काठमाडौंः गत शुक्रबार राति काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिल एन्ड काष्ठ उद्योगमा जुन घटना भयो, त्यो घटना पक्कै पनि सामान्य होइन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मुस्किलले दुई किलोमिटर, नयाँ बानेश्वर प्रहरी वृत्त, सशस्त्र प्रहरीको सिनामंगलस्थित उद्धार गण, कोटेश्वर प्रहरी विभागको नजिकै रहेको दिव्य सःमिलमा भएको चार–चार जनाको सामूहिक हत्याकाण्ड मुलुककै शान्ति सुरक्षामाथि प्रश्नचिह्न खडा गर्न पर्याप्त थियो । शान्ति सुरक्षा कायम गर्ने प्रमुख जिम्मेवारी पाएको गृह मन्त्रालय र प्रहरी प्रशासनलाई त यो घटना आफ्नो इज्जत र प्रतिष्ठासँगै जोडिएको थियो ।

त्यसो त लामो समयसम्म शान्त काठमाडौं उपत्यकामा दुई–तीन महिनादेखि खुलेआम गुन्डागर्दी, ग्याङ्फाइट, बलात्कारजस्ता घटनामा भएको वृद्धिले राजधानीवासीकै मथिंगल बिगारिरहेको थियो । यस्तो बेला भएको यो दर्दनाक घटनाले राजधानीवासीमा ‘हामीहरू सुरक्षित छैनौं है’ भन्ने भावना जबर्जस्त विकास हुनु नौलो कुरा पनि भएन ।

तीनकुने सामूहिक हत्याकाण्डको सकेसम्म चाँडो सफल अनुसन्धान गरेर उपत्यकावासीको मनबाट भय र त्रास हटाउनु प्रहरीको पहिलो कर्तव्य थियो नै, साथसाथै आगामी दिनमा यस्ता घटना हुनेछैनन् भन्ने विश्वास पनि दिलाउनु थियो ।

निश्चय नै, तीनकुने घटना भएको ३६ घण्टा नबित्दै प्रहरीले घटनाका अभियुक्तलाई पक्राउ गरेर तथ्यसहितको प्रमाण बेलिबिस्तार रूपमा हामीसमक्ष प्रस्तुत गरिसकेको छ ।

तीनकुने सामूहिक हत्याकाण्डमा तथ्यसहित जो व्यक्ति पक्राउ परेका छन्, ती व्यक्ति हुन् सिन्धुपाल्चोक बाह्रबिसेका २३ वर्षीय सञ्जय भण्डारी । सो घटनामा उनको संलग्नतालाई लिएर प्रहरी आफै तीनछक्क परेको छ । कारण, उनी जन्मजात बोल्न सक्दैनन् । कसैको हत्या गरेपछि कस्तो कानुनी कारबाही झेल्नुपर्छ भन्ने सामान्य ज्ञान पनि उनमा छैन । हत्कडीसहित सञ्चारकर्मीसमक्ष उभिँदा उनले सांकेतिक रूपमा प्रहरीलाई ‘म कतिखेर घर जान पाउँछु, मलाई किन मिडियासामु उभ्याएको ?, मेरो तस्बिर नलिनु है’जस्ता प्रश्न र आग्रह गरेका थिए । यस्तो प्रश्न र आग्रह उनले आफूलाई सञ्चारकर्मीसमक्ष उभ्याउनुअघि पनि पटकपटक गरेका थिए ।

अनुसन्धानमा खटिएका प्रहरीको भनाइअनुसार चार–चार जनाको हत्या गरे पनि उनमा त्यसप्रति कुनै विष्मय देखिँदैन । बरु, आफूमाथि ‘अन्याय’ गर्ने व्यक्तिको हत्या गरेर ‘बदला’ लिएकामा उनमा गर्व देखिन्छ । भलै, अन्य तीन जना व्यक्तिले उनको बदलाभावमा ज्यान गुमाए ।

त्यसो त, तीनकुने सामूहिक हत्याकाण्ड मच्चाउने सूचीको पहिलो नम्बरमा भण्डारी थिएनन् । घटना’bout प्रहरीलाई जानकारी गराउने दीपेन्द्र राई नै घटनाको प्रमुख अभियुक्त भएको हुनसक्ने सूचना प्रहरी आफैले प्रवाह गरेको थियो । सो घटनामा उनको संलग्नता छैन भन्ने विश्वास गर्न पनि प्रहरीलाई झन्डै ३६ घण्टा लाग्यो । उनलाई प्रहरीले हिरासतमुक्त गरिसकेको छ ।

