लेखक: राजेन्द्र भट्ट

धादिङको खनियाबास गाउँपालिकास्थित झार्लाङका उत्तरी भेकका बासिन्दाहरु यतिबेला बारी खन्न, सम्माउन र आलु रोप्न व्यस्त छन् । नारिएका गोरुहरू, खाजा पस्किरहेका थुन्सेहरू यत्रतत्र देख्न सकिन्छ । कालो र मलिलो माटो भएकाले यहाँ उत्पादित आलु स्वादिष्ट हुने गरेको छ ।

खनियावास गाउॅपालिका वडा नं १ मा रहेको नेपालकै दोस्रो पुरानो गुम्बा (पहिलो मुस्ताङको लो केघर गुम्बा) गिलिङ्चो गुम्बा वरपर केराउ लहलह भएर फलिरहेका छन् । यो दृश्यले हरकोहीलाई एकपटक वशीभूत पार्दछ ।

६ सय वर्ष पुरानो गिलिङचो गुम्बाको बारेमा विस्तृत अध्ययन गरी गुरूयोजना तयार भइसकेको गाउँपालिकाको प्रशासकीय अधिकृत बालकृष्ण नेपालीले बताए । गिलिङचोलाई स्थानीय तामाङ मान्यता अनुसार ‘खे ङ्हा’ पॉच पूर्खा मध्ये चौथोको उत्पत्ति स्थलको रूपमा समेत लिइन्छ । धादिङ जिल्लाका पूराना गुम्बाहरूमध्ये गिलिङचो पनि एक हो  ।

गिलिङचो गुम्बा

गुम्बादेखि मास्तिर रहेको सिचेत पोखरीतर्फ लाग्दै गर्दा बाटो वरपर आलु लगाइरहेका स्थानीयवासीहरू भरपुर भेटिन्छन् । झार्लाङलगायतका उत्तरी भेकका बासिन्दाहरुको मुख्यबाली मकै, कोदो र आलु हो । किन्ताङफेदी, टारीबेसीका किसानहरू खेतमा धान रोपिरहेको समयमा उनीहरू कोदो रोपीरहेका हुन्छन् ।

फागुनको लागेसँगै सुरु गरिने आलु खेती चैत महिनासम्म पनि लगाइने गरेको झार्लाङ वडा नम्बर २ वडाअध्यक्ष अरुण कुमार पाख्रिन बताउँछन् । “अहिले रोपिएको आलु असोज महिनामा खन्ने गरिन्छ ।”, उनले भने । उनका अनुसार अहिले नयाँ र नमुनाको रुपमा आलु पकेट क्षेत्रका लागि प्रख्याती कमाउन थालेसँगै किसानहरू पुरानै आलुको बिउमा फर्किएका छन् ।

किसानलाई निर्वाह मुखी नभई व्यवसायिक बन्न गाउँपालिकाको आग्रह छ । “अहिलेको समय भनेको प्रविधिको उच्चतम प्रयोग गरेर बढी उत्पादन लिने हो । एक दुई बोरा आलु विक्री भएन भनेर बस्ने होईन । अब ट्रकका ट्रक उत्पादन गरेर बाहिरबाट आलु खरिदका लागि आउने वातावरण गराउने हो,” गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ बताउँछन् ।

झार्लाङ

तामाङका अनुसार, अनुदानमा आलुको बीउँ दिने मात्र नभई किसानलाई उत्प्रेरणा जगाउने कार्यक्रमहरू सुरु गरिएका छन् । किसानले बिक्री गर्न नसकेको आलु गाउँपालिकाले खरिद गरेर समेत बिक्री गरिदिने भनेपछि किसानहरू थप हौसिएका छन् । घरमा खान पनि हुने र बिक्री गरेर आम्दानी पनि हुने भएपछि महिला बढी आकर्षित भएका छन् ।

झार्लाङमा धान रोप्ने सिलसिला छिटपुट रुपमा भर्खर-भर्खरै मात्रै सुरु भएको स्याङ्ला माविका प्रधानाध्यापक विमल तामाङ बताउँछन् । प्रधानाध्यापक तामाङ हुर्कदो भाते बानी  (संस्कृति)तर्फ इशारा गर्दै भन्छन्, “आजभोली घैया लगाउन थालिएको छ । रक्सिको लागि कोदो बेच्ने र त्यसबाट आएको पैसालाले बेसीदेखि चामल भित्राउने प्रचलन बढीरहेको छ ।”

उनका अनुसार झार्लाङमा कम्तिमा १०/२० मुरी मकै, त्यत्तिकै कोदो र ५ मुरी गहुँ नहुने घरै छैनन् । उसो त मकै, कोदो, गहु, केराउ, भटमास लगायतका खेतिका लागि झार्लाङ प्रसिद्ध छ । झार्लाङलाई धादिङको अन्न भण्डार भन्ने गरिन्छ ।

