इलामः भूकम्पको पुनः निर्माणपछि इलामका किसानहरूले बाँस बिक्रीबाट आम्दानी लिन थालेको छ । यसअघि धनकुटा, तेह्रथुम, उदयपुरलगायत पूर्वका जिल्लाबाट मात्र बाँस निर्यात हुने गरेको थियो । मेची राजमार्ग र सडकको पहुँच पुगेका ग्रामीण क्षेत्रबाट बाँस बिक्री हुने क्रम बढेको हो । इलामका बाँस राजधानी तथा भूकम्पप्रभावित क्षेत्रमा जाने गरेको छ ।

पाखाभित्तामा घरायसी प्रयोगमा सीमित बाँसको माग ०७२ को भूकम्पपछि बढेको व्यपारीहरू बताउँछन । शुरुमा अस्थायी टहरा निर्माणका लागि प्रभावित क्षेत्रमा पुग्ने यहाँको बाँस त्यसपछि अन्य प्रयोजनका लागि जान थालेको हो । जिल्लाका विभिन्न गाउँबाट दैनिक राजधानीतर्फ बाँस जाने गरेको छ ।

सडकको अवस्था हेरेर किसानले ८० रुपैयाँदेखि १ सय २० रुपैयाँ प्रतिगोटा बाँसको मूल्य पाउँछन् । ट्याक्टरले ढुवानी गर्न सक्ने क्षेत्रसम्मको व्यवसायीले सङ्कलन गरी काठमाडौं पु¥याउने गरेका छन् । व्यवसायीले राजधानीमा १ सय ७० देखि २ सय ५० रुपैयाँसम्ममा बाँस बिक्री गर्ने गरेका छन् । वर्षौंदेखि नकाटिएका पुराना बाँस अझै पनि किसानले बिक्री गरिरहेका छन् ।

दुई वर्षयता निरन्तर राजधानी जान थालेको बाँसको अभाव नभएको ठेकेदार बताउँछन् । ‘वार्षिक ३ सय ट्रक बराबरको बाँस राजधानी, जनकपुर, नुवाकोट लगायतका क्षेत्रमा पु¥याउने गरेको छु,’ माइ नगरपालिकाका व्यवसायी राजकुमार मगरले भने, ‘१० भन्दा बढी व्यवसायीले यही दरमा लैजाने गरेका छन् ।’ एक ट्रकमा करिब १ लाख ५० हजार रुपैयाँको बाँस अट्ने गरेको मगरले बताए ।

घरटहरा निर्माण, फर्निचर, हस्तकलाका सामग्रीलगायत विभिन्न क्षेत्रमा प्रयोगमा आउने बाँसको स्थानीय स्तरमा भने घरायसी प्रयोजनबाहेक उपयोग हुन सकेको थिएन । मेची राजमार्गका विभिन्न स्थानमा सङ्कलन गरी बाँस लैजाने गरिएको छ ।

बाँसको कारोबार बढेसँगै स्थानीय स्तरमा रोजगारीको अवसर पनि बढ्दै गएको छ । बाँस काट्ने, बोक्नेलगायतका कामसँगै सानोतिनो ठेक्कापट्टा गर्ने उल्लेख्य छन् ।
इलामबाट मात्रै दैनिक ३ ट्रकले बाँस ढुवानी गर्ने गरेका छन् ।