तेह्रथुमः तेह्रथुमको आठराई गाउँपालिका–१ सक्रान्तीबजार डाडागाँउकी २४ वर्षीया रेसिका श्रेष्ठ ९दमन्ता० हत्या गरेको आरोपमा पक्राउ परेका राजकुमार श्रेष्ठलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।

गत साउन १४ गते आफ्नै श्रीमती रेसिकाको हत्या गरि फरार राजकुमारलाई झापाको काँकडभिट्टा स्थित एक होटेलमा लुकेर बसेको अवस्थामा साउन २७ गते प्रहरीले पक्राउ गरेको थियो ।

घरायसी विवादमा श्रीमानश्रीमती बीच झगडा भएपछि रिसको आवेगमा छातीमा मुक्का प्रहार गर्दा रेसिकाको मृत्यू भएको प्रहरीको अनुसन्धानमा अभियुक्त राजकुमारले बयान दिएका छन् । श्रीमतीको हत्या गरि घर नजिकैको सुँगुरको खोरमा गाडिदिएको समेत राजकुमारले स्विकारेको प्रहरी नायब उपरीक्षक राजन चापागाईँले बताए । 

रेसिकाको हत्या भएको १३ दिनपछि मात्र प्रहरीले सुँगुरको खोरमा गाडेको अवस्थामा लाश फेला पारेको थियो । मृतकको साउन २८ गते अन्तिम दाहसंस्कार भएको थियो।

साउन १५ गते ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारमा श्रीमती हराएले खोजतलासको निवेदन राजकुमार आफैले गराएका थिए । प्रहरीले हराएकी दमन्ताको खोजीकार्य सुरू गरेको केही दिनमै राजकुमारले श्रीमती झापामा आफन्तकोमा रहेको जानकारी प्रहरीलाई गराएको बताइएको छ ।

साउन २४ गते राजकुमार पनि बेपत्ता भएपछि रेसिकाको दाजु युवराज श्रेष्ठले बहिनी र ज्वाँईको खोजीका लागि इलाका प्रहरी कार्यालय सङ्क्रान्ति बजारमा निवेदन दिएका थिए ।

राजकुमारलाई जिल्लामा अदालतमा म्याद थप गरि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।