सङ्खुवासभाः खाँदवारी नगरपालिका १ स्थित हस्पिटल गेटमा रहेको जिल्ला कारागारका दुई जना कैदी शङ्कास्पद मृत्यु घटना निश्पक्ष एवम् वस्तुनिष्ठ छानविन हुने गृह मन्त्रालयद्वारा गठित छानविन समितिका संयोजक कमलप्रसाद पाण्डेले बताएका छन ।

गृह मन्त्रालयद्वारा ०८० साउन २४ गते कारागार व्यवस्थापन विभागका निर्देशक पाण्डेको संयोजकत्वमा गठित छानविन समितिले साउन २६ गतेदेखि जिल्लामा स्थलगत रूपमा छानविनका लागि जिल्ला प्रशासन कार्यालयमा पीडित परिवार, अधिकारकर्मी र सरोकारवालाबिच भएको सर्वपक्षीय छलफलमा छानविन समितिले घटनाको निश्पक्ष र वस्तुनिष्ठ छानविन गर्ने संयोजक पाण्डेले बताए।

संयोजक पाण्डेले घटना निश्पक्ष र सत्यतथ्यका आधारमा छानविनका लागि गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको र समितिका सदस्यहरूको कोहीप्रति आग्रह वा पूर्वाग्रह नहुने भएकाले निश्पक्ष छानविन हुने बताए ।

पीडित परिवारका सदस्यले घटना भएको चार दिनसम्म पनि घटनाका दोषी सार्वजनिक नगरेको भन्दै आक्रोश व्यक्त गरेपछि सर्वपक्षीय छलफलले तत्काल शवको पोष्टमार्टम गर्ने निणर्य गरेको जिल्ला सुरक्षा समिति अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।

Photo-202308011-sangkhu

छलफलमा जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र गोदारले तत्काल पीडित परिवारको माग अनुसार आरोप लागेका ११ जना विरूद्ध कर्तव्य ज्यान शीर्षकमा किटानी जाहेरी दर्ता गरी कानुनी कारबाही अघि बढाउने बताए ।

सर्वपक्षीय छलफलमा इन्सेक कोशी प्रदेश कार्यालय, प्रमुख सोमराज थापाले पीडित परिवारले तत्काल राज्यलाई अनुसन्धानमा सहयोग गर्न र कानुनी कारबाही अघि बढाउन शवको पोष्टमार्टम गर्न आवश्यक भएको सुझाव दिए । 

सर्वपक्षीय छलफलको निणर्य अनुसार साउन २७ गते तीन जना विशेषज्ञ डाक्टरको रोहवरमा शवको पोष्टमार्टम गर्ने, आरोप लागेका ११ जना विरूद्ध प्रहरीमा किटानी जाहेरी दिएसँगै सार्वजनिक गर्ने र पीडित पक्षले शव बुझ्ने सहमति भएको छ ।

जिल्ला कारागार खाँदबारीमा कुटपिटबाट दुई जना कैदीको मृत्यु भएको थियो । कुटपिटबाट कैदी सङ्खुवासभाकै मादी नगरपालिका(५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका(७ का २८ वर्षीय आकाश बलामीको साउन २४ गते मृत्यु भएको पीडित पक्षको आरोप छ ।-इन्सेकबाट