ताप्लेजुङः ताप्लेजुङको मैवाखोला गाउँपालिकामा छोराले आमाको हत्या गरेका छन् ।

मैवाखोला गाउँपालिका ५ फाकुम्बाका ३३ वर्षीय छोरा डिल्ली कुमार लिम्बुले ६३ वर्षीय आमा धनमाया लिम्बूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए  ।

उनका अनुसार छोराले सोमबार बिहान करिब साढे १० बजे धारिलो हतियार बाम्फोक प्रहार हत्या गरेका हुन् । प्रहरी निरीक्षक कार्कीका अनुसार छोरालाई बाम्फोक सहित स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए ।

 मध्यान्ह १२ बजे घटनाको बिबरण प्राप्त हुनासाथ प्रहरी चौकी साँघुबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा प्रहरी टोलि खटाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रहरी चौकी साँघुको टोलि घटनास्थलमा पुगि सो स्थानलाई सुरक्षित गरेका छन् । यस्तै थप अनुसन्धान तथा कानुनी प्रक्रिया लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षकको टोलि खटाइएको बताइएको छ ।