संखुवासभाः खाँदवारी नगरपालिका–१ स्थित हस्पिटल गेटमा रहेको जिल्ला कारागारका दुई जना कैदी शङ्कास्पद मृत्यु भएको चार दिनपछि शवको पोष्टमार्टम गरिएको छ ।
प्रहरीको यातनाबाट साउन २४ गते मारिएका भनिएका सङ्खुवासभाकै मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट जिल्ला, ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको साउन २७ गते जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएको हो ।
कोशी अस्पताल, विराटनगरका विशेषज्ञ डाक्टरको समूहले साउन २७ गते शवको पोष्टमार्टम गरेको अस्पताल प्रशासनले जनाएको छ ।
घटना भएपछि पीडित पक्षले दोषीलाई कारबाही नहुञ्जेलसम्म शवको पोष्टमार्टम गर्न नदिने र शव नबुझ्ने अडान लिएपछि शवको पोष्टमार्टम हुन सकेको थिएन ।
घटनाको छानविनका लागि कारागार व्यवस्थापन विभागका निर्देशक कमलप्रसाद पाण्डे, जिल्ला सुरक्षा समिति अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र गोदार, राष्ट्रिय मानव अधिकार आयोग,कोशी प्रदेश कार्यालय विराटनगरका निर्देशक पवन भट्ट, इन्सेक कोशी प्रदेश प्रमुख सोमराज थापा, पीडित परिवार, नागरिक समाजका प्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिबिच साउन २६ गते जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय छलफलले शवको पोष्टमार्टम गर्ने, आरोपितविरूद प्रहरीमा किटानी उजुरी दर्ता गर्ने र आरोपित सार्वजनिक गर्ने सहमति भएपछि शवको पोष्टमार्टम गरिएको हो ।
पीडित पक्षको माग अनुसार प्रहरीले आरोपित सार्वजनिक नगरेको आरोपमा पीडित पक्षले शव बुझ्न अस्वीकार गरेका छन् ।
सर्वपक्षीय बैठकको निर्णय अनुसार प्रहरीले जिल्ला कारागार कार्यालयका प्रमुख राजेन्द्र घिमिरे र घटना हुँदाका समयमा कारागार सुरक्षाका असइ लक्ष्मी चौधरीविरुद्ध साउन २७ गते कर्तव्य ज्यान शीर्षकमा उजुरी दर्ता गराएको संखुवासभाका इन्सेक प्रतिनिधि भविन कार्कीले जानकाारी दिएका छन् ।