धरान/ क्षमताभन्दा दोब्बर थुनुवा भएर हिरासत कक्ष ज्यादै साँघुरो भएपछि इलाका प्रहरी कार्यालय धरान हाताभित्र नयाँ सुविधायुक्त हिरासत भवन निर्माण गरिने भएको छ ।
प्रहरी र जनताबीचको नमुना सहकार्यको रूपमा धरानमा अत्याधुनिक हिरासत भवन बनाउन लागिएको हो । हिरासत भवन निर्माण गर्न धरानका पूर्व उपमेयर मीनकुमार सुब्बाको संयोजकत्वमा १७ सदस्यीय इप्रका हिरासत भवन निर्माण समिति पनि गठन भइसकेको छ । समितिको सहसंयोजकमा पवन अग्रवाल, सचिवमा इप्रकाका प्रहरी नायब उपरीक्षक (डिएसपी), सहसचिवमा उपेन्द्र चाम्लिङ र कोषाध्यक्ष सुनिता केसी राई रहेका छन् । आवश्यकताअनुसार सदस्य थप गरिने पनि समितिले जनाएको छ । इलाका प्रहरी कार्यालय २०५८ सालमा निर्माण भएको थियो । प्रहरी कार्यालयभित्रै २ वटा कोठा थुनुवा कक्षको रूपमा प्रयोग भइरहेको छ । यसको क्षमता ४० जनाको भए पनि हाल ९३ जना विभिन्न मुद्दाका थुनुवा रहेको प्रहरीको भनाइ छ ।
समितिका अनुसार नयाँ हिरासत भवनको डिजाइन र लागत स्टिमेटसमेत तयार भइसकेको छ । यो हिरासत भवनलाई प्रदेश १ कै नमुना बनाउने डिएसपी रामेश्वर पौडेलले बताए । उनका अनुसार हिरासत सजाय दिने थलोको रूपमा नभई सुधार गर्ने थलोको रूपमा विकास गर्ने गरी भवन तयार हुनेछ । ‘यो हिरासत सुविधा सम्पन्न हुनेछ, हिरासतलाई सजाय दिने होइन, सुधार गर्ने थलोको रूपमा विकास गर्नुपर्छ,’ डिएसपी पौडेलले भने, ‘अहिलेको साह्रै साँघुरो भयो, त्यसैले नयाँ बनाउन पहल थालिएको हो ।’
नयाँ हिरासत भवन २ तलाको ठडिने छ । यसको क्षमता १ सय ६० जनाको हुनेछ । माथिल्लो तलामा भिआइपी २ वटा थुनुवा कोठा हुनेछ भने तल्लो तलामा पुरुष थुनुवाको लागि ३ र महिला थुनुवाको लागि एउटा अलग्गै कक्ष हुनेछ । प्रत्येक थुनुवा कोठा एट्याच ट्वाइलेट, बाथरुम हुनेछ । हिरासत भवन निर्माणमा कुल लागत स्टिमेट १ करोड ६० लाख रहेको छ । हालसम्म धरान उपमहानगरपालिकाको २० वटा वडा कार्यालयले ५० हजारको दरले बजेट विनियोजन गरेको समितिका सहसचिव उपेन्द्र चाम्लिङले जानकारी दिए । उनका अनुसार नगद सहयोग गर्नेको हिसाब गर्दा अहिलेसम्म ३० लाख बढी भइसकेको छ । ‘हिरासतको अवस्था हे¥यौं, र छलफल गर्दा यहाँ नयाँ हिरासत भवन बनाउन आवश्यक पनि देख्यौं,’ चाम्लिङले भने, ‘सबैको साथ सहयोग लिएर प्रदेशकै नमुना हिरासत भवन बनाउँछौं ।’
डिएसपी रामेश्वर पौडेलका अनुसार कसुरको प्रकृति, थुनुवाको शारीरिक र स्वास्थ्यको अवस्था हेरेर अलगअलग कक्षमा राख्न उपयुक्त हुने भए पनि पूर्वाधार अभावले सबैलाई एकै ठाउँमा राखिने गरिएको छ । यसले रोगी थुनुवाहरू भए अन्यलाई विभिन्न रोग सर्ने वा संक्रमण हुने जोखिम रहेको उनको भनाइ छ ।
कार्यालयभित्रको २ वटा हिरासत कक्षमा अहिले ९३ जना थुनुवा कोचाकोच अवस्थामा बस्छन् । महिला हिरासत कक्ष अलग्गै छ । त्यसको पनि क्षमता धेरै छैन । हिरासतमा ज्यान मुद्दा, बलात्कारजस्ता गम्भीर अभियोग लागेका थुनुवासँगै लागुऔषध प्रयोगकर्ता, कारोबारी र सामान्य घटनाका थुनुवा पनि हुन्छन् । उनीहरूको कसुरको प्रकृतिअनुसार सबैलाई एकै थलोमा राख्न उचित हुँदैन । तर, आवश्यक पूर्वाधार नहुँदा सबैलाई एकै ठाउँमा राख्नुपर्ने बाध्यता छ ।
‘लागुऔषध प्रयोगकर्तामा हेपाटाइटिस सि हुन्छ, त्यसै अन्य रोग पनि श्वासप्रश्वासबाट सर्न सक्छ,’ डिएसपी पौडेलले भने, ‘अबको नयाँ हिरासत भवनमा कसुरको प्रकृति अनुसार र थुनुवाको स्वास्थ्य अवस्था हेरेर वर्गीकरण गरी अलगअलग राख्ने व्यवस्था हुन्छ ।’