विराटनगर/ विराटनगर जुट मिलको प्रशासन कार्यालयमा कर्मचारीले तालाबन्दी गरेका छन् । ३० महिनादेखि कार्यरत २४ जना कर्मचारीलाई पारिश्रमिक र सुविधा नदिइएको र १० जनालाई कार्यालयमा हाजिर गर्न नदिइएको भन्दै कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका हुन् ।

जुट मिलका प्रशासन प्रमुख तारानाथ तिम्सिनाले करार अवधि सकिएकाले हाजिर नगर्न १० कर्मचारीलाई पत्राचार गरेपछि विवाद सिर्जना भएको हो । सेवा सुविधा नदिई काममा लगाउने निर्णय अन्यायपूर्ण भएको कर्मचारीको दाबी छ । हाजिर नगर्न भनिएका कर्मचारीहरू मनोज खड्का, दिननाथ सिंह, राकेश कर्ण, बिपिन कोइराला, अवधेश सिंह, जितेन्द्र मण्डल, शुक्रराज लिम्बू, रमा ज्ञवाली, विमला तिम्सिनालगायत जना १० रहेका छन् ।

बन्द अवस्थामा रहेको विराटनगर जुट मिल पूर्ण क्षमतामा चलाउने भन्दै तत्कालीन अध्यक्ष निलहरि काफ्लेले तामझामसहित गत मंसिरदेखि सञ्चालन गरेका थिए । तर मिल सञ्चालन भएको ३ महिनापछि नै आर्थिक अभाव भएपछि बन्द भएको थियो । सेयर घोटाला भएको भन्दै मुद्दा परेपछि काफ्लेलाई हटाएर उद्योग मन्त्रालय र कम्पनी रजिष्टारको कार्यालयले वसन्त वनलाई कार्यकारी प्रमुख र सञ्चालक समितिको अध्यक्षको रूपमा काम गर्न अख्तियारी दिँदै आएको थियो ।

तर, पछि काफ्ले र वनको छुट्टाछुट्टै सञ्चालक समिति खडा गरेर फरकफरक निर्णय गर्न थालेपछि आधिकारिताको विवादले हाल मिल सञ्चालन हुन सकेको छैन । जुट मिलका प्रशासन प्रमुख तारानाथ तिम्सिनाका अनुसार कार्यरत २२ जना करारका कर्मचारीले पाउनुपर्ने तलबबापतको रकम १ करोड बढी पुगेको छ ।

जुट मिल सञ्चालन गर्नका लागि आउने अध्यक्ष र बोर्ड समितिले मिल सञ्चालन भएपछि तलब दिने आश्वासन दिएको तिम्सिनाको भनाइ छ । जुट मिल सञ्चालन हुँदै र पटकपटक बन्द हुने गरेको छ । विद्युत प्राधिकरणलाई बुझाउन बाँकी रहेको विद्युत बक्यौतामध्ये ४ लाख रुपैयाँ तिरेपछि बिहीबारदेखि पुनः मिल सञ्चालनको तयारी गरिएको हो ।

यसअघि मंसीरमा सञ्चालन गरिएको मिल पुनः बन्द भएको थियो । मिलले विद्युत खपत गरेको पैसा नदिएपछि पछिल्लो समय ३ फागुनमा लाइन कटिएको थियो । ११ केभिए लाइन बुधबार जडान भएकाले परीक्षणको लागि प्रारिम्भक चरणको रूपमा मिल सञ्चालन गर्ने तयारी गरेको अध्यक्ष वसन्त वनले जानकारी दिए ।

‘भोलिदेखि जुट बेल्ने काम शुरु हुन्छ,’ वनले बुुधबार भने, ‘मिलको मेसेनरी मर्मत र विद्युत जडानको काम एकसाथ भइरहेको छ ।’ मिल परीक्षण अवधिका लागि चल्ने उनले जानकारी दिए । मिल सञ्चालक समितिका अध्यक्ष वनका अनुसार बिहीबारदेखि परीक्षणस्वरूप दैनिक २० टन जुटको सामग्री मिलबाट उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

‘अहिलेको अवस्थामा दैनिक ६ टन जुटको सामग्री उत्पादनबाट काम शुरु गर्छौं,’ उनले भने, ‘त्यसपछि एक महिनाभित्रै मिल पूर्ण सञ्चालनमा ल्याउने तयारी गरेका छौँ ।’

मजदुरले प्रशासनमा लगाएको तालाबन्दीले मिल सञ्चालनमा कुनै असर नगर्ने वनले बताए । मिल पूर्ण सञ्चालनमा आएमा दैनिक २० टन जुटको सामग्री उत्पादन गर्ने लक्ष्य राखेको बताइएको छ । अध्यक्ष वनका अनुसार अहिले दैनिक ६ टन उत्पादनले तत्कालका लागि मिलको लागत धान्ने र मिल पूर्ण रूपमा सञ्चालनमा आएमा ३ सय मजदुरले रोजगारी पाउनेछन् ।