मिश्रा गुरुङ
आमाको कोखबाट निस्केर
जब मेरा कलिला पाइतालाले
धर्ती स्पर्श गर्यो
मलाई लाग्यो
म कुनै बिरानो संसारमा आएकोछु
जस्तो की
म आफ्नै धर्तीबाट बेदख्खल भएँ
म डरले थर्थराएँ
र ब्रम्हाण्डनै थर्किने गरी चिच्याएँ
बाबाले मलाई न्यानो काखमा राख्नु भयो
र मायाले चुम्नु भयो
म शान्त भएँ
मलाई लाग्यो
बाबानै मेरो अबको धरातल हो
मेरो पहिलो ठेगाना हो
उभिन नसकेर जब मेरा पाउहरु धरमराए
हिड्न नजानेर सयौं चोटी
भुँईमा लडेँ ,पछारिएँ
बाबाले मलाई हातको साहारा दिएर
उभिन लगाउनु भयो
ओैला समाएर
हिड्न सिकाउनु भयो
जीवनपथको हरेक अप्ठ्याराहरुमा
मलाई अडिलो भर दिने
बाबा मेरो यात्राको
पहिलो आधार हो
बाबाको काँधमा चढेर
जब म सयर गर्थेँ गाँउ बेसी
पाइताला नभिजाई
म नदी खोला र जंघारहरु तर्दथेँ
भूँई नटेकी म पहरा चढ्दथेँ
बाबा काँध चढ्दा छुन्थे जुनको निलिमा
भेट्थेँ हिमालको उचाई
समयको हरेक धारमा
मलाई उचाई चिनाउने
बाबा नै मेरो जीवनको
पहिलो टाकुरा हो ।
जब म
अक्षरको उज्यालो उघार्न नसकेर
तोते बोल्दै ज्ञानको संघारमा
अल्मलिरहेको थिएँ
मेरो हात समाएर
क ख लेख्न सिकाउनु भयो
उज्यालो भविस्यको गोरेटोमा
पाइला टेकाउनु भयो
मेरो लागी पिठ्युमा बोकेर
ज्ञानको उज्यालो ल्याउने
बाबा नै मेरो जीवनको
पहिलो बिहान हो
जब जब मेरा पाइतालाहरु
उक्लिन सक्दैनथे उकालो भिरालो
अज्ञानताले निभाउन खोज्थ्यो
मेरो ज्ञानको दियालो
तब तब बाबा म भित्र
सल्काउनु हुन्छ शिक्षाको सलेदो
र बाल्नु हुन्छ
ज्ञान र विनयशीलताको दीप
बाबानै
मेरो ज्ञानसुधाको
दियो जलाइरहने
कहिले नसुक्ने
मुलको तेल हो
जब म संसारबाट थाकेर लखतरान हुन्छु
हार खान्छु संघर्षका पहाडहरुसँग
बाबा
आफ्नो ढल्दो उमेरलाई पनि
चुनौती दिदै
निरन्तर खटिरहनु हुन्छ
अतुलनिय छ त्यो लगन
जस्तो की
बाबा
एउटा अथक मोनो रेल हो
कुनै बखत सामान्य हुरीले पनि
जब मलाई उडाउन खोज्छ
हजारौ आँधीहरुको वेग थाम्दै
पहाडको अचलता बोकी
मलाई जीवनको मजबुती सिकाउनुहुन्छ
सकेसम्म सधैँ सरलताहरु खोजेर
जिन्दगीको विशालता बुझाउने
बाबानै मेरो जीवनको
पहिलो पाठशाला हो
हजारौं समस्याहरुको भिडमा
दु:खहरुलाई साथी मान्दै चुनौतीहरु भिडेर पनि
बाबाको अनुहारमा
गुम्बाको शान्ति पाउछु
मन्दिरको पवित्रता भेट्छु
मलाई लाग्छ
बाबानै मेरो
पहिलो तिर्थस्थल हो ।
सिंगो आकाश ओढेर पनि
जब म उदाङ्गो हु्न्छु
सिंगो धर्ती टेकेर पनि आधारहिन ठान्छु
सपनाका हिमालहरु छातीभरी बोकेर पनि
जीवन अग्निमा तप्त हुन्छु
बाबाको स्नेहको छहारीले
मलाई ओत दिन्छ
आँट दिन्छ र दिन्छ शीतलता
आशिर्वाद र अर्तीका
सुनौला हरफहरुले
सधैँ हाम्रो जीवनको क्षितिज
रंगाउन चाहने
बाबा
बिश्राम अघीको
सुर्यको त्यो स्वर्ण किरण हो
जहाँ पुग्दा जीवनका
तमाम आदर्शहरु भेटिन्छ
पिपल अंगालेर बस्ने
सित्तल त्यो चौतारी हो
जहाँ बिसाउदा जिन्दगीका
तमाम थकानहरु मेटिन्छ
जहाँ सुसाउदा संसारका
सारा देवत्वहरु भेटिन्छ ।।।