यो हत्या प्रकरणको अनुसन्धान गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिको सदस्यमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक हरि खतिवडा, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास खड्का, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक सुरक्षा केसी तथा प्रहरी वृत्त बानेश्वरका प्रहरी निरीक्षक वीरेन्द्र केसी रहेका थिए । टोलीलाई विविध विधि र प्रविधिको अधिकतम् प्रयोग गरी घटनाको सूक्ष्म तवरले अनुसन्धान गरी यथाशीघ्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको थियो ।

खासगरी, राठौर नेतृत्वको समितिले सुरुवातमा दीपेन्द्र राईमाथि केन्द्रित रहेर अनुसन्धान गरिरहेको थियो । समितिले उनलाई केन्द्रमा राखेर अनुसन्धान गर्नुको प्रमुख कारण थियो, घटनास्थलनजिकै रहेको सीसीटिभीमा कैद भएका दृश्यमा दीपेन्द्र गेटवरिपरि लामो समय यताउता गरिरहेको देखिनु, कपडा र जुत्तामा रगत देखिनु, मादक पदार्थको अत्याधिक सेवन । सो समितिले अन्य पाटा पनि केलाइरहेको थियो । यता, आफ्नो जिल्लाभित्रको क्षेत्र भएकाले काठमाडौं प्रहरी परिसरले पनि सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको थियो ।

दीपेन्द्रले मदिरा यति धेरै पिएका थिए कि शनिबार अपराह्नसम्म पनि उनी पूर्ण चेतमा थिएनन् । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतको भनाइ, ‘उनी जब होसमा आउँथे, डाको छाडेर रुन्थे ।’

शनिबार दिउँसो मदिराले छाडेपछि उनीसँग प्रहरीले धेरै कोणबाट गम्भीरतापूर्वक सोधपुछ गरेको थियो । तर, उनले हत्यामा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरिरहे । एकातिर आफूले हत्या नगरेको उनले जिकिर गरिरहेका थिए भने अर्काेतर्फ प्रहरीले उनको संलग्नता’ यथेष्ट प्रमाण पनि जुटाउन सकिरहेको थिएन ।

हत्यामा ज्यान गुमाएकाका आफन्तहरू आइतबार बिहानै दीपेन्द्र राईविरुद्ध किटानी जाहेरी लिएर टेकुस्थित काठमाडौं प्रहरी परिसर पुगेपछि प्रहरी थप दबाबमा प¥यो । दीपेन्द्र राईको संलग्नता’bout पुष्टि हुने प्रमाण जुटिनसकेको भन्दै प्रहरीले किटानी जाहेरी दर्ता भने गरेको थिएन । तर, प्रहरीले दीपेन्द्रलाई अभद्र व्यवहारमा थुना म्याद लिएर अनुसन्धान अगाडि बढाउने तयारी भने गरिरहेको थियो ।

मदिराको नशा हटेपछि दीपेन्द्रले प्रहरी बयानमा भने, ‘मैले शुक्रबार दिउँसोदेखि नै मदिरा सेवन गरेको थिएँ, राति घर पुगेपछि बारम्बार गेट खोल्न फोन गरें, फोन नउठेपछि गेटमा बेस्सरी आवाज आउने गरी हिर्काएँ तर कसैले गेट खोलेनन्, त्यसपछि गेट नाघेर भित्र जाँदा जताततै शव देखें, त्यसपछि आत्तिएर म प्रहरीलाई खबर गर्न पुगेको हुँ ।’

सो घटनामा दोलखा घर भई सोही काठमिलमा गेटपालेको काम गर्ने ५६ वर्षीय कुमार भुजेल, उनकी श्रीमती ५२ वर्षीया अम्बिका भुजेल, आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङको बेलबारी स्थायी घर भएका १९ वर्षीय नवीन भनिने विशाल राई मारिएका थिए । कुमार, अम्बिका र शुभद्रा एकै परिवारका हुन् भने सञ्जय दीपेन्द्रका काकाका छोरा हुन् । दीपेन्द्रका बाबु पहिला सोही काठमिलमा काम गर्थे । दीपेन्द्रका बाबुले एक वर्षअघि नै त्यहाँबाट जागिर छाडे पनि दीपेन्द्र भने त्यहीँ बस्दै आएका थिए । दीपेन्द्र विदेशमा कामदार पठाउने काम गर्दै आएका थिए । विशाल भने दुई महिनाअघि त्यहाँ बस्न आएका थिए । दीपेन्द्रले बारम्बार फोन गरेका व्यक्ति भने तिनै विशाल थिए ।

घटनामा उनको संलग्नता’ सोधिएको प्रश्नमा उनको भनाइ हुन्थ्यो, ‘मेरो आफ्नै भाइको हत्या भएको छ, तपाईंहरू कसरी यस्तो सोच्न सक्नुहुन्छ ?’

