सङ्खुवासभाः कारागारभित्र दुई कैदीको हत्या घटनामा प्रहरीसहित १२ जनामाथि अनुसन्धान थालिएको छ । कैदीको हत्या घटनामा प्रहरी र कैदीसहित १२ जना अनुसन्धानमा तानिएका छन् ।

कारागारमा रहेको सिसिटिभी फुटेज अध्ययनबाट घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नताले देखिएको छ । कैदी मृत्यु घटनामा प्रहरीसहित १२ जना अनुसन्धानको दायरमा तानिएको जिल्ला प्रहरी कार्यालय डिएसपी वीरेन्द्र गोदारले बताए।

घटनामा संम्लग्न देखिएका प्रहरी र कैदीसहित १२ जनामाथि म्याद थप गरेर अनुसन्धान भइरहेको डीएसपी गोदारले बताए । कैदी मृत्यु घटनामा प्रत्यक्ष संम्लग्न देखिएका ५ जना प्रहरीलाई विभागीय कार्वाहीका लागि सिफारिस गरिएको गोदारले बताए।

प्रहरीले साउन २८ गते कारागार सुरक्षा इन्चार्ज असई लक्ष्मी चौधरीमाथि ५ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको थियो । असई चौधरीलाई भदौ १ गते पुन ५ दिन म्याद थप गरेको छ भने अन्य ११ जनालाई पहिलो म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

घटनामा संम्लग्नलाई छानविन टोलीको प्रतिवेदनका आधारमा थप कारवाही प्रक्रिया अघि बढाइने प्रहरी डीएसपी गोदारले बताए।

घटनापछि गृहमन्त्रालयले कारागार विभागका निर्देशक कमलप्रसाद पाण्डेको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान टोली बनाएको थियो  पीडितले दिएको किटानी जाहेरीका आधारमा लक्ष्मी चौधरीसहित कारागार निमित्त प्रमुख राजेन्द्र घिमिरे विरुद्ध जिल्ला अदालत सङखुवासभाले गत साउन २८ गते पक्राउका लागि अनुमति दिएको थियो ।

प्रहरीले घटना लगत्तै कारागार सुरक्षमा खटिएको १० प्रहरी र चौकीदार सहित ९ कैदीलाई नियन्त्रणमा लिएको थियो ।

कारागार निमित्त प्रमुख घिमिरेलाई भने हालसम्म पक्राउ गरिएको छैन । कुटपिटबाट सङ्खुवासभा मादी नगरपालिका–५ का २० बर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो । २५ जनाको क्षमता रहेको कारागारमा अहिले १ सय ३६ जना कैदीबन्दी छन् ।