विराटनगरः विराटनगर विमानस्थलबाट प्रादेशिक, अन्तरप्रादेशिक र अन्तरदेशीय उडान सम्भावनाको सम्भाव्यता खोजिने भएको छ । आन्तरिक उडानमा देशकै दोस्रो ठूलो विमानस्थल विराटनगर विमानस्थलबाट उडान भर्न थालिएको ५० वर्ष पुगेसँगै आवश्यक पूर्वाधार तथा संरचना निर्माण र उडान सम्भाव्यतामा प्रदेश सरकारको चासो बढेको हो ।

क्षेत्रीय विमानस्थलको पहिचान र विमानस्थल प्रमाणपत्र प्राप्त विराटनगरलाई अन्तर्राष्ट्रिय विमानस्थलको मापदण्डमा स्तरोन्नति गर्नका लागि प्रदेश १ सरकारले सङ्घीय सरकारसँग प्रस्ताव लैजान लागेको छ । प्रदेश मन्त्रिपरिषद्ले यस अगाडि नै ३ हजार मिटर लम्बाइको धावनमार्ग बिस्तार गरिनुपर्ने निर्णय गरेर त्यसका लागि आवश्यक अध्ययन थालेको थियो । २ हजार ४ सय मिटरको धावनमार्ग बिस्तारको पूर्व सम्भाव्यता अध्ययन पूरा भइसके पनि ३ हजार मिटरमा बिस्तार योजना अगाडि बढाउने तयारीमा प्रदेश सरकार लागेको हो ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले सङ्घीय मन्त्रिपरिषद्मा प्रस्ताव लैजान प्रधानमन्त्रीसँग छलफल गर्ने बताए । उनले सङ्घीय सरकारको मातहतमा रहेको विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डमा निर्माण गर्न प्रधानमन्त्री समक्ष आफैंले प्रस्ताव लिएर जाने दाबी समेत गरे । विराटनगर विमानस्थललाई बिस्तारका लागि आवश्यक पर्ने जमिन, देखिएका चुनौती र बिस्तारपछि हुन सक्ने अवसर र सम्भाव्यता समेटिएको प्रस्ताव प्रधानमन्त्रीसमक्ष प्रदेश सरकारकै निर्णय अनुसार लैजान लागिएको मुख्यमन्त्री राईले बताए ।

‘प्रदेशभित्रका १३ वटा विमानस्थलसँग राजधानी जोड्ने, अन्तरप्रादेशिक उडानमार्फत् प्रदेश १ लाई जोड्ने र अन्तरदेशीय उडानमार्फत् प्रदेश १ लाई जोड्ने अवधारणासहितको प्रस्ताव प्रधानमन्त्री समक्ष लिएर जाँदैछु’ मुख्यमन्त्री राईले नागरिक उड्डयन प्राधिकरणको २० औं वार्षिक उत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रममा सोमबार भने, ‘यसको औपचारिक निर्णय प्रदेश सरकारले गरिसकेको छ ।’

आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले विराटनगर विमानस्थललाई प्रदेश १ को विकासको आधारको रूपमा हेरिनुपर्नेमा जोड दिए । उनले प्रदेश १ को विराटनगरबाट प्रदेश १ को सगरमाथासम्म उडान भर्ने अवसर सङ्घीयताको अभ्यास गरिरहेको देशका नागरिकलाई हुनुपर्नेमा जोड दिए ।

सरकारका प्रवक्ता समेत रहेका कार्कीले भने, ‘५ वर्षभित्रै सक्ने लक्ष्यमा हामीले पुग्नु छ, त्यसअघि यहाँ भएका संरचना प्रयोग गरेर हुन सक्ने उडान शुरु गरिहाल्ने गरी छलफल थालेका छौं ।’

विराटनगरबाट दैनिक १४ आगमन तथा १४ प्रस्थान गरी २८ उडान हुने गरेका छन् । हवाई सेवा सञ्चालन अनुमति पाएका आन्तरिक वायुसेवा कम्पनीे नेपाल एयरलाइन्स कर्पोरेसनको १, बुद्ध एयर ५, यति एयर ४, श्रीएयर ४ वटा विमान विराटनगर–काठमाण्डौं उडान भर्ने गरेका छन् । बुद्ध एयरले हप्तामा ३ उडान काठमाण्डौं–तुम्लिङटार–विराटनगर सेक्टरमा भर्दै आएको छ भने निजी क्षेत्रको पहलमा विराटनगरबाटै पर्वतीय उडानको सुरुवात गरिएको छ ।

एकवर्ष अघिसम्म नेपाल एयरलाइन्सको ट्वीनअटर विमानले विराटनगर विमानस्थलबाट प्रदेश १ भित्रका पहाडी जिल्लाहरु भोजपुर, खानीडाँडा, थामखर्कमा उडान भरेको थियो । विराटनगरबाट यी विमानस्थलमा उडान बन्द हुँदा विशेषगरी विरामी र आपतकालीन अवस्थामा असजिलो हुँदै आएको छ ।

नागरिक उड्डयन प्राधिकरण विराटनगर कार्यालयका प्रमुख टेकनाथ सिटौलाका अनुसार पछिल्लो ११ महिनामा ८ हजार ८ सय ९२ वायुयान उडान र अवतरणबाट ४ लाख ८८ हजार ६९ जना यात्रुले सेवा लिएका छन् । यो अवधिमा ५ लाख ४९ हजार ७५ केजी कार्गो आउने–जाने भएको छ । गत वर्षको तुलनामा चालु वर्षको यो अवधिसम्ममा वायुयानका उडान÷अवतरणतर्फ २ दशमलव २६ प्रतिशतले कमी आएको छ । तर, यात्रुतर्फ १४ र कार्गोतर्फ ८ प्रतिशतले वृद्धि भएको प्रमुख सिटौलाको भनाइ छ ।

विगत ५ वर्षको अवधिको तथ्याङ्क हेर्दा वायुयानमा १९ दशमलव ६४ तथा यात्रु आवागमनमा ४१ प्रतिशत बृद्धि भएको देखिन्छ । तर, ५वर्षमा कार्गो सेवा भने ९ प्रतिशतले कमी आएको छ ।

१ सय १५ बिघा क्षेत्रफलमा फैलिएको विमानस्थलमा १ हजार ५ सय मिटर लम्बाइको धावनमार्ग, ५ वटा ७२ सिट क्षमता भएका जहाज राख्ने मिल्ने वायुयान एप्रोन, धावन मार्ग र एप्रोनलाई जोड्ने दुई वटा ट्याक्सी–वे, वायुयान पथ उपकरण, रात्री उडान अवतरणका लागि आवश्यक एयरफिल्ड र लाइटिङ प्रणालीको सुविधा रहेको बताइन्छ ।