इलामः बलात्कार घटनामा पीडित ४७ वर्षीया महिलाले प्रहरीले बलात्कार घटनाका आरोपितलाई आश्रय दिएको आरोप लगाएकी छन  ।

इलाम नगरपालिका ३ का बलात्कार घटनाका आरोपित ३० वर्षीय सङ्गेश लिम्बूलाई प्रहरीले आश्रय दिएको पीडितको आरोप छ ।

पीडितले ०८० असोज ३० गते पत्रकार सम्मेलन गरी बलात्कार घटनाका आरोपित सङ्गेशविरूद्ध भदौ २६ गते प्रहरीमा उजुरी दिँदा प्रहरीले उजुरी नलिएको पीडितको आरोप छ ।

सङ्गेशले आफूलाई ०८० भदौ २३ गते बलात्कार गरेको र बलात्कार घटनाका आरोपितविरूद्ध भदौ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिँदा प्रहरीले उजुरी दर्ता नगरेको पीडितले पत्रकार सम्मेलनमा बताइन। उनले भनिन प्रहरीले बलात्कार गर्नेलाई आश्रय दिएको छ, मैले प्रहरीमा बलात्कार शीर्षकमा दिएको उजुरी दर्ता नगरी फरक व्यहोरामा बल्लबल्ल प्रहरीले उजुरी दर्ता गरेको छ ।

आफूले प्रहरीमा दिएको उजुरी प्रहरीले दर्ता नगरेको, सो उजुरी माग्दा प्रहरीले उजुरी नदिएको र प्रहरीले लेखेको उजुरीका आधारमा अदालतले आरोपितविरूद्ध अनुसन्धानका लागि म्याद नथपेको पीडितले पत्रकार सम्मेलनमा बताइन आरोपितविरूद्ध अदालतमा म्याद थप भएन, उल्टै आरोपितले घटना बाहिर ल्याए मार्ने धम्की दिएको छ, प्रहरीले आरोपितलाई संरक्षण गरेको छ, पीडितले पत्रकार सम्मेलनमा भनिन ।

बलात्कारजस्तो सम्वेदनशील विषयमा उजुरी लिएर जाँदा पीडित महिलाले प्रहरीको दमन खेप्नु परेको देउमाई नगरपालिका ३ का वडासदस्य चन्द्र राईले बताए ।

पीडितले आरोपितविरूद्ध प्रहरीमा दिएको उजुरीका आधारमा आरोपितलाई भदौ २६ गते गिरफ्तार गरेको भएपनि अदालतले सो मुद्दामा म्याद नगरेपछि आरोपितलाई छाडिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वासुदेव खतिवडाले बताए । उनले पीडितले भनेजस्तो नभई प्रहरीले घटनाका विषयमा अनुसन्धान गरिरहेको बताए ।

पीडितले पत्रकार सम्मेलन गरी अधिकारकर्मी र पत्रकारको सहयोग मागेपछि प्रहरीले अनुसन्धानमा चासो नदेखाएको विषयले पत्रकार महासङघ, इलाम शाखाको ध्यानाकर्षण भएको महासङ्घका अध्यक्ष विप्लव भट्टराईले बताए । उनले प्रहरीबाट पीडित अझ पीडित भएको घटनालाई पत्रकारहरूले सुक्ष्म ढङ्गले रिपोर्टिङ गरी पीडितलाई न्यायका लागि पहल गर्ने बताए। पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ ०८० भदौ २६ गते गरिएको इलामका इन्सेक जिल्ला प्रतिनिधि मनोज अधिकारीले जानकारी दिए ।