काठमाडौंः नेपाली सेनाको नन्द बक्स गुल्म डोल्पाका प्रमुख मेजर बिमल पण्डितको शव भेटिएको छ। हराएको १६ दिनपछि ३० किलोमिटर दक्षिण उत्तरको भेरी नदीमा उनको शव फेला परेको हो।

नेपाली सेनाले खोजी कार्यका लागि खटाएका अर्का मेजर ध्रुव कार्कीसहित परिवारले उनको शवको सनाखत गरेका थिए। उनी भदौ १० गते गुल्मबाट निस्किएपछि हराएका थिए।

पण्डितलाई सेनालगायतका सुरक्षा निकायले भेटाउन नसके पनि उनको अन्तिम सम्पर्क र संवादका विषय, मोबाइलको लोकेशनलगायतका विभिन्न माध्यमबाट सुरक्षा निकायहरुले खोजी कार्य तिव्र पारेका थिए।

अन्तिम संवादले उनी कुनै पारिवारिक या निजी मामलाका कारण समस्यामा परेको भन्ने संकेत मिलेको बताइन्छ। काठमाडौं घर भएका उनी स्थानीय नगेन्द्र बस्नेतले चलाउने भाडाको जिपमा चढेर उनी त्रिपुराकोटसम्म पुगेको तथ्य बाहिर आएको थियो।

मेजर पण्डितलाई केही समयमा नै उनी कार्यरत रहेको नन्दबक्स गुल्मको सेनाको टोलीले पिछा गरेको पनि खुलेको थियो तर त्यो टोलीले १६ दिनसम्म पनि फेला पार्न सकेको थिएन। उनले आत्महत्या गरेका हुन् या हत्या भएको भन्ने पनि स्पष्ट भइसकेको छैन।

‘मैले साहुलाई चिनाएर बजारमा छाडेर हिँडेको थिएँ, फर्किँदा बाटोमा सेनाको गाडीले सोध्यो। त्यसबेलासम्म मेयर ठानेको मेजर रहेछन् भन्ने अनि जानकारी पाएँ’, चालक बस्नेतले भनेका थिए। त्यसबेलासम्म पण्डित सकुशल रहेको ठानियो।

मेजर पण्डित जिपमा जाने क्रममा दुई पटक फोनमा ब्यस्त भएको र एक पटक ‘त्यो अडिओ मेरो होइन म मिलाउँछु’ भन्ने एकतर्फी संवाद सुनेको बस्नेतले बताएका छन्। यो संवादको विषयले उनको मृत्यु पनि शंकाको घेरामा तानिएको छ।

त्रिपुराकोट बजार जाने क्रममा एक ठाउँमा गाडी रोकी मेजर पण्डितले पहरोतिर हेरेको पनि बस्नेतले जानकारी दिएका छन्।

मेजर पण्डित परिवारसँग फोन सम्पर्क गरेको केही दिनपछि सम्पर्कबिहीन हुन पुगेका थिए।मेजर पण्डितको विषयमा अनेकथरी चर्चा भए पनि चालकको बयानका आधारमा उनी कुनै निजी समस्यासँग अन्तरसंवादमा थिए भन्ने अनुमान गर्न सकिन्छ। उनको शव भेटिएपछि कसरी मृत्यु भयो भन्ने विषयमा सेना, प्रहरीले अनुसन्धान गर्नेछ। क्यानडा नेपालबाट