काठमाडौँः  जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)को नक्कली कार्यालय स्थापना गरी ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले कार्यालयमा उपसचिव तथा कार्यालय प्रमुख रहेका जयराम केसी भनेर चिनिने घनश्याम कटुवाल र अधिकृत लीला भोलनलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो।

महाराजगन्ज वृत्तका प्रहरी नायब निरीक्षक राजन ढुङ्गाना नेतृत्वको टोलीले जयरामलाई भक्तपुरको कौशलटारबाट र लीला भोलनलाई नारायणस्थानबाट पक्राउ गरेको हो। ठगीमा संलग्न मकवानपुरका भीम भोलन, मिलन तामाङ, पेम्बा तामाङलगायत फरार रहेको प्रहरीले जनाएको छ। 

परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ का कटुवाल र हेटौँडाका भोलनले नक्कली सरकारी कार्यालयसमेत खडा गरी ठगी धन्दा चलाएका थिए। 

महाराजगन्ज प्रहरी वृत्तको टोलीले उनीहरूलाई सरकारी नक्कली कागजपत्र, सरकारी छापसहित नियन्त्रणमा लिएको परिसरले जनाएको छ। कार्यालयमा फर्निचरलगायतका वस्तु आयात गर्ने सूचना प्रकाशित गरी दुवै जनाले विभिन्न व्यक्ति र कम्पनी गरी १५ लाख रुपियाँभन्दा बढी रकम ठगेको परिसरले जनाएको छ। टेन्डर आह्वान गरी विभिन्न कम्पनी र व्यापारीसँग उधारोमा सामान लिने र नतिर्ने गरेको अनुसन्धानबाट खुलेको जनाएको छ। 

पक्राउ परेका आरोपितले नारायणस्थानमा कार्यालय खोलेर ठगीधन्दा चलाएको परिसरले जनाएको छ। गत जेठ १ गते नक्कली कार्यालय खडा गरेको पाइएको प्रहरीले जनाएको छ।