दीपेन्द्रले इन्कारी बयान दिइरहँदा आइतबार बिहान काठमाडौं परिसरको टोलीले पेप्सिकोलाबाट एक युवकलाई नियन्त्रणमा लियो । सीसीटिभी फुटेजका आधारमा पक्राउ परेका ती व्यक्ति अरू कोही नभई तिनै सञ्जय भण्डारी थिए । सीसीटिभी फुटेजमा ती व्यक्ति मध्यरातमा एक्लै सडकमा हिँडेको देखिन्छ । उनले झोलासमेत बोकेका छन् । उनलाई नियन्त्रणमा लिनुअघि नै काठमाडौं प्रहरी परिसरले निष्कर्ष निकालिसकेको थियो– हत्या यिनै व्यक्तिले गरेका हुन् ।

वास्तवमा घटनास्थलबाट भाग्दै उनी कहाँसम्म पैदल हिँडेका थिए भन्ने सम्पूर्ण विवरण प्रहरीले निकालेको थियो । उनले नै हत्या गरेको निष्कर्ष निकालेको काठमाडौं परिसर टोलीले उनलाई सिन्धुपाल्चोक भाग्न लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । उनको साथबाट घटनामा प्रयोग भएको हतियार पनि बरामद भएको थियो । बरामद भएको खुकुरीबाट रगत पूर्ण रूपमा पखालिएको समेत थिएन । घटना गराउँदादेखि सञ्चारकर्मीका सामु उभ्याउँदासमेत उनी एउटै कपडामा थिए ।

उनलाई नियन्त्रणमा लिएपछि प्रहरीले केरकार गर्न थाल्दा उनी जन्मजात बोल्न नसक्ने अवस्थाको व्यक्ति रहेको प्रहरीले थाहा पाएको थियो । त्यसपछि प्रहरीले लेख्दै प्रश्न गरेको थियो । जवाफमा उनले चारै जनाको हत्या आफूले गरेको, आफूले १२ कक्षा पास गरेको लेखेरै दिएका थिए ।

चार जनाको हत्या आफूले गरेको लेखिदिएपछि प्रहरीले घटनाको कारण’bout थप पत्ता लगाउन दोभाषेको सहयोग लिएको थियो । ‘उनले कसरी चार जनाको हत्या गरेका थिए भन्ने पूरा दृश्य भनिदिए दोभाषेमार्फत्,’ अनुसन्धान समितिका संयोजकसमेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक राठौरले भने ।

राठौरका अनुसार सञ्जयले नवीनले चलाएको मोटरसाइकलले गत ३० वैशाखमा आफूलाई चाबहिलमा ठक्कर दिएको र उल्टै कुटपिट गरेको बताएका छन् । उनले आफू नक्सालमा पढ्न जानेक्रममा नवीनलाई देखेपछि शुक्रबार राति साढे ८ बजेतिर सो काठमिलमा पछाडिको गेटबाट उनीसँग कुरा गर्ने र निहुँ खोजे हत्या गर्ने नियतसहित भित्र छिरेको बताएका छन् ।

‘म पुग्दा नवीन बस्ने ठाउँमा कोही पनि थिएनन्, खाना खान गएका रहेछन्, नवीन पछि आएर मलाई हप्काउँदै कुटपिट गरे, त्यसपछि नजिकै रहेको खुकुरीले उनलाई हानेको हुँ, त्यसपछि अरूले थाहा पाएकाले एकपछि अर्को गरी मारेको हुँ,’ सञ्जयले भनेका छन् ।

प्रहरीका अनुसार सञ्जय काँडाघारीस्थित दिदी भिनाजुको घरमा बस्दै आएका थिए । विशालसँग बदला लिन उनी शुक्रबार दिउँसैदेखि खुकुरीसहितको झोला बोकेर निस्किएको अनुसन्धानका क्रममा खुलेको छ ।

प्रहरीका अनुसार आफूमाथि भएको घटनाको प्रतिशोधका कारण भण्डारीले बाटो आवतजावत गर्ने क्रममा सःमिल क्षेत्रमा लामो समयदेखि निगरानीसमेत गरेका थिए । उनले विशाललाई घटना भएको सःमिलको टहरोमा पटकपटक देखेपछि त्यहीँ बदला लिने योजना बनाएका थिए ।

एसएसपी राठौरका अनुसार, सञ्जय विशालसँग यति रिसाएका थिए कि शुक्रबारको रात नै बदला लिई छाड्ने उनको योजना थियो । ‘विशाललाई आजै भेट्छु, निहुँ खोज्यो भने छप्काइदिन्छु भन्दै उनी काँडाघारीस्थित दिदीभिनाजुको कोठाबाट खुकुरी र झोलासहित निस्केका रहेछन्,’ एसएसपी राठौरले भने ।

