इटहरीः आफ्नै विद्यार्थी  १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । 

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेस्थित निलगिरी माध्यमिक विद्यालयमा कार्यरत ३५ वर्षीय शिक्षक लक्ष्मीप्रसाद शाहलाई १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । ती शिक्षकको घर  सप्तरी, महादेवा गाउँपालिका २ हो । 

पीडित बालिकालाई आरोपितले ०८० भदौ २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा माध्यमिक विद्यालयमा विज्ञान शिक्षकका रूपमा कार्यरत आरोपितलाई अनुुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजन लिम्बूले बताए। पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ २९ गते गरिएको छ ।पक्राउ परेका शिक्षकलाई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।