उदयपुरः नेपालमा २०४८ सालमा वन तथा वातावरण मन्त्रालय र ०४९ सालमा वातावरण संरक्षण परिषद्को स्थापना भयो । नेपाल सरकारले राष्ट्रिय वातावरणीय प्रभाव मूल्याङ्कन निर्देशिका, ०५० मा जारी गर्‍यो ।

सरकारले ०५३ सालमा वातावरण संरक्षण ऐन र ०५४ सालमा वातावरण संरक्षण नियमावली लागू गर्‍यो । मौलिक हक अन्तर्गत नै धारा ३७ मा आवासको हकको व्यवस्था वर्तमान नेपालको संविधानले गरेको छ । सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने उल्लेख छ ।

तर, वैकल्पिक व्यवस्था नहुँदा कटारी नगरपालिका १० स्थित दुर्गम तिल्केचौर वस्तीका १७ घरपरिवार जोखिममै वसोवास गर्न बाध्य भएका छन् । डेढ वर्षयता वस्तीमा धाँजा फाट्ने क्रमसँगै जमिन भाँसिँदै गएपनि उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि सरकारी प्रयास भएको छैन् ।

धाँजा फाटेको स्थानबाट वर्षाको पानी पस्दा झनै ठूलो जोखिममा बस्ती रहेको कटारी नगरपालिका कार्यपालिका सदस्य गीताकुमारी गिरीले बताइन। ‘वर्षाको क्रम बढ्दै छ, धाँजा फाटेको स्थानबाट वर्षाको पानी पसेर गाउँको तल निस्किने गरेको छ,’ उनले भनिन ‘यस्तै अवस्था रह्यो भने कुनै पनि बेला पुरै बस्ती पहिरोमा बग्छ ।’ गत वर्ष नै भूगर्भ विभागको प्रतिवेदनमा दिइएको सुझाव अनुरूप अहिलेसम्म वस्ती स्थानान्तरण नगरिँदा स्थानीय जोखिममै बस्न बाध्य हुनु परेको छ ।

विभागको टोलीले गएको हिउँदमै स्थलगत अध्यययनपछि बस्ती स्थानान्तरण गर्ने प्रतिवेदन दिएको छ । वस्तीमा धाँजा फाटेपछि कटारी नगरपालिकाले तत्काल भूगर्भ विभागलाई अध्ययन–अनुसन्धानका लागि अनुरोध गरेको थियो ।

विभागका अनुसार जमिनमा उत्पन्न चिरा (दरार) झण्डै ५ सय मिटर लामो छ । ‘चिराको प्रकृति हेर्दा वर्षाका कारण वा केही टाढा सतहमा देखिएको पहिरोको कारणले मात्र नभई कुनै कारणले भएको हुन सक्ने देखिन्छ,’ विभागको प्रतिवेदनमा भनिएको छ ।

विभागले उच्च जोखिममा रहेका घरहरूलाई सुरक्षित स्थानमा सार्न प्रस्ताव गर्दै उक्त स्थानको डिटेल भौगर्भिक अध्ययनका लागि सिफारिस गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले भूगर्भ विभागले वस्ती स्थानान्तरण गरी विस्तृत अध्ययन गर्न भनेको छ । ‘त्यसैअनुरूप नगरपालिकासँग तिल्केचौरका स्थानीयको सुरक्षित स्थानान्तरणका लागि जग्गाको वन्दोवस्ती गर्न भनिएको छ,’ प्रमुख जिल्ला अधिकारीले भने । विभागले विस्तृत अध्यययन गर्न भनेकाले प्राविधिक उपलब्ध गराइ दिन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्राचार गरिएको छ ।

तर अहिलेसम्म वस्ती स्थानान्तरणका लागि प्रक्रिया सुरू नभएको कटारी नगरपालिका १० वडाध्यक्ष क्षेत्रबहादुर खड्काले बताए । १७ घरपरिवारको बसोबास रहेको बस्तीभन्दा करिब २ सय मिटर माथि लामो धाँजा परेर जमिन धसिँदै गएको पनि एक वर्षभन्दा बढी भएको स्थानीय बालकृष्ण थापाले बताए । थापाले भने ‘तर विकल्प छैन, दिउँसो घरमै बसे पनि रात परेपछि अर्को गाउँ पालसिङमा गएर बस्छौं ।’

कटारी नगरपालिका १० का वडाध्यक्ष खड्काले वस्ती जताततै भासिएको बताए । वस्तीको जमिनमा ३ वर्षअघि नै हल्का धाँजा परेको स्थानीयले बताएका छन् । कटारी नगरपालिका(१० तिल्केचौर वस्तीमा ०७७ को मङ्सिरदेखि धाँजा बढ्दै गएको हो । तिल्केचौर वस्ती डाडाँमाथि समतल रहेको इन्सेक जिल्ला प्रतिनिधि राकेश नेपालीले जानकारी दिएका छन ।