काठमाडौंः दुबईबाट तस्करी भएर त्रिभुवन विमानस्थलमा जिल्ला प्रहरी परिसर काठमाडौंले बरामद गरेको एक किलो सुनमा नेपाली कांग्रेसका नेता तिर्थ लामानजिक रहेका तरुण दलका नेता विकास लामा जोडिएका छन्।

प्रहरीले लामाको खोजी गरिरहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार यस प्रकरणको मिहिन अध्ययन गर्दा विकास लामाको संलग्नता देखिएको हो।

मलद्वारमा लुकाएर दुबईबाट हिमालयन एयरलाइन्समार्फत मंगलबार बिहान साढे ९ बजे ल्याएको सुनसहित प्रहरीले काभ्रेको खानीखोला गाउँपालिका–३ का बाबुलाल दोङलाई पक्राउ गरेको थियो। दोङको पिछा गर्दा काभ्रेको रोशी गाउँपालिका–३, घट्टेखोलाका जगत लामा र महाभारत गाउँपािलका–३, सानोपोखरा घर भई बनेपा बस्दै आएका दोर्जे स्याङ्तानलाई पक्राउ गरेको प्रहरी विकास लामाको कठालोसम्म पुग्ने भएको छ।

जगत र दोर्जेले सुन रिसिभ गर्न समेत विकासकै बागमती प्रदेश ०१ २७ प। च ९९६० नम्बरको गाडी लिएर गएका थिए। नियन्त्रणमा लिइएकाहरुको बयानका आधारमा प्रहरी अगाडि बढेको छ।

विकास लामा कांग्रेस बागमतीका प्रचार प्रसार समितिमा छन्। उनलाई तिर्थ लामाको सिफारिसमा प्रदेश सभापति इन्द्रबहादुर बानियाँले बागमती प्रदेश प्रचार समिति सदस्यमा मनोनित गरेका थिए। तिर्थ लामा बागमती सरकारका सिचाई मन्त्री छन्।

विकास लामा ३ वर्ष जेल बसेर भीमफेदी कारागारबाट छुटेका थिए। उनी मोटसाइकल चोरीको अभियोगमा पनि पक्राउ परेका थिए।