उनका अनुसार सञ्जय शुक्रबार राति सःमिलको पछाडितर्फ बन्द गेटबाट माथि चढी विशाल राई बस्ने कोठामा पुगेका थिए । तर, विशाललाई नदेखेपछि उनी सोफामै बसिरहेका थिए ।

‘आफ्नो कोठाको सोफामा बसिरहेको देखेपछि विशालले सोफामा किन बसेको भनी सुरुमा सञ्जयमाथि कुटपिट गरे,’ एसएसपी राठौरले भने, ‘त्यसपछि सञ्जयले रिस थाम्न सकेनन्, उनले खुकुरीले टाउकोमा पटकपटक प्रहार गरेर विशालको हत्या गरे ।’

त्यसपछि विशालको हत्या गर्ने क्रममा शुभद्रा भुजेलले कराएको जस्तो लागेपछि उनले आफूलाई चिनेर घटना बाहिर आउने डरले त्यही खुकुरीले शुभद्राको टाउकोमा हानेर हत्या गरेको बयान पनि सञ्जयले प्रहरीमा दिएका छन् ।

त्यहीबेला पूर्णबहादुर भुजेल पनि घटनास्थलमा पुगेको र फोन गर्न लागेको देखेपछि उनलाई पनि टाउकोमै पटकपटक खुकुरी प्रहार गरी हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ । त्यसपछि सञ्जय भण्डारी पूर्णबहादुरकी श्रीमती अम्बिका भुजेलमाथि जाइलागेका थिए । उनको पनि टाउकोमा नै पटकपटक खुकुरी प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।

हत्यापछि सञ्जयले कुमार भुजेलको शव घिसार्दै त्यही टहराको कुनाको ट्वाइलेटको ढोकाछेउमा, अम्बिकाको शव पानीको कलछेउ र शुभद्राको शव काठ गोदामछेउमा घिसार्दै लगेर फालेर भागेका थिए ।

अनुसन्धान समितिका संयोजक राठौरले चारै जनाको हत्यापछि पनि सञ्जय केही समय भित्रै बसेको र पानीले आफूलाई धोई पखाली गरेको बताएका छन् । राठौरले दीपेन्द्र गेटमा कुरेर बस्दा पनि सञ्जय भित्रै रहेको बताए ।

‘बाहिर मोटरसाइकलको उज्यालो देखेपछि र नवीनको मोबाइलमा लगातार फोन बजेपछि सञ्जय त्यहाँबाट भागेको देखिन्छ,’ एसएसपी राठौरले भने ।

अभियुक्त सञ्जयले नवीन भनिने विशालले कहिल्यै मोटरसाइकल नकुदाएको र आफूले पनि कसैलाई ठक्कर नदिएको बताएका थिए ।

खासमा यस घटनाको अनुसन्धानका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालयले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राठौरको संयोजकत्वमा परिसरसहित विभिन्न कार्यालयमा प्रहरी अधिकृत सम्मिलत अनुसन्धान समिति गठन गरे पनि अभियुक्त सञ्जयलाई पक्राउ गरेको भने काठमाडौैं परिसरको टोलीले हो । काठमाडौं प्रहरी परिसरका प्रमुख भूपेन्द्र खत्री अहिले दक्षिण कोरियामा आयोजना भइरहेको एक कार्यक्रममा छन् । उनी प्रहरी महानिरीक्षक वसन्त कुँवरसँगै कार्यक्रममा गएका हुन् । तर खत्रीको अनुपस्थितिमा काठमाडौं प्रहरी परिसरले स्याबासी पाउने काम गरेको छ ।

काठमाडौं प्रहरी परिसरका एसपी कुमोध ढुंगेल र डीएसपी अंगुर जीसीसहितको टोलीले स्याबासी पाउने काम गरेका हुन् । नेपाल प्रहरीमा यी दुवै प्रहरी अधिकृत जुनसुकै घटना अनुसन्धानमा पनि काबिल मानिँदै आएका छन् । विशेषगरी उनीहरू गम्भीर किसिमका अपराधको अनुसन्धानमा पोख्त मानिन्छन् । यी दुवै प्रहरी अधिकृत केही समयअघि मात्रै काठमाडौं प्रहरी परिसरमा आएका हुन् ।

अनुसन्धान समितिका संयोजक राठौरले घटना’bout जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सुरुमै काठमाडौं प्रहरी परिसरका एसपी कुमोध ढुंगेल र डीएसपी अंगुर जीसीको नामै लिएर उनीहरूको तारिफ गरेका थिए ।

‘कार्य विभाजन गरेर अनुसन्धान भइरहेको थियो, त्यसअनुसार काठमाडौं प्रहरी परिसरका एसपी कुमोध ढुंगेल र डीएसपी अंगुर जीसीको मिहेनतले आज अभियुक्त पक्राउ पर्न सफल भएका छौं,’ एसएसपी राठौरले भने ।यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।