काठमाडौंः धन कमाएर परिवारलाई सुखसुविधा दिन रोजगारीका लागि साउदी अरब गएका सप्तरीको शम्भुनाथ नगरपालिका–२ का राजकुमार चौधरी बाकसमा फर्किंदा परिवारमा सन्नटा छाएको छ ।

करिब एक वर्षअघि साउदी अरब पुगेका चौधरीको दुई महिनाअघि मात्र हट्याट्याक भएर मृत्यु भएको आप्रवासी सञ्जाल मधेस प्रदेशका अध्यक्ष जेपी सिन्हाले जानकारी दिए । उनको शव मंगलबार राति ११ बजे घर ल्याएर बुधबार अन्तिम सस्कार गरिएको अध्यक्ष सिन्हाले बताए ।

मृतकको शव नेपाल ल्याउन शम्भुनाथ नगरपालिका–२ का वडाअध्यक्ष दुर्गानन्द भगतले आफैं पहल गरेको उनले बताए । आप्रवासी सञ्जाल मधेस प्रदेश र आप्रवासी सञ्जाल सप्तरीले मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको थियो ।

उनको परिवारमा बाबुआमा, श्रीमती र सानो छोरा रहेको उनले बताए । शव घर आइपुगेपछि कमाउन गरेको छोरा काठको रातो बाकसमा फर्किंदा परिवरामा सन्नाटा छाएको अध्यक्ष सिन्हाले राजधानीलाई बताए । उनको शव देखिपछि बुबाआमा र श्रीमती विछिप्त भएर ढलेको र बोल्न सक्ने अवस्था नरहेको उनले बताए ।

‘सानो छोरा, श्रीमती र बाबुआमाका लागि जुन सपना बोकेर उनी परदेश गएका थिए, त्यो सपना साकार गर्न नसकेको र आफंै बन्द बाकसमा बन्द भएर आएको छ,’ वडाअध्यक्ष सिन्हाले भने, ‘यसको जिम्मेवार को ? मृतकले सामी कार्यक्रममा रिटर्नी स्वयं सेवकका रूपमा पनि काम गर्नुभएको थियो ।’

छोरा बाकसमा फर्किंदा विदेश जाँदा लागेको ऋण र अब कसरी घरपरिवारको पालनपोषण गर्ने भन्ने चिन्तामा रहेको उनले बताए ।

उनी त एक प्रतिनिधि पात्र मात्र हुन् । हरेक दिन विदेशमा एक न एक नेपालीको मृत्यु हुने गरेको छ । अनेक सपना बोकेर दिनहुँ सयौं नेपाली बिदेसिने गरेका छन् । कतिको सपना आंशिक वा पूर्णरूपमा पूरा पनि हुन्छ । तर, कतिका सपना रातो बाकसमै बन्द भएर फिर्ता हुन्छन् ।

युवाले विदेशमा कमाएर पठाएको विप्रेषणले देशको झन्डै एकतिहाइ अर्थतन्त्र धानेको छ । तर, कमाउन गएका युवाशक्ति विदेशमा कामकै क्रममा विभिन्न कारणले मृत्यु भएर बन्द बाकसमा फर्किंदा देश, समाज, उनीहरूका आफन्तमा भएको क्षति’bout खै मूल्यांकन ? धन कमाएर परिवारलाई खुसी दिने आसमा परदेसिएका धेरै नेपाली परिबन्धमा परी विदेशी भूमिमै मृत्युवरण गर्न बाध्य छन् ।

राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन २०७९ अनुसार वैदेशिक रोजगारीमा गएका नेपालीको ज्यान जानुमा घातक रोगका कारणभन्दा पनि काम गर्ने वातावरण र व्यवसायजन्य सुरक्षा कमजोर भएकाले बढी मृत्यु हुने गरेको देखिएको छ ।

विदेशमा ज्यान गुमाउने नेपालीहरूको संख्या दिनानुदिन बढ्दो छ । गत आर्थिक वर्ष २०७९/८० मा रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख ७१ हजार ३ सय २७ जना रहेकोमा १ हजार २ सय ५ जनाको मृत्यु भएको वैदेशिक रोजगार बोर्डको तथ्यांकले देखाउँछ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।