संखुवासभाः संखुवासभा जिल्ला कारागार खाँदबारीमा सुरक्षा घेराभित्र दुईजना कैदीको मृत्यु भएको घटनामा वास्तविकता लुकाउने हिसाबले तथ्यलाई बङ्ग्याउन चलखेल सुरू स्थानीयको आरोप छ  ।  कारगारमा रहेका मादी नगरपालिका ५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका ७ का २८ वर्षीय आकाश वलामीको बुधबार बिहान उचारका क्रमाम मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी विरेन्द्र गोदारले बताए । 

प्रहरीको कुटाइबाट कैदीको मृत्यु भएको आरोप प्रहरीलाई लागेको छ । केही तथ्यले समेत प्रहरीको प्रत्यक्ष संलग्नतामा घटना भएको देखाउँछ । कारागारका अन्य कैदीबन्दी र स्थानीय प्रत्यक्षदर्शीले पनि प्रहरीले कुटेर कैदीलाई मारेको बताइरहेका छन् ।  तर,स्थानीय प्रशासन र प्रहरीको मिलेमतोमा घटनालाई तोडमोड गर्दै कारागारभित्र कैदीबन्दीबीच झडप हुँदा दुईजनाको मृत्यु भएको भनेर सार्वजनिक गरिएको छ ।  

कारागारको अवस्था हेर्दा कैदीबन्दीबीच झडप र हानाहान भएजस्तो देखिँदैन । प्रहरीविरुद्ध कारागारभित्रका अन्य कैदी बन्दीले नाराबाजी र प्रदर्शनसमेत गरेका छन् । सुरक्षा घेराभित्र कारागारमा बसेका आफूहरू प्रहरीबाटै असुरक्षित बन्नु परेको गुनासो उनीहरूको छ । कैदीको मृत्यु भएपछि उत्पन्न असहज परिस्थितिलाई साम्य पार्न कारागार आसपासमा ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । 

दोषी प्रहरीमाथि कारबाही हुनुपर्ने माग राखेर कैदी बन्दीले आधा घण्टाजति नाराबाजी र प्रदर्शनसमेत गरेका छन् । त्यसक्रममा सुरक्षाकर्मीलाई लक्षित गर्दै कारागार भित्रबाट ढुंगा तथा विभिन्न सामानले प्रहार गरियो थियो। सुरक्षामा खटिएका प्रहरीमाथि नै कैदी मारेको आरोप लागेपछि र कारागारभित्र बन्दीबीच झडप भएको पुष्टि हुन नसकेपछि शंकास्पद घटनाले अर्को रूप लिएको छ ।

कारागारको शौचालयको रड काटेर भाग्न खोजेको भन्दै सादा पोशाकमा चार÷पाँचजनाको संख्यामा रहेका प्रहरीले दुईजनालाई कारागारको कम्पाउण्डभित्रै बुधबार राती निर्घात कुटपिट गरेका हुन् । उनले प्रदर्शनको नेतृत्व गर्नेहरूलाई कारागारबाट निकालेर लगिएको र कुटाइबाट आफूहरूसँगै रहेकाको मृत्यु भएपछि अन्य कैदीबन्दी पनि त्रसित बनेको जानकारी दिए ।

कारागारका निमित्त जेलर राजेन्द्र घिमिरेले भने कैदीको मृत्यु भएपछि कारागारको अन्तरिक सुरक्षालाई मध्यनजर गर्दै नाइकेसहितका बन्दीलाई जिल्ला प्रहरीमा लगिएको बताए । ‘जेल तोडेर भाग्ने प्रयास गरेपछि नियन्त्रणमा लिएर प्रहरीले कैदीलाई कुटेको कुरा आएको छ,’उनले भने,‘तर, हेर्दाखेरी बन्दीबीच कारागारभित्र झडप भएर घटना भएजस्तो देखिन्छ ।’ 

