भोजपुरः भोजपुर जिल्लासहित उच्च पहाडी भेगमा परेकाे हिमपातले जानजीवन कष्टकर बनेकाे छ ।  हिमपात भएपछि बढेको चिसोले जनजीवन कष्टकर बनेको छ ।  करिब ६ वर्षपछि परेको बाक्लो हिमपातले जिल्लाको उत्तरी तथा पश्चिमी क्षेत्रका ग्रामीण भेगमा चिसोले जनजीवन कष्टकर बनेको छ ।

हिमपातले गहुँ, आलुजस्ता हिउँदेबालीमा नराम्रो असर पुगेको छ । लामो समयपछि परेको हिमपातले खेतबारीको अन्नबालीमा क्षति पुगेको षडानन्द नगरपालिका–९ का वाङछे शेर्पाले बताए । प्रतिकूल मौसमका कारण चिसोले आफ्नो ब्रोइलर फार्ममा समेत नराम्रो असर पुगेको रिमचिमका किसान विसन राई बताउँछन् ।
राई भन्छन्, ‘ब्रोइलर कुखुरालाई न्यानो दिनै गाह्रो, त्यसमाथि झन् छानोमा परेको हिउँको चिसोबाट बचाउनै गाह्रो भएको छ ।’

हिमपातसँगै बढेको चिसोका कारण विद्यालयको पठनपाठनमा पनि नराम्रो असर पुगेको तिम्मा माध्यमिक विद्यालयका शिक्षक छिवाबुङबाली राईले बताए । उनले भने, ‘विद्यालयमै हिमपात भएपछि बालबालिकाको पढाइमा पनि नराम्रो प्रभाव परेको छ । हिमपातले चिसो बढेपछि पठनपाठन नै बन्द गर्न बाध्य भयौँ ।’ हिउँ परेपछि अहिले यहाँको तापक्रम पनि निकै घटेको छ ।

himpat - bhojpur pradeshportal.com

चिसोले ग्रामीण भेगका वृद्धवृद्धा, र केटाकेटीको स्वास्थ्यमा असर पुगेको छ । चिसोले गर्दा हाडजोर्नी, टाउको, घाँटी दुख्ने गरेको भोजपुर नगरपालिका बोखिमकी वृद्धा चन्द्रकुमारी राईले सुनाइन् । भनिन्, ‘थोरै चिसोले त समस्या हुन्थ्यो । हिउँसँगैको चिसोले हाडजोर्नी कक्रेर हैरान बनाएको छ । चिसोले छाडेन ।’

शुक्रबार दिउँसो परेको हिमपातले जिल्लाको दोभाने, खाटाम्मा चौकीडाँडा, किमालुङ, तिम्मा, छिनामखु, गुप्तेश्वर, सिद्देश्वर हेलौँछा, बोखिम लगायतका उच्च भेगको जनजीवन कष्टकर बनेको छ । छिनामखुका रिमचिम, दाँवाबजार, काफ्ले, धापखक, सुन्तले लगायतका तल्लो भेगसम्म बाक्लो हिउँ जमेको थियो ।
गत वर्ष हिमपात नभएको भोजपुरमा यसपटकको बाक्लो हिमपातले टेम्केडाँडा, मैयुङ क्षेत्र, हाँसपोखरी, सातोबाटो, साल्पा, सिलिचुङजस्ता प्रमुख पर्यटकीय क्षेत्र सेताम्मे बनेका छन् ।