तेह्रथुमः जिल्लाको आठराई गाउँपालिका–१ संक्रान्तीकी २४ वर्षीया रेशिका(दमन्ता) श्रेष्ठको हत्या गरेको आरोपमा प्रहरीले २६ वर्षीय पति राजकुमार श्रेष्ठलाई साउन २७ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादपछि ०८० साउन १४ गते पत्नीले घर छोडेर हिँडेको र खोजी गरीदिन आग्रह गर्दै राजकुमारले जिल्ला प्रहरी कार्यालयमा साउन २४ गते निवेदन दिएका थिए ।

निवेदनलगत्तै घर छोडेर हिँडेका राजकुमारलाई अनुसन्धानका लागि झापाको काड्डभिट्टाबाट साउन २७ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर छिपिञ्जो भोटले बताए।

पत्नीको खोजी गरीदिन पतिले निवेदन दिएपछि खोजीका क्रममा साउन २७ गते रेशिकाको शव आठराई गाउँपालिका–१ संक्रान्ती घरमा रहेको सुँगुरको खोर नजिक गाडिएको अवस्थामा फेला परेको इन्स्पेक्टर भोटेले बताए।

पत्नीलाई कुटपिट गरी हत्या गरेर प्लाष्टिकमा पोको पारेर सुँगुरको खोर नजिक शव गाडेको फेला परेपछि राजकुमारलाई काड्डभिट्टामा लुकिछिपी बसेको अवस्थामा गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा राजकुमारले पत्नीको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको छ । साउन २८ गते शवको पोष्टमार्टम गरिने भएको स्थानीय इन्सेक प्रतिनिधि सुरेश खत्रीले जानकारी दिएका छन् ।