कैदीबन्दीको हत्या भएको भनेर कारागारभित्र आन्दोलन र भित्रबाट सुरक्षाकर्मीमाथि आक्रमण हुन थालेपछि नौजनालाई बाहिर निकालेर प्रहरी कार्यालयमा लगिएको घिमिरेले बताए ।  खाँदबारी बजारको बस्तीभन्दा कारागार तल पर्छ । माथिका घरहरूबाट कारागारको कम्पाउण्डभित्र भएका गतिविधि प्रष्टसँग देख्न सकिन्छ । स्थानीय सारदा बजगाईंले बुधबार राति १ ः ३० बजेतिर कारागारको कम्पाउण्डबाट ऐया–ऐया भनेर कराएको आवाज आएपछि हेर्दा सादा पोसाकका ४–५ जना प्रहरीले दुईजनालाई निर्घात कुटपिट गरिरहेको आफूले देखेको बताइन् ।

‘निर्वस्त्र बनाएर कम्पाउण्डभित्र कुटपिट भइरहेको थियो । त्यो दृष्य मैले निक्कै बेरसम्म हेरिरहें । कुटाइ खाने दुईजना पीडा सहन नसकेर चिच्याइरहेका थिए,’बजगाईंले भनिन्,‘खुट्टामा हान,खुट्टामा हान भनेर शरीरमा जहाँ पायो त्यहाँ कुटपिट गर्ने काम भइरहेको थियो । एक घण्टापछिदेखि होहल्ला अलि कम हुँदै गयो । अहिले बन्दबीच झडप भएर दुईजनाको मृत्यु भएको गलत हल्ला फैलाउन सुरु गरिएछ ।’ कारागारभित्रबाट नाराबाजी र प्रदर्शन गर्दै कैदीबन्दीले प्रहरीविरुद्ध ढुंगामुडासमेत गरेको आफूले देखेको उनले बताइन् ।  ‘चरम यातना दिँदै कुटेर कैदीलाई मारिएको भनेर कारागारभित्रबाट कैदीबन्दीले आन्दोलन र ढुंगामुडा गरेका हुन्,’बजगाईं भन्छिन्, ‘घटना प्रत्यक्ष देखेका हामीले डर र त्रासका कारण अहिलेसम्म खाना खान सकिरहेका छैनौं ।’

उनले आँखा वरिपरि घुमिरहेको घटनाले शरीर नै जिरिङ्ग बनाइहेको बताइन् । कारागारभित्र प्रहरीले गरेको हर्कतपछि वरपरका बासिन्दासमेत त्रसित बनेको बजगाईंको भनाइ छ । खाँदबारी कारागारमा कैदी भुक्तान गरिरहेका संखुवासभाको मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको हो । अदालतले जबरजस्ती करणी मुद्दामा तोलाङ्गीलाई १८ वर्ष र चोरी मुद्दामा बलामीमा ३ वर्ष कैद सजायको फैसला गरेको थियो । दुवैजना १ वर्षदेखि कारागारमा थिए । 

डीएसपी गोदारले भने उपचारका क्रममा खाँदबारी अस्पतालमा दुवैजनाको मृत्यु भएको बताए । भाग्नलाई राति १ बजेतिर शौचालयको झ्यालको रड काटेर उनीहरु कम्पाउण्डमा निस्किएपछि प्रहरीले नियन्त्रणमा लिएर कारागार प्रशासनको जिम्मा लगाएको उनको भनाइ छ । ‘कारागारभित्र झडप हुँदा उनीहरु घाइते भएछन् । प्रहरीले उद्धार गरेर उपचारका लागि लगेको हो,’गोदारले भने, ‘उपचारका क्रममा मृत्यु भयो । शव अस्पतालकै शवगृहमा राखेर घटनाको अनुसन्धान सुरु गरिएको छ ।’ 

