काठमाडौंः  काठमाडौंको गैरीगाउँस्थित दिव्य सःमिलमा गए राति भएको चार जनाको हत्या प्रकरणको अनुसन्धान गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयले छानविन समिति गठन गरिएको छ । प्रहरी वरीष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको हो ।

समितिको सदस्यहरुमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक हरि खतिवडा, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास खड्का र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक सुरक्षा केसी तथा प्रहरी वृत्त बानेश्वरका प्रहरी निरीक्षक वीरेन्द्र केसी रहेका छन् ।

टोलीलाई विविध विधि र प्रविधिको अधिकतम प्रयोग गरी घटनाको सुक्ष्म तवरले अनुसन्धान गरी यथाशीघ्र प्रतिवेदन पेस गर्न भनिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक दीपक थापाले बताए । गए राति ११ः५५ बजेको समयमा काठमाडौं महानगरपालिका–३२ गैरीगाउँमा चार जनाको हत्या भएको थियो । उक्त घटनामा संलग्न भएको आरोपमा २८ वर्षीय दीपेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ परेका राई हत्या गरिएका चार मध्ये नविनका साथी हुन । घटनामा संलग्न भएको आशंका अन्य केही व्यक्तिलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

गैरीगाउँस्थित दिव्य सःमिलभित्र काठले बनेको एकतले जस्ताको टहरोमा धारिलो हतियार प्रहार गरी दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष ५६ वर्षीय कुमार भुजेल, उहाँका श्रीमती ५२ वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङको बेलबारी स्थायी घर भएका १९ वर्षीय नवीन राईको शव फेला परेको थियो । उनीहरुको टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट छ । चारैजनाको शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ ।