इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर २ हलगडा बसन्त टोलकी करिब ४४ बर्षीया यशोदा श्रेष्ठको धरान १७ मा हत्या भएको छ । 

धरान १७ स्थित साउने वस्तीमा आर्थिक लेनदेनको विषयमा महिलाको हत्या भएको पाइएको इलाका प्रहरी कार्याल धरानले जनाएको छ । 

धरान–१७ साउने वस्ती बस्ने टेकबहादुर दर्जीले उनको हत्या गरेको पाइएको इलाका प्रहरी कार्यालय धरानका  डिएसपी नवराज मल्लले जानकारी दिएका छन् ।  दिनभरी आर्थिक लेनदेनको विषयमा कुराकानी भएको र साँझपख कुरा नमिलेपछि उनको हत्या भएको पाइएको मल्लको  भनाइ छ ।

‘प्रारम्भिक अनुसन्धानमा लेनदेनको विषयमा हत्या भएको पाइएको छ’, उनले भने, ‘अन्य विषयमा थप अनुसन्धान भइरहेको छ ।’ हत्या गरेर दर्जीले शव लुकाउने, दबाउने प्रयास गरेको समेत पाइएको उनले जानकारी दिए । शव दबाउने प्रयास भएको सूचना पाएपछि आफूहरु पुगेर उनलाई घरबाटै पक्राउ गर्न सफल बनेको उनले बताए । प्रहरीका अनुसार हत्या गरिसकेपछि शव पोको पारी डोको समेत तयारी अवस्थामा राखेको पाइएको छ ।

छिमेकीका अनुसार दर्जीले आफूले शव व्यवस्थापन गर्न लागेको छु, कसैलाई नभन्नु भन्दै आफ्ना सालो भाइलाई भन्न थालेपछि सालो भाइहरु नै मिलेर उनलाई घरभित्र थुनेको र प्रहरीका खबर गरेका थिए । ‘शव पो व्यवस्थापन गर्नुपर्ने भो भन्दै हतारिँदै भनेपछि सालो भाइहरुले नै उनलाई घरको कोठाभित्र थुनेका थिए’, एक स्थानीय भन्छन्, ‘त्यसपछि उनले त्यहाँभित्रै आत्महत्याको प्रयास समेत गरेका थिए, त्यसपछि सालो भाइहरुले नै प्रहरीलाई खबर गरेका थिए ।’

धरान–१७ का वडा सदस्य मनिष विष्टका अनुसार मृतक महिलाको टाउकोको अगाडिको आँखा छेऊको भाग र पछाडिपट्टिको भागमा गहिरो चोट छ । ‘दर्जीले प्रहरीलाई दिएको बयानअनुसार आफूले मुड्की हानेको र भुइँमा बजारिएपछि फेरि मुड्कीले नै प्रहार गरें भनेको पाइयो’, उनले भने ।

प्रहरीका अनुसार महिलाको शरीरको अन्यतिर खासै केही भएको छैन । प्रहरीले पनि घटनास्थलमा कुनै हातहतियार फेला पार्न नसकेको जानकारी दिएको छ । ‘हात हतियार केही भेटिएको छैन, थप अनुसन्धान भइरहेको छ, पछि थप कुरा खुल्नेछ ।’ डिएसपी मल्लले भने ।

स्थानीयका अनुसार दर्जी ससुरालीकै श्रीमतीले घर बनाएपछि जग्गामा विगत केही वर्षदेखि त्यहाँ बस्दै आएका थिए । उनको घर रामेछाप हो । उनी पेशाले सवारी चालक (ड्राइभर) हुन् ।

प्रहरीका अनुसार शव अहिले धरानस्थित बीपी प्रतिष्ठानमा पोष्टमार्टमका लागि ल्याइएको छ । शव परीक्षणको रिपोर्ट आएपछि थप कुरा थाहा हुने प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ । घटना बुधबार रातिको हो । प्रहरीले शव बिहीबार बिहानमात्रै उठाएको थियो ।