अस्पताल स्रोतका अनुसार अस्पताल ल्याइपुर्‍याउँदा एकजनाको ढुकढुकी मात्रै थियो । एकजनाको मृत्यु भइसकेको थियो । तर,प्रहरीले भने उपचारका क्रममा उनीहरूको मृत्यु भएको झुटो कुरो बताइरहेको अस्पतालका एक स्वास्थ्यकर्मी बताउँछन् । ‘कैदी बन्दीबीच झडप हुँदा प्रहरीले छुट्याउन भूमिका खेल्न सक्थ्यो । अचेत अवस्थामा मात्रै फेला पारिएको भन्नुले घटना त्यसै शंकास्पद छ,’एक प्रहरी भन्छन्,‘कारागारभित्र झडप भएकै छैन । कुटपिटबाट मृत्यु भएपछि घटनालाई अर्कोतर्फ मोड्ने प्रयास गरिएको हो ।’

कारागारको अवस्था हेर्दा कैदीबन्दीबीच झडप र हानाहान भएजस्तो देखिँदैन । शौचालयको झ्यालको रड काटेर उनिहरु बाहिर निस्किएको प्रहरीले जनाएको छ । उनिहरुले शौचालयको ढोकामा समेत चुक्कुल लगाएर बाहिर निस्किएका थिए । भित्रका कैदीबन्दी बाहिर निस्कने अवस्था देखिदैन । त्यसकारण कम्पाउण्डमा निस्कीएका उनिहरुलाई प्रहरीलेनै कुटपिट गरीको प्रस्ट देखिन्छ । कैदीलाई मध्यरात बन्दीगृह कम्पाउण्डमा कैदीबन्दीलाई कुटपिट गरेको घटनालाई स्थानियबासीले प्रत्यक्ष देखेकाले यस प्रहरीको प्रत्यक्ष संलग्ना भएको आफन्त बताउँछन् । 

मृतक तोलाङ्गीकी दिदी भिमा रम्तेलले भनिन्–विहान ९ बजे तिर भाई विनोदको विरामी भएर उपाचार क्रममा मृत्युभएको भनेर खबर अयो तर कुटपिट मार्फत हत्या गरिएको रहेछ । हत्याको सत्यतथ्य बाहिर नआए सम्म भाईको शव हामी जिम्मा लिदैनौ उने भनिन् । प्रहरीकै घेरा भित्र कैदी असुरक्षित हुन्छ भने हामी जनता कसरी सुरक्षित रहने भन्दै आक्रोस व्यक्त गरेका छन् । 

सहायक प्रजिअको नेतृत्वमा छानबिन समिति 
शंकास्पद घटनाको छानबिनका लागि जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको नेतृत्वमा ३ सदस्यीय समिति बनाएको छ । छानबिन समितिमा जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक ९इन्सपेक्टर० सरोज खनाल र जिल्ला प्रशासन कार्यालय मुद्दा फाँटका नायब शुब्बा तारणी घिमिरे सदस्य छन् ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले छानबिनबाट सत्यतथ्य पत्ता लाग्ने दाबी गरे । ‘घटना शंकास्पद देखिएकाले छानबिनका लागि समिति बनाइएको हो,’उनले भने,‘सत्यतथ्य पत्ता लगाएर बाहिर ल्याउँछौं ।’ छानविनका लागि १० दिनको सय राख्नु अनुपयुक्त भएको नेकपा(एमाले) जिल्ला कमिटि अध्यक्ष तिजबहादुर घिमिरे बताउँन् ।

परिवारले घटनाको बास्तविकता नआए सम्म शव जिम्मा नलिने बताएको भन्दै छिटि भन्दा छिटो सत्यतथ्य बाहिर ल्याउन जिल्ला प्रशासन कार्यालयमा भएको एक छलफलमा घिमिरेले आग्रह गरेका छन् । नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक टेकमान राई घटनाको सत्यतथ्य तत्काल बाहिर ल्याएर दोशीलाई कारवाही गर्नु पर्ने बताउँछन् । ढिलासुस्ती भए दोसी उम्कन सक्ने संयोजक राईको भनाई छ ।  कारागारमा हाल ८ जना महिलासहित १ सय ३८ जना कैदीबन्दी छन् ।