काठमाडौंः  कुखुरा तथा कुखुराजन्य पदार्थको अवैध आयातमा वृद्धि भएको जनगुनासोलाई गृह मन्त्रालयले कडाइपूर्वक सम्बोधन गरेको छ। यसबारे उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा भदौ ३ गते सरोकारवाला सरकारी र व्यवसायी निकायबीच बृहत छलफल भएको थियो।

उक्त छलफल बमोजिमको निष्कर्ष कार्यान्वयनका लागि मंगलबार शाखा अधिकृत अशोककुमार आचार्यले गृह मन्त्रालय नेतृत्वको आदेशअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र सबै जिल्ला प्रशासन कार्यालयका नाममा पाँच बुँदे निर्णय जारी गरेका हुन ।

आदेशको पहिलो र दोस्रो बुँदामा खुला सीमानाबाट गैरकानुनी रुपमा ओसारपसार हुन सक्ने कुखुरा तथा कुखुराजन्य पदार्थको नियन्त्रणको व्यवस्था मिलाउने,  अवैध ओसारपसारमा संलग्न व्यक्ति तथा प्रयोग हुने सवारी साधनलाई प्रचलित कानुन बमोजिम आवश्यक कानुनी कारबाही गर्ने उल्लेख गरिएको छ।

आदेशमा सीमा नाकामा गस्ती निगरानी बढाउने, सीमा क्षेत्रमा अवैध तथा मापदण्डविपरीत खोलिएका कुखुरा फार्म, बधशाला ह्याचरी र कोल्ड स्टोरहरुलाई हटाउने उल्लेख छ।

मन्त्रालयले भन्सार तथा क्वारेन्टाइनको प्रभावकारिता वृद्धि गर्न आवश्यक समन्वय तथा सहयोग गर्न आदेश दिएको छ।