फिदिमः प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी नदीमा पानीजहाज चलाउने प्रक्रिया अघि बढिसकेको बताएका छन् ।
धनकुटाको भेडेटार, इलामको रवि तथा पाँचथरको राँके सडक शिलान्यास तथा पाँचथरको मिक्लाजुङ गाउँपालिकामा केन्द्रीय विद्युत् प्रशारण लाइन उद्घाटन कार्यक्रम उनले यस्तो बताएका हुन् । ‘पानीजहाज चलाउने कुरा अब यथार्थमा परिणत हुन्छ’, ओलीले भने, ‘यो कुनै मजाकको विषय होइन ।’
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई सुगम र उज्यालो बनाउन दैनिक रूपमा काम हुँदै आएको बताए ।
सबै जिल्लालाई सडक सञ्जालले जोडिसकेपछि गाउँगाउँसम्म सुगम सडक बनाउने अभियान अघि बढाइने उनले बताए । निरक्षरताको अन्त्य गर्ने कार्यक्रम विस्तार भइरहेको छ भन्दै प्रधानमन्त्री ओलीले फुस, खर र परालको छानो रहेका घरमा जस्तापाता उपलब्ध गराइने कार्यक्रम अघि बढेको पनि बताए ।
मुलुकमा भूकम्पपछिको पुनःनिर्माण ४५ प्रतिशत पूरा भएको जानकारी दिँदै पुरातात्विक पुनःनिर्माणसमेत द्रुत गतिमा हुने बताए ।
विद्युत् निर्यात सम्झौता भइसकेका कारण विद्युत् उत्पादनमा बढोत्तरी हुने बताउँदै प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण र सघन उत्पादनमा जुट्न स्थानीय बासिन्दालाई आग्रह गरे । विद्युत् प्रशारणलाइन उद्घाटनपछि पाँचथरको मिक्लाजुङ गाउँपालिकामा केन्द्रीय प्रशारण लाइनको बिजुली पुगेको छ ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले प्रदेश सरकारको मेरूदण्डका रूपमा रहेको भेडेटार–रवि–राँके सडक कालोपत्रे हुने सुनिश्चितता भएसँगै प्रदेश नं १ का पहाडी जिल्लाको समृद्धिको ढोका खुलेको बताए ।
भेडेटार–रवि–राँके सडकको मध्यविन्दु रविलाई झापाको दमकसम्म जोड्ने दमक–चिसापानी– रवि सडकको समेत चाँडै शिलान्यास हुने जानकारी दिँदै सरकारले देखाएको सपना पूरा गर्न आफ्नो मन्त्रालय ठोस कार्ययोजना तयार पारेर अघि बढिरहेको उनले बताए । मोरङ, धनकुटा, इलाम र पाँचथरका विभिन्न गाउँपालिका तथा नगरपालिकालाई जोड्ने यो सडक कालोपत्रे भएपछि ४ जिल्लाका बासिन्दाले राहत पाउने भएका छन् ।
भ्याट र पिएससहित ३ अर्ब ६५ करोड ८४ लाख ९५ हजार रुपैयाँको लागतमा १ सय किलोमिटर पक्की सडक बन्ने बताइएको छ । एप्को इन्फ्राटेक प्रालि लखनउ भारतले निर्माण गर्न लागेको सो सडकको कार्यान्वयन सडक विभाग, सडक सुधार तथा विकास आयोजना निर्देशनालय भेटेटार–रवि–राँके सडक आयोजनाले गर्नेछ ।
सो आयोजना गत मङ्सिर ३ गते सम्झौता भएकोमा ३ वर्षभित्र सम्पन्न हुनेछ । सात मिटर चौडा कालोपत्रे र दुवैतर्फ एक–एक मिटर ड्रेनसहित २ लेनको सडक निर्माण हुने ठेकेदार कम्पनीका निर्देशक राजु सिंहले बताए । सडक कालोपत्रेका लागि एक्जिम बैंक अफ इण्डियाले ८७ र नेपाल सरकारले १३ प्रतिशत लगानी गर्ने जनाइएको छ ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले कोशी र मेची जोड्ने सो सडकले दुवै अञ्चलको समृद्धिको ढोका खोल्ने बताए । सो अवसरमा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिम र माङ्सेबुङ गाउँपालिकाका उपाध्यक्ष सुनिता सुब्बाले गाउँपालिकाको विकासका लागि प्रधानमन्त्री ओलीसमक्ष मागपत्र प्रस्तुत गरेका थिए ।