोजनामा सक्रिय केही संस्थाका व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गरेको छ । फेस्टिबल आयोजनामा सक्रिय व्याक्तिहरूको फेस्टिबलका बारेमा धेरै आशा, उत्साह र सक्रियता देखिएको छ । यस्तो छ सरोकारवालाहरूको भनाइको सारांशः

bhedetar food festival pradeshportal
स्थानीय, जातीय परिकार अब होटलको मेन्युमै राखिनेछ

जितेन्द्र रुम्दाली,अध्यक्ष, होटल एसोसिएसन अफ भेडेटार

हामीले भेडेटारलाई अलिकति नयाँ ढङ्गबाट प्रचार गर्न र यहाँ आउने पर्यटकहरूलाई नयाँपन दिनलाई हेलिकोप्टर राइडको सेवा दिन लागेका हौ । सिम्रिक एयरसँगको सहकार्यमा भेडेटार आसपासका अन्य पर्यटकीय क्षेत्रहरूको हवाइ अवलोकन गर्न यस्तो गर्न लागेका हौँ । यो भेडेटारबाट ७ हजार तिरेर गरिने प्याराग्लाइडिङभन्दा सस्तो छ । ४ हजार ९ सय रुपैयाँमै हामीले यो प्याकेज दिन लागेका छौँ । यस अगाडि हामीले माउन्टेन बाइकिङ, प्याराग्लाइडिङ लगायतका साहसिक पर्यटनका प्याकेजहरू दिँदै आएका थियौँ ।

महोत्सवमा स्थानीय जातजातिका खानहरू खासगरी मगर, लिम्बू, राई र नेवारी परिकारहरू पस्कनेछौँ । महोत्सवबाहेकको समयमा भेडेटारमा आउँदा पनि यी खाद्यान्न दिन लागि परेका छौँ । यसको अभ्यासको लागि निवर्तमान अध्यक्ष लीलाराज लावतीले आफू लिम्बू भएर पनि वाचिपा भनिने राई जातिले खाने लोकल कुखुराको परिकार बेच्दै हुनुहुन्छ ।

स्थानीय परिकारलाई यहाँको मेन्युमा राख्न मिहिनेत गर्न लागि परेका छौँ । यहाँका सबै व्यवसायीहरू सकारात्मक हुनुहुन्छ । भारतीय पर्यटकहरूको आगमन पनि बढेको छ नयाँ वर्षमा । पहिलो संस्करणमा खोज्दै हिँड्नुपर्ने भारतीय पर्यटकहरूले अहिले अङ्ग्रेजी नयाँ वर्ष मनाउने गन्तव्य भेडेटारलाई बनाउनुभएको छ । ३ हजार भारुमै सीमावर्ती भारतीय शहरबाट आउन सक्ने भएकाले यो उहाँहरूलाई पनि राम्रो अवसर हुनेछ ।

फुड फेस्टिबलले भेडेटारको पर्यटन प्रवर्दन गर्नेछ 

लीलाराज लावती (निवर्तमान अध्यक्ष होटल एसोसिएसन अफ भेडेटार)

हामी भेडेटार फुड फेस्टिबलको साताँै शृङ्खलामा आएका छौँ । फेस्टिबल होटल व्यवसायीको मात्रै नभएर सबैको बनाउनका हामी सक्रिय छौँ । निवर्तमान अध्यक्ष भए पनि म अहिले सानो समितिमा बसेर औपचारिक काम गरिरहेको छु । औपचारिक रूपमा यो सानो जिम्मेवारीमा भए पनि यो ठूलो भूमिका हो ।
भेडेटारका व्यवसायीहरू मिलेर भेडेटारको पर्यटनमा लागि परेका छौँ । भेडेटारलाई कसरी पर्यटन क्षेत्रमा लान सकिन्छ भनेर लागि परेका छौँ । आगामी दिनका अनेकौँ संस्करणमा पनि म जोडिइरहनेछु ।

यो भेडेटारको मात्रै होइन साँगुरीगढीकै साझा फेस्टिबल हो

नरबहादुर चेम्जोङ (सचिव, मिस्ट)

भेडेटारको सातौँ संस्करणको लागि म सचिव भएको नेचुरल इन्भारो सोसियो टुरिजम पनि सहआयोजक रहेको छ । होटल एसोसिएसनले गरेको को फेस्टिबलमा यहाँका स्थानीय सरकार, क्लबहरू सहभागी छन् । सबै किसिमको खानपान महोत्सवमा पाइनेछ । यो समग्र साँगुरीगढी गाउँपालिकाकै महोत्वसव हो । भेडेटार इलामपछिको पूर्वको मुख्य पर्यटकीय क्षेत्र हो । यहाँको संस्कृति, खानपान, रहनसहन देखाउन यो महोत्सव गर्न लागिएको हो । यहाँका सांस्कृतिक महत्वका पुरातत्विक महत्वका कुराहरू जानकारी गराउनको लागि प्रचारप्रसार गर्ने माध्यमको रूपमा महोत्सवलाई लिएका छौँ । भौतिक संरचनाहरू बनेका छन् । सरकारको र मिडियाको आँखा परेको छ । दातृ निकाय पनि गुरुयोजना बनाउन लागि परेका छन् ।

फेस्टिबलको लागि रङरोगन र सरसफाइमा आमा समूह व्यस्त छ

राधिका लिम्बू, सचिव, भेडेटार आमा समूह

मुख्य आयोजक होटल एसोसिएसन भए पनि यो सबैको आयोजनामा हुने फेस्टिबल हो । हामी आमा समूहका धेरै सदस्य पनि यो व्यवसायमा भएकाले यहाँ हामीले सक्ने काममा हामी सक्रिय छौँ । बजारको रङरोगन, सरसफाइ सम्म धेरै कामहरू गरिरहेका छौँ ।

धरान, इटहरी र विराटनगरले पनि गर्न नसकेको हेलिकोप्टर उडान भेडेटारले गर्दैछ

विष्णु श्रेष्ठ (संस्थापक अध्यक्ष, होटल एसोसिएसन अफ भेडेटार)

२०६८ सालमा गठन भएको होटल एसोसिएसनको म संस्थापक अध्यक्ष हुँदा कल्पेर पनि गर्न नसकेको कुरा यस पटक हुँदैछ । हेलिकोप्टर उडानको कुरा अहिलेको समितिले गरेको छ । यसको लागि अहिलेको समितिलाई धेरै धन्यवाद भन्नुपर्छ । धरान, इटहरी र विराटनगरले पनि गर्न नसकेको कुरा भेडेटारले गरेको भन्दै धेरै प्रशंसा पनि पाएको छ । मलाइ धेरैले फोन गर्नुभएको छ ।
एशियाली विकास बैंकले पनि पूर्वको पर्यटनको क्षेत्रमा लागानी गर्न भेडेटारलाई लक्षित गरिरहेको छ । यस्ता कार्यक्रमहरू आएपछि लगानी र पर्यटकहरू ल्याउन धेरै सजिलो हुन्छ । यसले प्रदेश १ को पर्यटकीय चहपहल बढाउन मद्दत गर्नेछ ।