मोरङः प्रहरीको हतियार तथा सर्वसाधारणलाई लुटपाट गर्ने एक भारतीय सहित ६ जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरमा पत्रकार सम्मेलनमार्फत् उनीहरुलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरूमा सुनसरी जिल्ला दुहबी नगरपालिका ४ का ३२ वर्षीय नसुदिन मियाँ, सोही नगरपालिका १ का ३० वर्षीय मो अलिम मुर्तुजा, भारत घर भई सुनसरीको दुहबी नगरपालिका ६ का ४० वर्षीय मो। आलम, मोरङको वुढीगंगा गाउँपालिका ४ का ४० वर्षीय रिजवन मियाँ, सोही गाउँपालिका ५ का २१ वर्षीय नजरुल मियाँ र सोही वडा बस्ने २५ वर्षीय सिजाम आलम रहेका (सिजाम मोबाइल सेन्टरका सञ्चालक)छन् ।

parau-11-1536x1024

उनीहरुलाई मोरङको बुढीगंगा कोयलपुर क्षेत्रको सडकमा यही भदौ २२ गते राति ११ बजे शङ्कास्पद रुपमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले बताए ।

उनीहरूको साथबाट प्रहरीले प्रहरीबाट लुटिएको चाइनिज पेस्तोल एक थान, कटुवा पेस्तोल एक थान, रड तीन थान, चक्कु दुई थान, पेचकस एक थान, रु एक लाख ७५ हजार २७५ र भारतीय रुपैयाँ ११ हजार ६००, सुनजस्तो देखिने गहना तिलहरि एक थान, झुम्का दुई जोर, चाँदीको जस्तो देखिने तीन लहरे सिक्री एक थान, पाउजु एक जोर, विभिन्न विदेशी रुपैयाँ र नेपाली र भारतीय नम्बरको मोटरसाइकल दुई थान बरामद गरेको छ ।

उनीहरूले मोरङ र सुनसरीका विभिन्न ठाउँमा राति दैनिक जसो लुटपाट गर्ने गरेको प्रहरीले जनाएको छ । उनीहरूले हालसम्म ११ स्थानमा लुटपाट गरेको प्रहरीको भनाई छ । उनीहरुलाई डकैती तथा हातहतियार र सङ्गठित अपराधमा मुद्दा चलाइने प्रहरीले जनाएको छ  उनीहरुलाई पक्राउ गर्ने १० जना प्रहरीलाई आगामी दिनमा पुरस्कृत गर्ने सोही अवसरमा जानकारी दिइयो । रेडियो नेपालबाट