धरान/ आइतबार बिहानै धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी, वडा नम्बर १८ का अध्यक्ष प्रवीण राई, वडा नम्बर १२ का सदस्य ब्रह्मज्ञ भट्टराई भानुचोकमा भेला भए । उनीहरू त्यसरी भेला हुनुको कारण भने अनौठो थियो ।
उनीहरूसँगै धरानवासी भेला भए । सबैले स्वयम्सेवी ज्याकेट लगाए, अनि भानुचोकदेखि रत्न रोडसम्म कोशी राजमार्गको दुवै किनारमा राखिएका गमलाको फूल गोड्न थाले । स्थानीय पसले, पैदलयात्री रमिते बनिरहँदा जनप्रतिनिधिसँगै धरानका विभिन्न लायन्स क्लबका सदस्य (लायन)हरू सडकको फोहोर संकलन र गमलाको फूल गोड्न व्यस्त थिए । करिब एक घण्टासम्म यो दृश्य आइतबार धरानको मुख्य बजार क्षेत्रमा चलिरह्यो ।
धरानलाई फूलको शहर बनाउने भन्दै उपमहानगरपालिकाले पर्यटनको बजेट खर्चिएर नयाँ रेलिङ र स्ट्याण्डमा गमला राखेर पूmल रोपेको थियो । उचित रेखदेख र गोडमेल नहँुदा कतिपय गमला एक महिनाभित्रै चोरी भएका थिए भने पूmललाई झारले छोपिसकेको थियो । सामाजिक सञ्जालहरूमा फूल रोप्ने योजनाको तीव्र आलोचना हुन थालेपछि आइतबार जनप्रतिनिधिहरू आफैँ गोडमेल गर्न आएका थिए । धरानका लायन्स क्लबहरूले संयुक्त रूपमा सडक सफाइ र फूल गोडमेल कार्यक्रम राखेर उनीहरूलाई निम्ता दिएको थियो । अतिथिको रूपमा निम्त्याइएका जनप्रतिनिधिले गोडमेल गरेका थिए ।
उपप्रमुख भण्डारीले गमलामा उम्रिएको झार मात्र उखेलिनन्, फूलसहित गमला राखिएको प्रत्येक पसलमा व्यवसायीलाई भेटेर फूलको संरक्षणमा चासो दिन आग्रह पनि गरिन् । सबै काम नगरपालिकाले गरिदिनुपर्ने मानसिकता त्यागेर जिम्मेवार नागरिकको कर्तव्य पनि पूरा गर्न उनले प्रत्येक पसलमा पुगेर आह्वान गरिन् । ‘तपाईहरूको साथ, सहयोग बिना हाम्रो योजना सफल हुँदैन । धरानलाई फूलको सुन्दर सहर बनाउने भनेर गमलामा फूल राख्यौं, तपाईहरूले संरक्षणमा चासो दिनुप¥यो । पानी हाल्ने, गोडमेल गर्ने र झार उम्रिँदा उखेलिदिँदा मात्र पनि हुन्छ’, उपप्रमुख भण्डारीले आग्रद गर्दै भनिन्, ‘सबै काम नगरपालिकाले गर्छ भनेर ठान्नुहुन्छ । जिम्मेवार नागरिकको दायित्व पनि निर्वाह गरिदिनुहोस् ।’
वडा नं १८ का अध्यक्ष प्रवीण राईले पनि सबै मिलेर हातेमालो गर्ने हो भने धरान सधै सफा हुने प्रतिक्रिया दिए । उनले राम्रो काम भएकाले सरसफाइ गर्न र फूल गोड्न आएको बताए । फूल रोपिएको ठाउँ वडा नम्बर १२ मा पर्छ । ‘यो त जनचेतनामूलक कार्यक्रम पनि हो, सबैलाई यसले पाठ सिकाएको छ, सबैले मिलेर यसरी काम गर्ने हो भने धरान सफा हुन्छ,’ उनले भने ।
फूल रोपेको गमलामा झार उम्रिएर भरिएपछि बजेटको सदुपयोग नभएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको थियो । धरानको कार्यवाहक प्रमुखसमेत रहेकी उपप्रमुख भण्डारीले नागरिकले पनि आफ्नो कर्तव्य सम्झिदिए हुने अभिव्यक्ति केही दिन अघि दिएपछि प्रभावित भएर धरानका लायन्स क्लबहरू सरसफाइ र गोडमेल गर्न अग्रसर भएका थिए ।
लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए १ जोन २९ की अध्यक्ष लायन रेखा गुरुङका अनुसार दन्तकाली धरान लायन्स क्लब, धरान विजयपुर लयान्स क्लब, धरान बुढासुब्बा लायन्स क्लब, धरान इष्ट लायन्स क्लब, लायन्स क्लब भेडेटार, लियो क्लब आफ धरान विजयपुरलगायत संस्थाले संयुक्त रूपमा कार्यक्रम आयोजना गरेका थिए ।
‘उहाँको भनाइ हामीलाई चित्त बुझ्यो, नगरपालिकाले गरेन मात्र भन्यौं । तर नागरिकको हैसियतमा हामीले गर्ने कर्तव्य पनि त छ । त्यसैले आज हामी लायनहरू सफाइ, गोडमेल गर्न आयौं,’ गुरुङले भनिन् ।
फोहोर राति नै उठाइने
उपप्रमुख भण्डारीले धरानको मुख्य बजार क्षेत्रको फोहोर राति नै संकलन गरेर डम्पिङ साइटमा व्यवस्थापन गरिने बताएकी छिन् । साउन १ गतेदेखि मुख्य बजार क्षेत्रका पसल तथा घरले अनिवार्य डस्बिन राख्नुपर्ने र उपमहानगरले साँझ ७ बजे फोहोर उठाउने गाडी पठाउने उनले खुलाइन् । ‘अब आजको फोहोर आजै राति उठाउन गाडी पठाउँछौं, त्यसो गर्दा बिहान सडकमा फोहोर हुँदैन, र सफा, स्वच्छ हुन्छ,’ उपप्रमुख भण्डारीले भनिन् ।
हालसम्म धरानको मुख्य बजार क्षेत्रका पसले, घरधनीहरूले राति फोहोर सडकमा थुपारिदिन्छन् । उपमहानगरपालिकाको गाडीले बिहान उज्यालो भएपछि फोहोर उठाएर लैजाने गरेको छ । अन्य आवासीय क्षेत्रमा भने सातामा एक दिन मात्र फोहोर उठाउन गाडी जाने गरेको छ । पसल अघि सबैले आफै डस्बिन राख्नुपर्ने र कसैले बाटोमा फोहोर राखेमा जरिवाना भराउने उपप्रमुख भण्डारीले जानकारी दिइन् ।