काठमाडौंः  काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरमा मङ्गलबार दिउँसो दुई तोला बराबरको सुनको लकेटसहितको सिक्री जबरजस्ती लुटपाट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मङ्गलबार दिउँसो ५ः१० बजेको समयमा अप्सरा श्रेष्ठको घाँटीमा लगाइ राखेको अन्दाजी दुई तोला बराबरको सुनको लकेटसहितको सिक्री जबरजस्ती लुटपाट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार पक्राउ पर्नेमा काठमाडौँका ४४ वर्षीय सुरज गुरुङ, पर्सा घर भई क्षेत्रपार्टी बस्ने ४८ वर्षीय अनवर हुसेन अन्सारी, भारत घर भई काठमाडौँ बस्ने ४७ वर्षीय शक्ति भौमिक र भारत घर भई काठमाडौँ प्यूखाचोक बस्ने ३० वर्षीय सचिन गाड्वे रहेका छन् ।

प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरी लगेको सुन तथा प्रमाण लाग्ने अन्य दसिका सामानहरूसहित उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त कालीमाटी पठाइएको जनाएको छ ।