इटहरीः धरानका उपप्रमुख अइन्द्रविक्रम बेघाको वडा नम्बर १५ स्थित घरमा सोमबार राती एक हतियारधारी समूह पसेर घर तोडफोड गरेको छ । सो समूहले बेघाका भाई विष्णु बेघामाथि खुकुरी प्रहार गरेको छ । 

धरान १५ को खोरिया बस्तीमा रहेको उपमेयर बेघाको घरका केही अराजक युवाहरुको समूह हतियार सहित जवरजस्ती प्रवेश गरि भाईमाथि खुकुरी प्रहार गर्नुका साथै जथाभावी ढुंगामुडा गरेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् । सो सम्रूहको खुकुरी प्रहारबाट उपमेयरका भाईको देब्रे गालामा चोट लागेको छ । तोडफोडबाट उपमेयर बेघाको घरको झ्यालका सिसाहरु फुटेका छन् । घटनाका बारेमा तत्काल थाहा पाएका उपमेयर बेघाले प्रहरी पठाईदिन उपमहानगरपालिकाको कार्यालयबाटै इलाका प्रहरी कार्यालय धरानका डिएसपीलाई फोन गरेका थिए । 

उपमेयर बेघा त्यपछि लगत्तै आफ्नो निवास तर्फ लागेका थिए । निवास पुग्दासम्म प्रहरी नपुगेको जानकारी पाएपछि निवास अगाडिबाटै फोन गरेर डिएसपी नवराज मल्ललाई प्रहरी नआएको जनाएका थिए । उनले फोनबाट पटक पटक डिएसपी मल्लालाई प्रहरी पठाईदिन अनुनयविनय गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाईरल भईरहेको छ । 

बेघाले प्रहरी सेवा चुस्तदुरुस्त हुन नसकेको गुनासो फेसबुकमार्फत् गरेका छन् । उनले इलाका प्रहरी कार्यालयका डिएसपी नवराज मल्ललाई फोन सम्पर्क गरी फेसबुकमार्फत् प्रत्यक्ष प्रसारण गर्दै प्रहरी नआएको गुनासो गरिरहेको देखिन्छ । 

इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले प्रहरी समयमै परिचालन गरिए पनि बाटोका कारणले ढिला पुगेको बताए । उनले विस्तृत जानकारी प्राप्त नभएको बताएका छन् । सुनसरीका प्रहरी प्रमुख एसपी विपीन रेग्मीले उपमेयरको घर तोडफोड गर्ने समूहको खोजी गर्न प्रहरी परिचालन गरिएको बताए। उनले बेघाको घरमा भएको तोडफोडमा खबर गरेर प्रहरी तत्काल नगएको विषयमा छानविन गरिने बताए ।