काठमाडौंः काठमाडौंको तीनकुनेमा रहेको दिव्य सःमिलमा शुक्रबार राति एकै परिवारका तीन सदस्य सहित चार जनाको सामूहिक हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको २३ बर्षीय  सञ्जय भण्डारी जन्मजात बोल्न नसक्ने भएको पाइएको छ ।

नविन भनिन विशाल राईसँगको रिस फेर्न दिब्य सल मिल पुगेका सिन्धुपाल्चोकको बाह्रबिसे–९ स्थायीघर भई अध्ययनका लागि  काठमाडौं काँडाघारीमा बस्दै आएका २३ वर्षीय भण्डारीले चारै जनाको हत्या आफुले नै गरेको स्वीकार गरेको प्रहरीको भनाई छ ।

घटनापछि उनी फेरि काँडाघारीस्थित दिदीभिनाजुको कोठामा पुगेर सुतेको प्रहरीले जनाएको छ  । उनलाई सीसीटिभी फुटेजको आधारमा पहिचान गरि पक्राउ गरिएको आइतबार साँझ प्रहरीले गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । भण्डारी  भोलिपल्ट शनिबार आफ्ना साथीहरु भेट्न सधैझै आफुले पढेको नक्सालस्थित स्कूल पुगेका थिए । 

उनको बयान लिन प्रहरीले सांकेतिक भाषा विज्ञलाई झिकाएको थियो । उनले सम्पूर्ण घटना एक्लै घटाएको स्वीकार गरेको, तर अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले बताएका छन ।

जन्मजात बोल्न नसक्ने भण्डारीलाई जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार काँडाघारी क्षेत्रबाट पक्राउ गरेको थियो । घटना भएको दिन बोकेको झोला र त्यसभित्र घटनामा प्रयोग भएको खुकरीसहित नियन्त्रणमा लिइएको प्रहरीले पत्रकार सम्मेलन मार्फत जनाएको छ । जिल्ला प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयले संयुक्त पत्रकार सम्मेलन गरेर आइतबार साँझ अभियुक्त भण्डारीलाई सार्वजनिक गरेको हो ।

आरोपितलाई एसपी कुमोध ढुंगेल र डिएसपी अंगुरी जिसी नेतृत्वको टोलीले अनुसन्धापछि पक्राउ गरेको अनुसन्धान समितिका संयोजक एसएसपी सोमेन्द्रसिंह राठौरले  बताए । मध्यराति उनी काँडाघारीस्थित एउटा घरको पर्खालमा चढेको दृश्यमा देखिएको छ । त्यसबारे सञ्जयले प्रहरीसँग भनेका छन्– ‘कुकुर झम्टेपछि अपरिचित व्यक्तिको घरको पर्खालमा चढेको हुँ ।’  

आफूलाई ठक्कर दिने मोटरसाइकल चालक काम गर्ने सः मिल नक्साल पढ्न जाँदा र आउँदा उनले पहिचान गरेका थिए । पढ्न जाँदा र आउँदा उनी त्यहि बाटोबाट पैदल ओहोर दोहोर गर्थे । बाटो हिँड्दा ‘वाच’ गरेर उनले हत्या योजना बनाएको प्रहरीले गरेको अनुसन्धानबाट थाहा भएको छ ।

त्यसदिन उनी चाबहिलमा भएको दुर्घटनाबारे ‘एकपटक कुरा गर्छु, नभए खुकुरीले हान्छु’ भनेर काँडाघारीबाट गैह्रीगाउँमा आएका हुन् । उपचार खर्च माग्न उनले नबिनसँग कुरा गर्न खोजेको हुनसक्ने अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

यस्तो छ, हत्याको कारण

प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेअनुसार भण्डारीको निशानामा सःमिलमा बस्ने नवीन भन्ने विशाल राई थिए । केही पहिले राईले चलाएको मोटरसाइकलले भण्डारीलाई ठक्कर दिएको थियो । त्यस क्रममा राईले नै भण्डारीमाथि कुटपिट गरेका थिए । त्यसको प्रतिशोधमा आफूले यो घटना घटाएको भण्डारीले बयानमा बताएका छन् ।

भण्डारी काँडाघारीस्थित दिदी भिनाजुसँग बस्थे । आउजाउ गर्ने क्रममा विशाल सःमिलको घर टहरोमा राईलाई देखेका थिए । घटना भएको दिन पनि उनी राईलाई भेटेर कुराकानी गर्ने, निहुँ खोजे आक्रमण गर्ने भनेर काँडाघारीबाट आएका थिए ।

