धरान/ राजनीतिकर्मी तथा सामाजिक अभियन्ता विजय लुम्फुङवा लिम्बूले राजनीतिशास्त्रको स्नातकोत्तर तहमा लिम्बुवान आन्दोलनबारे थेसिस (शोधपत्र) लेखेका थिए ।
शोधपत्रद्वारा प्रभावित भएर गुरु अमृतकुमार श्रेष्ठले भविष्यमा विस्तृत रूपमा पुस्तकको रूप दिन उनलाई सुझाव दिएका थिए । आफ्ना गुरुको सुझावलाई पालना गर्दै लिम्बूले लिम्बुवान आन्दोलन (विकासक्रमः विगत र वर्तमान) नामक पुस्तक तयार गरे । सोही पुस्तकको बुधबार धरानको होटल ड्रिमल्याण्डमा भव्य समारोहबीच विमोचन भयो । लिम्बुवान अध्ययन केन्द्र, विजयपुर च्याप्टरले आयोजना गरेको कार्यक्रममा लेखक लिम्बू, प्रमुख अतिथि तथा चर्चित लेखक एवं चिन्तक युग पाठक, केन्द्रका अध्यक्ष अर्जुन लिम्बू, लेखकका आमाबुबा, श्रीमती आशा, टिप्पणीकार सुर्यकुमार राई, आनन्दप्रसाद आचार्य, रमेश इजमलगायतले संयुक्त रूपमा विमोचन गरेका थिए ।
पुस्तक विमोचन समारोहमा बोल्दै प्रमुख अतिथि पाठकले नेपालमा विदेशबाट आयात गरिएको सिद्धान्त, दर्शन र विकासका प्रोजेक्टले नेपाललाई विकसित र समृद्ध बनाउन नसक्ने बताए । उनले नेपालले आफ्नै दर्शन बनाएर अघि बढ्न सके मात्र विकास, समृद्धि पाउन सक्ने जिकिर गरे ।
‘हामीले विदेशीको दर्शनबाट सिक्ने हो, तर नेपालले आफ्नै दर्शन विकास गर्नुपर्छ, तब मात्र हामीले चाहेको लक्ष्य पाउँछांै,’ पाठकको भनाइ थियो । युमा (नाटक), उर्गेनको घोडा र पछिल्लो समय माङ्गेना जस्ता चर्चित पुस्तक लेखेका पाठकले लिम्बू जातिको मुन्धुमभित्र माङ्गेना जस्तो मौलिक दर्शन भएको पनि धारणा राखे । ‘माङ्गेना जस्तो दर्शन छ, यो दर्शनले समाजमा कसैको शिर झुक्न हुदैन, झुक्यो भने पनि सम्मानपूर्वक उभ्याइदिनुपर्छ भन्छ । हो, हामीले आफ्ना मौलिक दर्शन बनाउनुपर्छ । ज्ञानको विकास गर्नुपर्छ र नेपालको आफ्नै दर्शन बनाउनुपर्छ,’ उनले भने ।
किरात याक्थुङ चुम्लुङका पूर्व अध्यक्ष अध्ययन केन्द्रका अध्यक्ष अर्जुन लिम्बूले पुस्तकले लिम्बुवान आन्दोलनलाई तथ्यपरक विश्लेषण गरेको टिप्पणी गर्दै आन्दोलनले विगतबाट पाठ सिकेर भविष्यमा गल्ती दोहो¥याउन नहुने बताए । साथै उनले लिम्बुवान आन्दोलनलाई चित्रकारले चित्र कोर्नुअघि मस्तिष्कमा चित्रको स्वरूप बनाएजस्तै लिम्बुवानी आन्दोलनका अभियन्ताले पनि खाका बनाउनुपर्ने बताए ।
बुद्धिजीवि आनन्दप्रसाद आचार्यले लेखकले वस्तुपरक, यथार्थपरक भएर लिम्बुवान आन्दोलनको घटनाक्रमलाई जस्ताको तस्तै राखेर पुस्तक लेखेको भन्दै प्रशंसा गरेका थिए ।
महेन्द्र बहुमुखी क्याम्पसका पूर्वप्रमुख सूर्यकुमार राईले शासकले अन्य समुदायलाई हेर्ने नजरमा अढाई सय वर्षदेखि कुनै अन्तर नभएको उल्लेख गर्दै आन्दोलनको औचित्य नसकिएको बताए ।
उपप्राध्यापक डा.रमेश इजमले सरल रूपमा समसामयिक र सान्दर्भिक विषयवस्तुलाई पुस्तकले समेटेको बताए । पुस्तकका लेखक लिम्बूका अनुसार गोर्खा राज्य र लिम्बुवानबीच वि.स.१८३१ मा नुनपानी सम्झौता भएपछि केही थुमका राजाबाट शुरु भएको विद्रोहदेखि नेपालको संविधान २०७२ घोषणा हँुदासम्मको २ सय ४१ वर्षे कालखण्डलाई पुस्तकमा समेटिएको छ ।
लेखक लिम्बूले भने, ‘एक समय लिम्बुवान विद्रोहको रूपमा थियो, बिस्तारै राजनीतिक आन्दोलनको रूप लिएर यहाँसम्म आयो । संघीयताको आन्दोलनमा पनि योगदान पु¥यायो । लक्ष्य प्राप्त भएको छैन, आन्दोलन अझै जारी छ ।’