८१ वर्ष पुगिसकेका सेर्पे पाख्रिन पहिरो वारि (झर्लाङ-१) डोको थुन्से बनाइरहेका भेटिन्छन् । उनका अनुसार उतिबेला पनि झार्लाङको आलु प्रसिद्ध थियो । “मैदी, सल्यानटारतिर आलु बोकेर हामी धान, तोरी साट्न जान्थ्यौँ । एक पाथी आलुसँग त्यतिबेला दुई पाथी चावल (धान) ल्याउथ्यौं”, उनी अगाडि भन्छन्, “१०/१२ पाथी आलु बोकेर निस्किएका हामी किन्ताङफेदी, लेपाङमा एक रात बिसाएर कोही आँखु खोला तरेर टारीबेशीतर्फ लाग्थ्यौँ भने कोही कटुन्जे/टोड्केतर्फ लाग्थ्यौं ।”

आफू स-सानै हुँदा प्रथमपटक सल्यानटार पुगेको सम्झँदै उनी भन्छन्, “टम्म मिलेका पाटाभर तोरी लहलह हुन्थे । धान पनि लगाउने गर्दथे । ६/७ थरिकै धानहरू हुने गर्दथे । नाम त मैले अहिले बिर्सियो ।” उनले झार्लाङको प्राङ्गारिक खेतीको महिमा पनि बखुबी सुनाए । उनको माइलो छोरा क्राइल पाख्रिन यी दिनहरूमा ‘क्राईल खाजा घर’ चलाउँदै आइरहेका छन्, जहाँ स्वउत्पादित अन्न एवं सागसब्जीहरू खाना-खाजा पाइन्छ ।

आलु रोप्दै झार्लाङका किसानहरू

आलुको मूल्य झार्लाङमा केजीको हिसाबमा हैन पाथी र मुरीमा हुने गर्छ । खन्ने बेला पाथीको ८० देखि सय रुपैयाँसम्म पर्छ । अरू बेला भने १५० रुपियाँसम्म पर्न जान्छ । एक पाथीमा सरदर ३ किलो हुने गर्छ । सदरमुकामतिर यही आलु केजीको ७० रुपैयाँसम्म बिकिरहेको छ । आलु रोपिरहेका किसान कान्छा तामाङ यसपटक दुई मुरी आलु लगाएको बताउँछन् । यति बिउ आलुको कति उत्पादन हुन्छ त भनेर सोध्दा यसले हामीलाई पाल्छ भन्छन् उनी । “पाथीको १५० रुपियाँमा आलु बेशीतिर जान्छ । गाउँपालिकाले आलु बेसीसम्म लगिदिने गर्दछ । अहिले अलि सजिलो भएको छ”, उनी भन्छन् ।

आलु बेचेरै झार्लाङ्ग उङ्गलुका किसानहरु वार्षिक ४० देखि ८० हजार कमाइ गरिरहेका छन् । कोदो र मकैलाई झार्लाङका तामाङवस्तीमा उच्चकोटीको घरेलु मदिरा बनाउन प्रयोग गरिन्छ । कोदो र मकैको ढिँडो झार्लाङको स्थानीय परिकार हो । खाद्य सुरक्षाको दृष्टिकोणले यो महत्वपूर्ण खान्की हो । केटाकेटी बुढाबुढी र सबैका लागि कोदोको रोटि र ढिडो सजिल्लै पच्ने भएकोले यो स्वस्थ्यवर्धक पनि छ।

लेकाली चिसो जग्गामा रोपेको कोदो तथा हिउँदे र वर्षे आलु छिमेकी गाविस (रि, सेर्तुङ) हरुमा मात्रै हैन सदरमुकामलगायत छिमेकी जिल्ला गोरखा, नुवाकोट, रसुवा र पोखरासम्म पुग्ने गरेको छ । छिमेकी जिल्लामा विहावारी भएका महिलाहरु माइतीको पोउर (कोसेली)को रुपमा आलु लिएर जान मन पराउँछन् । दार्खाफेदीसम्म ग्रामीण सडक सञ्चालन भइ साना जीप र ट्रक व्यापारिक सामान लिएर पुग्छन् । फर्किँदा यी सवारी साधनले प्राय: आलु, कोदो लिएर फर्किने गर्दछन् ।

झार्लाङका लगभग एक हजार घरमध्ये वडा नं १ का १२ घर र ४ का १७ घर दलित बाहेक पुरै गाविसमा तामाङ समुदायको मात्रै बसोबास छ । यहाँका दलितले तामाङ भाषा नै बोल्छन् । नेपाली भाषा बुझ्दै नबुझ्ने पनि छन् ।

गणेश हिमाल

झार्लाङका किसानहरु कृषिमा मात्रै निर्भर छन् । लगभग ७० वर्षदेखि झरीरहेको पहिरोले लेकाली जंगल मासेपछि यस भेगमा पशुपालनमा भने निकै कठिनाई देखिएको छ । भेडीगोठ परम्परा लोपोन्मुख हुँदै गएको देखेर सो परम्परा बचाउन गाउँपालिकाले ध्यान दिनु जरूरी देखिन्छ ।

पहिरोले पानीको मुहान सुकाउँदै गएपछि झार्लाङमा पानी हाहाकार देखिएको थियो, यसका लागि गाउँपालिकाले ह्वाङ्गो खोला खानेपानी आयोजना (२०७६) सुरु गरेको छ । यस आयोजनालाई अझ व्यवस्थित गर्नतर्फ गाउँपालिका उन्मुख हुनु आवश्यक देखिन्छ ।

लोपोन्मुख भेडीगोठ परम्परा