इटहरीः  मोरङ प्रहरीले २० वर्षीया एक किशोरीलाई सामूहिक बलात्कार आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका ३ मा असोज २८ गते राती एक किशोरीलाई सामूहित बलात्कार गरेको आरोपमा उनिहरुलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका(११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय बालक रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार तामाङ प्रदेश २ ०४ ००१ ख ००२१ नम्बरको ट्रकका चालक हुन् । १६ वर्षीय बालक अर्को ट्रकमा काम गर्ने सहचालक हुन् ।

उनका अनुसार घटनामा संलग्नहरू ट्रक पार्किङ गरेर खाना खान विराटनगर बसपार्कको होटलमा पुगेको र खाना खाएपछि सिटी सफारी चढेर ट्रक राखेको ठाउँमा उनीहरु फर्किएर आएका थिए । फर्किने क्रममा सफारीमै यात्रा गरिरहेकी युवतीलाई ललाइफकाइ ट्रक पार्किङ गरेको स्थानमा पुर्‍याएर सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनको भनाई छ । ‘पार्किङ गरेर राखेको दुईवटा ट्रक भएको ठाउँमा पुर्‍याएर युवतीमाथि सामूहिक बलात्कार गरेको पाइयो,’दाहालले भने, ‘ पीडित युवती चिच्याएको स्थानीयले थाहा पाएर खबर गरेपछि प्रहरीलाई घटनाको जानकारी भएको हो ।’

घटनास्थलमा मानिस भेला हुन थालेपछि तीनैजना दौडिएर ट्रकभित्र छिरेका थिए । लगत्तै परिचालित प्रहरी टोलीले घटनामा संलग्नलाई पक्राउ गरेको उनले बताए ।

पीडितले दिएको किटानी जाहेरीका आधारमा पक्राउ परेका विरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन सोमबार म्याद थप गरेर अनुसन्धानको थप प्रक्रिया अघि बढाइने जानकारी दाहालले दिए ।