मिलन कार्की

कोही यही लोकमा हुनुहुन्छ,
कोही परलोकमा हुनुहुन्छ ।
गुरुलाई कुनै सम्मान नै दिन सकिएन,
त्यसैले न्याय खोज्दै गुरु आज सडकमा हुनुहुन्छ ।।

“X”मानेर नाफा पत्तालगाउन सक्ने क्षमताका हाम्रा गुरु,
“Y”मानेर नोक्सान पत्तागाउन सक्ने क्षमताका हाम्रा गुरु।
मेहनतको पारिश्रमिक पाउने सुत्र पत्ता नलागेपछी,
त्यसैले न्याय खोज्दै गुरु आज सडकमा हुनुहुन्छ ।।

कोही चन्द्रामाको बारेमा अनुसन्धान गरिरहेका छन्,
कोही मङ्लग्रहको बारेमा अनुसन्धान गरिरहेका छन् ।
तर, गुरुहरुको समस्याको अनुसन्धान गर्ने कोही भएन,
त्यसैले न्याय खोज्दै गुरु आज सडकमा हुनुहुन्छ ।।

कोही चेलाहरु, आफ्नै विमानमा उड्ने भए,
कोही आफ्नै गाडीमा गुड्ने भए ।
तर, गुरु एकजोर कपडा फेर्नसमेत पोसाक भत्ताको पर्खाइमा हुनुहुन्छ,
त्यसैले न्याय खोज्दै गुरु आज सडकमा हुनुहुन्छ ।।

गुरुको शिक्षाले नै कोही वकालत गर्ने वकील भए,
कोही न्याय दिने न्यायाधीश भए ।
तर, गुरु अहिले आफैँ अन्यायमा हुनुहुन्छ,
त्यसैले न्याय खोज्दै गुरु आज सडकमा हुनुहुन्छ ।।

हतियार भन्दा कलम ठूलो हो भन्दै पाठ पढाउनु भयो,
तर, हतियार चलाउनेनै देशको सर्वोच्च पदमा पुगे ।
कलम चलाउने गुरुहरु अहिले जहाँको त्यहीँ हुनुहुन्छ,
त्यसैले न्याय खोज्दै गुरु आज सडकमा हुनुहुन्छ ।।

बारुदको गोला बोकेर हिड्नेले बनाएको कानुन,
किताबको झोला बोकेर हिड्नेले मान्नु पर्ने भएपछि ।
मेरो गुरु अहिले ठूलो अपमानमा हुनुहुन्छ,
त्यसैले न्याय खोज्दै गुरु आज सडकमा हुनुहुन्छ ।।

अपराध र गुण्डागर्दी गर्नेहरुनै आज मालिक भए,
शिक्षाको ज्योति छर्ने गुरुहरु बेलैमा शालिक भए ।
अहिले तिनै हत्याराहरु धमाधम मन्त्री हुँदैछन् ।
त्यसैले न्याय खोज्दै गुरु आज सडकमा हुनुहुन्छ ।।

इटहरी, सुनसरी