काठमाडौंः  वैदेशिक रोजगारीको प्रलोभन देखाइ एक लाख ५० हजार ठगी गर्ने सुमन बुढाथोकीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मिलन केसीका अनुसार सर्लाही लालबन्दी नगरपालिका १२ स्थायी घर भएका २७ वर्षीय सुमन बुढाथोकी र इलाम सूर्योदय नगरपालिका १४ का छविलाल अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीले सर्बियामा पुगेपछि कृषि फर्ममा मासिक ५० हजार रुपियाँ भन्दा धेरै तलब हुन्छ भनी विश्वास दिलाइ पीडित विनोद श्रेष्ठलाई पटक–पटक गरी सो रकम लिई सम्पर्कविहीन भएको जनाएको छ । 

उनीहरूलाई बुधबार सामाखुसीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।