विराटनगर/ विराटनगर महानगरपालिका नगर परिषद्ले गरेको करवृद्धिको निर्णय विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को महानगर समितिले विरोध जनाएको छ ।
१ वर्षसम्म महानगरका गतिविधिमा खासै चासो नराखेको नेकपा महानगर समितिले आइतबार करवृद्धिको विरोध गर्दै नगरप्रमुख भीम पराजुलीलाई ज्ञापन पत्र बुझाएको हो ।
नेकपाले आफ्ना मागहरू आगामी साउन ७ गतेसम्म पूरा नभए त्यसपछि चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ । नगरसभाले आर्थिक वर्ष २०७५÷०७६ को साउन महिनादेखि लागू हुने गरी १ हजार प्रतिशतसम्म कर वृद्धि गरेपछि नेकपा त्यसको विरोधमा देखिएको हो ।
ज्ञापनपत्रमा व्यक्तिगत घटना दर्ता, सिफारिस जस्ता सामान्य शीर्षकमा समेत पाँचसयदेखि हजार प्रतिशतसम्म कर वृद्धि हुनु हास्यास्पद भएको बताउँदै तत्काल करवृद्धि २० प्रतिशतको हाराहारीमा कायम गर्न माग गरेको छ ।
नगरका सडक हिलाम्य, धुलाम्य र अस्तव्यस्त हुनु, सेवा प्रवाहमा ढिलासुस्ती हुनुका साथै निर्माणका काममा अनियमितता भएको आरोप लगाउँदै नेकपाको महानगर समितिले विकास निर्माणको काम हचुवाको भरमा दिने गरेको आरोप लगाएको छ ।
नेकपाका महानगर संयोजक सागर थापाले ‘कोटेशन’ को आधारमा विकास निर्माणका काम दिएर आर्थिक अनियमितता हुँदै आएको बताए । उनले युवा नेतृत्वले सम्हालेको विराटनगर महानगरपालिकामा १ वर्षसम्म कुनै पनि विषयमा आफ्नो पार्टीले चासो नदिनुको कारण विकास निर्माणमा महानगरको नेतृत्वको धारणा बुझ्ने मनशाय रहेको बताए ।
थापाले महानगरमा भइरहेका विकास निर्माणका काममा अनियमितता भएको आरोप लगाउँदै १ वर्षसम्मको विकास प्रगति सुस्त देखिएको बताए । महानगरको बोर्ड बैठकले १० जना स्वास्थ्य सहयोगी पदमा कर्मचारीको दरबन्दी कायम गरेर १९ जनालाई नियुक्ति दिएको भन्दै थापाले तत्काल सो कदम सच्याउनका लागि माग गरे ।
ज्ञापनपत्र बुझ्दै नगरप्रमुख भीम पराजुलीले विज्ञ र वडाध्यक्षहरूको परामर्शबाट वृद्धि गरिएको करमा संशोधन गर्नका लागि सहयोगको अपेक्षा राखेको बताए । उनले सबै दलको सहयोगमा महानगरको आम्दानीलाई असर नगर्ने गरी संशोधन गर्ने विषयमा आफू तयार रहेको प्रतिक्रिया दिएका छन् ।
महानगरले कायम गरेको १० जना स्वास्थ्य सहयोगीको दरबन्दी आवश्यकताअनुसार थप गरेर १९ जना राखिएको उनले बताए । छनोट प्रक्रिया पारदर्शी भएको दाबी गर्दै प्रमुख पराजुलीले स्वास्थ्य मन्त्रालयबाट विनियोजित ९८ लाख रुपैयाँ बजेटबाट ती कर्मचारीले तलब पाउने जनाए । नेकपाको सुझावलाई आफूले सकारात्मक रूपमा लिएको उनले सो अवसरमा बताएका थिए ।
कति बढ्यो कर ?
महानगरले विभिन्न २७ शीर्षक, उप–शीर्षकमध्ये जन्म–मृत्यु, विवाह, बसाइँसराइँमा १ सयबाट ५ सय सिफारिश शुल्क कायम गरेको छ । यसैगरी, १ सयमा हुँदै आएको नाम थर संशोधन र हकवाला संरक्षण सूचना र भेटेरेनरी उपचारलाई बढाएर ५ सय रुपैयाँ पु¥याएको छ ।
१ सय २५ मा हुँदै आएको व्यवसाय लगतकट्टालाई बढाएर २ हजार ५ सय रुपैयाँ पु¥याइएको छ ।
५ सयमा हुँदै आएका गैसस क्लब र वाचनालय दर्ता तथा पेन्सन कार्ड सिफारिसलाई २ हजार पु¥याइएको छ । जग्गाको चारकिल्ला सिफारिस प्रमाणका लागि ५ सयबाट २ हजार ५ सय पु¥याइएको छ ।
करवृद्धिका अन्य क्षेत्र
१ हजारमा हुँदै आएको ठूला गैर सरकारी दर्ता १० हजार, कच्ची घर विद्युत तथा खानेपानी जडान २ सय १० बाट १ हजार, विद्यालय दर्ता अनुमति २ हजार ५ सयबाट १० हजार, विद्यालय वार्षिक कर १ हजारबाट १० हजार पु¥याइएको छ ।
छुट जग्गा सिफारिस २ हजारबाट १० हजार तथा घरबाटो सिफारिस २ हजारबाट ४ हजार पु¥याइएको छ । सम्पत्ति मूल्याकंन पत्र बनाउँदा ७ हजार तिर्नुपर्ने भएको छ भने घर नक्सा पास दस्तुरलाई १२ रुपैयाँ प्रतिफिटबाट बढाएर २४ रुपैयाँ प्रतिफिट कायम गरिएको छ ।
सम्पति कर वार्षिक १ करोड मुनि ० दशमलव ४ र १ करोडमाथि ० दशमलव ६ प्रतिशतले वृद्धि गरिएको छ । पूर्वाधार विकास शुल्कका नाममा सम्पति करमा अतिरिक्त १० हजारसम्म तिर्नुपर्ने व्यवस्था गरिएको छ । व्यवसाय करमा १ हजार प्रतिशत वृद्धि गरिएको छ ।
सम्बन्ध विच्छेद सिफारिश शुल्क ५ सयबाट बढाएर २ हजार पु¥याइएको छ । नाला, ढल शुल्कबापत प्रतिमहिना ५ सय रुपैयाँ बुझाउनुपर्ने भएको छ । शिक्षक सरुवा सिफारिशमा समेत शुल्क तोकिएको छ ।