सुनसरीः  सशस्त्र प्रहरी बल नेपाल नं  १ वराह बाहिनी र भारतीय सशस्त्र सीमा बल (एसएसबी) बीच सीमा समन्वय बैठक सम्पन्न भएको छ । वराह बाहिनी मुख्यालय पकली सुनसरी र भारतीय सशस्त्र सीमा बलबीच मोरङको विराटचौकस्थित होटल नेपालिरिकामा बाहिनीस्तरीय सीमा समन्वय बैठक सम्पन्न भएको हो । 

बैठकमा वराह बाहिनी मुख्यालय पकली र फ्रन्टियर हेडक्वाटर सिलिगुरी, सेक्टर हेडक्वाटर पुर्निया, रानीडंगा र गान्तोकबीच बाहिनीस्तरीय सीमा समन्वय बैठक सम्पन्न भएको सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक प्रवक्ता रविनराज कर्णजितले जानकारी दिए । 

बैठकमा वराह बाहिनी मुख्यालयका बाहिनीपति, सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जलीकुमार पोख्रेल र भारतीय सशस्त्र सीमा बल फ्रन्यिर हेडक्वाटर सिलिगुरीका डिआइजी डिबी सोनारको नेतृत्वमा बैठक सम्पन्न भएको वराह बाहिनी मुख्यालयले जनाएको छ । 

बैठकमा सीमा अपराध, सीमामा हुने अवैध गतिविधि नियन्त्रण तथा रोकथाम गर्न दुबै पक्षबीच अपराध नियन्त्रणमा सहकार्य गर्ने छलफल भएको छ । त्यस्तै बैठकमा सीमा क्षेत्रमा कुनै पनि किसिमका अबाञ्छित गतिविधि हुन नदिन, दशगजा अतिक्रमण हुन नदिन, लागुऔषध ओसारपसार नियन्त्रण, मानव ओसारपसार र बेचबिखन नियन्त्रणको विषयमा समेत छलफल भएको प्रवक्ता वरिष्ठ उपरीक्षक रविनराज कर्णजितले बताए। 

समन्वय बैठकमा सीमा सुरक्षामा रहेका नेपाली र भारतीय सीमा सुरक्षा बलले सरोकारवाला निकाय हरुसँग समन्वय गरी सीमा क्षेत्रमा हुने आर्थिक अपराध यिन्त्रणमा समेत सहकार्य गर्ने सहमति भएको मुख्यालयले जनाएको छ । आर्थिक अपराध नियन्त्रण गर्न सूचना आदानप्रदान गर्ने र चाडपर्वलाई लक्षित सीमा क्षेत्रबाट हुने आवतजावतलाई सहज बनाउन हेल्प डेस्क स्थापना प्रभावकारी रुपमा सञ्चालन गर्ने विषयमा छलफल भएको सशस्त्र प्रहरी प्रवक्ता कर्णजितले बताए । 

उक्त बैठकमा सेक्टर हेडक्वाटर पुर्नियाको सेकेण्ड इन कमाण्ड सुरजित पाल, सेक्टर हेडक्वाटर रानीडंगाबाट सेकेण्ड इन कमाण्ड अचिन्त्य मित्र, सेक्टर हेडक्वाटर गान्तोकबाट सेकेण्ड इन कमाण्ड सुनिल कुमार र सेक्टर हेडक्वाटर मातहतका बटालियन कमाण्डरहरुको उपस्थिति रहेको थियो । 

सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रविनराज कर्णजित, वराह बाहिनी मातहतका गणपतिहरु र भारतीय सीमासँग जोडिएका जिल्लाका गुल्मपतिहरुको समन्वयमा असोज २६ गते विराट चौकमा मोरङमा बैठक सम्पन्न भएको वराह बाहिनी पकलीले जनाएको छ । यो खबर आजको गोरखापत्रका प्रकाशित भएको छ ।