ओखलढुङ्गाः  खोटाङको ऐसेलुखर्क गाउँपालिकामा काठको मुढाले थिचेको अबस्थामा एक पुरुषको शब फेला परेको छ । मृत फेला पर्नेमा खोटाङको रावाबेशी गाउँपालिका वडा नं ४ डुम्रेधारापानीका सुमो चालक नवराज आचार्य रहेका छन् ।

विहिबार विहान ऐसेलुखर्क गाउँपालिका वडा नं। ३ स्थित वडा कार्यालय जाने त्रिभुवन माविको गेट नजिकै आचार्य मृत फेला परेका हुन् । आचार्यको शब बाटाको डिलमुनी खसेर घोप्टो परेको, मुन्टो भाँचिएको र दुइृ हात दुईओटा मुढोले किचेको अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कका प्रहरी निरिक्षक हरि बरालले जानकारी दिए ।

मृतक आचार्य डिलमा राखिएको मुढोमा अल्झिएर मुढोसँगै डिलमुनी खसेको अनुमान गरिएको छ । आचार्य ऐसेलुखर्कबाट अन्यत्र सुमो गाडी चलाउदै आएका थिए । मृतक आचार्यको साथबाट उनले चलाउने गाडीको चाबी र उनको मोबाईल भेटिएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको पनि जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।