बेलुकीको समयमा सःमिलमा आइपुगेका उनी पछाडि पट्टीको बन्द गेटबाट चढेर राईको कोठामा पुगेका थिए । केहीबेरमा आएका राईले किन आएको भनेर कुटपिट गरेपछि आफूले खुकुरीले टाउकोमा प्रहार गरेको भणडरीले स्वीकार गरेको अनुसन्धानमा संलग्न प्रहरीकोे भनाई छ ।

379338613_621803210136682_345011966873746863_n

त्यसक्रममा आफूलाई देखेको भनेर अरुलाई आक्रमण गरे । उनले सुरुमा सुभद्रा भुजेल, त्यसपछि पूर्णबहादुर भुजेल र अम्बिकालाई टाउकोमै खुकुरी प्रहार गरेका थिए । ‘विशाल राईलाई रिसइबीको कारण प्रतिशोध साँधी हत्या गरेको भएता पनि अन्य तीन जनालाई घटना देखेका कारण सार्वजनिक गर्छन् भन्ने डरले हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आयो’, एक प्रहरी अधिकारीले भने ।

आइतबार भने प्रहरीले खोजिरहेको हुनसक्छ भनेर सिन्धुपाल्चोक गएर लुक्ने सोचका साथ हिँडेका थिए । हुलिया मिलेपछि उनलाई नियन्त्रणमा लिएको र उनको साथबाट घटनामा प्रयोग भएको हतियार समेत बरामद भएको थियो । 

यस कारण रिसाएका थिए भण्डारी

चाबहिल चोकमा गत जेठ महिनामा एकजना अपरिचित युवकको मोटरसाइकलले सिन्धुपाल्चोकका सञ्जय भण्डारीलाई ठक्कर दिएको थियो । ठक्कर दिने युवक थिए, धनकुटा भिरगाउँ गाउँपालिका–२ घर भएर गैह्रीगाउँस्थित दिव्या सःमिलमा काम गर्ने १९ वर्षीय नविन राई ।

सो ठक्करबाट शुरु भएको ‘विवाद’ र ‘रिसिबी’का कारण नविन र उनीसँगै दिव्या सः मिलमा बस्ने दोलखाका कुमार भुजेलको ३ जनाको परिवारको विभत्स हत्या भएको छ ।

सञ्जयले हत्यापछि सः मिलको गेट बाहिर बत्ति बलेको थाहा पाएर मिलको पछाडीको बाटोबाट हाम्फालेर भागेको बयान दिएका छन् ।

साँझ ९ बजेतिर काठ मिलको पछाडिबाट चढेर भित्र गएको र त्यहाँ नविनले आफुलाई थप्पडले हिर्काएको सञ्जयले बयान दिएका छन् । प्रहरीसँग उनले भनेका छन्–‘भित्र गएर सोफामा बसेको थिएँ, नविन आएर मलाई थप्पड हानेपछि रिस थाम्न सकिनँ ।’

जेठमा भएको दुर्घटनाबारे कुरा गर्ने र उपचार खर्च लिने भन्दै काठ मिलमा गएका अरोपितले दिदि–भिनाजुको घरबाट नै खुकुरी लिएर गएको थाहा भएको छ । ‘निहुँ खोजेमा छप्काउने भनेर सञ्जयले झोलामा खुकुरी बोकेर गएको देखिन्छ’ एसएसपी राठौर भन्छन्– ‘घटनामा प्रयोग गरिएको खुकुरी हामीले बरामद गरेका छौं ।’

अनुसन्धान अधिकृतहरुले किन चार जनालाई हत्या गरेको भन्ने जिज्ञासामा आरोपितले भनेका छन्–‘मलाई मिडियामा देखाउँछन भन्ने लाग्यो अनि, अगाडि आएका सवैलाई खुकुरीले हानेँ ।’ सः मिलभित्र कोठाको सोफामा बसेका सञ्जयले सबैभन्दा पहिला नविनको हत्या गरेका थिए ।

रिहा भए दीपेन्द्र राई 

तीनकुने चार जनाको सामूहिक हत्याकाण्डको अनुसन्धानका क्रममा प्रहरीले शनिबार पक्राउ गरेको दीपेन्द्र राई रिहा भएका छन् ।उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरका अनुसार उनलाई आफन्तको जिम्मामा छाडिएको हो ।

घटनापछि दीपेन्द्र राई कपडा र जुत्तामा रगत लागेको अवस्थामा प्रहरी कार्यालयमा नै पुगेका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । दीपेन्द्रको संलग्नता नदेखिएकाले उनलाई छाडिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी राठौरले जानकारी दिए ।