माहे आइल्याण्ड, सेसेल्सः अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अफ्रिका च्याप्टरको साहित्यिक प्रकाशन अफ्रिका महादेशीय नेपाली श्रष्टाहरुको सिर्जनाको सङ्गालो ‘किलिमन्जारो’का को अफ्रिका विमोचन तथा पुस्तक परिचर्चा पूर्वी अफ्रिकी मुलुक सेसेल्सको राजधानी माहे आइल्याण्ड, भिक्टोरियामा सम्पन्न भएको छ । 

नेपाली नारीहरुको साँस्कृतिक पर्व हरितालिका तीज २०८० को अवसर पारेर यहि भदौ ३१ गते तदनुसार १७ सेप्टेम्बरका दिन आयोजना गरिएको उक्त कार्यक्रम गैरआवासीय नेपाली संघ सेसेल्सको आयोजना तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अफ्रिका च्याप्टरको सहकार्यमा भएको थियो । 

एनआरएनए सेसेल्सका अध्यक्ष मनोज बिकको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि एनआरएनए आइसीसी महिला उपाध्यक्ष एस्मिन बेगम, बिशेष अतिथि महिला सचिव राधिका गुरुङ तथा अतिथिहरुमा युवा उपाध्यक्ष रोशन थापा र अफ्रिका क्षेत्रीय उप–संयोजक रामप्रसाद पन्तले भर्चुअल माध्यम जुम मार्फत आ–आफ्नो उपस्थिति जनाउदै शुभकामना मन्तव्य दिएका थिए । त्यस्तै प्रत्यक्ष उपस्थितिका अतिथिहरुमा अनेसास अफ्रिका च्याप्टरका अध्यक्ष तथा विमोचित पुस्तक ‘किलिमन्जारो’ का प्रधानसम्पादक गणेश खड्का , अनेसास अफ्रिका च्याप्टर कार्यसमिति सदस्य तथा एनआरएनए सेसेल्स संरक्षक रामचन्द्र राई, एनआरएनए सेसेल्स प्रमुख सल्लाहकार दुर्गा बहादुर थापा साथै सेसेल्सका समाजसेवी तथा नेपाल जानकार मिस्टर लुइसेल कन्स्ट्यान्स थिए ।

380085237_817566739847377_2432179910228886923_n

तीजको साँस्कृतिक महत्व र पुस्तकको साहित्यिक गरिमालाई एकै मन्चमा प्रस्तुत गर्न र बुझ्न बुझाउन पाउने कार्यक्रमको आयोजना गर्न पाउँदा आफुलाई हर्ष लागेको एनआरएनए सेसेल्स अध्यक्ष मनोज बिकले बताए । विमोचित पुस्तक परिचर्चा तथा आफ्नो मनतब्यको क्रममा बोल्दै अनेसास अफ्रिका च्याप्टर अध्यक्ष गणेश खड्काले उक्त पुस्तकको नेपाल विमोचन २०७९ मङ्सिरमै नेपाल प्रज्ञाप्रतिष्ठानमा भएको तर पुस्तकमा अफ्रिका महादेशीय नेपाली श्रष्टाहरुका सिर्जना समेटिएकोले पनि यसको अफ्रिका विमोचन गर्नु आवश्यकता महशुस भएर यसो गरिएको खुलाए ।

शुभकामना मनतव्यकै क्रममा सेसेल्सका समाजसेवी तथा नेपाल जानकार लुइसेल कन्स्ट्यान्सले नेपालीहरु जति मिहिनेती र इमान्दार हुन्छन् त्यतिकै सिर्जनशील पनि पाएको बताए । उनले यस्तो सिर्जनात्मक कार्यक्रममा आफुलाई आमन्त्रण गरेकोमा नेपाली समुदायप्रती कृतज्ञता प्रकट गरे ।

सेसेल्सको राजधानी माहे आइल्याण्ड, भिक्टोरियास्थित सेसेल्स ट्रेड कर्पोरेसनको सभाहलमा भएको उक्त कार्यक्रम एनआरएनए सेसेल्स सचिवद्वय एकराज सुवेदी र ठगेन्द्र मगरले संयुक्त रुपमा सञ्चालन गरेका थिए । कार्यक्रममा करिब तीन सय जना आप्रवासी नेपाली महिला तथा पुरुषहरूको सहभागिता रहेको थियो । मन्चमा आसिन अतिथिहरुले संयुक्त रुपमा पुस्तक विमोचन गरिसकेपछि तीज विशेष साँस्कृतिक कार्यक्रम तथा तीजको दर खाने कार्यक्रम अपरान्ह एक बजे शुरु भएर बेलुका पाँच बजेसम्म चलेको थियो ।