विराटनगरः विकासको ढाँचालाई स्मार्ट सिटीको अवधारणामा अगाडि बढाउने नारा अनुसार नीति नबन्दा कार्यान्वयनमा ढिलाइ भइरहेको सम्बन्धित क्षेत्रका विज्ञको भनाइ छ ।
सूचना र प्रविधिको क्षेत्रमा भइरहेको विकासले समृद्धिमा मार्न सक्ने फड्कोलाई सरकारी नीतिले रोकिरहेको विज्ञहरूले गुनासो गरेका हुन् । विराटनगरमा जारी क्यान इन्फोटेक मेलामा सम्बन्धित क्षेत्रका विज्ञहरूले स्मार्ट सिटी विकासको मोडललाई कसरी बढाउन सकिन्छ भनेर बहस गरिरहेका छन् ।
‘बेला होइन, अबेला भयो’, त्रिभुवन विश्वविद्यालय सूचना–प्रविधि विभागका प्रमुख प्रा.डा. मनिष पोखरेल भन्छन्, ‘हरेक क्रान्तिको ५० वर्ष आयु हुन्छ । हामीले १८ वर्ष त्यसै बिताइसकेका छौं ।’ विराटनगरमा जारी क्यान इन्फोटेक मेलामा आयोजित कार्यशालामा प्रा.डा. पोखरेलले सूचना र प्रविधिको क्षेत्रमा लगानी भित्र्याउने अवधारणा अनुसार विकासको ढाँचालाई बढाउने समय बिस्तारै सकिँदै गएको दाबी गरेका छन् ।
सरकारी तहदेखि नै प्राथमिकताको क्षेत्र नतोकिए सूचना र प्रविधिले विकासमा भित्र्याएको क्रान्ति नेपालीले सिसी क्यामेरा र वाइफाइकै सीमिततामा अनुभूति गर्नुपर्ने विज्ञको भनाइ छ । ‘स्मार्ट सिटी बनाउने घोषणा गरेका कतिपय स्थानीय तहहरूले निःशुल्क इन्टरनेट (वाइफाइ) सेवा प्रदान गरेर चुप बसेका छन्, प्रदेश सरकारले भाषण गरेको छ, सङ्घीय सरकार नीति बनाउन अलमलिएको देखिन्छ’, प्रा.डा. पोखरेलले भने, ‘नेपालमा स्मार्ट सिटी भन्ने अवधारणा नीति निर्माण तहमै बुझाउनुपर्ने अवस्था देखिएको छ ।
आर्थिक पारदर्शिता र सुशासन कायम गराउन फलदायी हुने सूचना र प्रविधिमैत्री विकासले सबै नागरिकलाई सचेत गराउँदै समग्र विकासमा फड्को मार्न कोशेढुङ्गा साबित हुने भए पनि प्राथमिकतामा नपर्नुका कारण खोज्नुपर्ने अवस्था आएको अर्का जानकार राजन लम्सालको भनाइ छ ।
सरकारले गोरखाको पालुङटार, लुम्बिनी र वालिङ नगरपालिकालाई स्मार्ट सिटीको रूपमा विकास गर्ने भने पनि त्यसको ढाँचा कस्तो हुने भन्ने विषयमा अल्मलिएको जानकारहरूको आरोप छ ।
विराटनगरमा जारी मेलामा ४० हजारभन्दा बढी दर्शकले अवलोकन गरिसकेका छन् । प्रत्येक दिन आइटी विशेषज्ञहरू सम्मिलित कार्यशालामा सूचना र प्रविधिको क्षेत्रमा अध्ययनरत विद्यार्थी तथा जानकारबीच बहस हुँदै आएको छ । क्यान मोरङका अध्यक्ष राजन यादवका अनुसार प्रदेश १ मा भएको दोस्रो इन्फोटेक मेलाले कारोबारलाई भन्दा बढी जानकारी र सचेतनालाई महत्वमा राखेको छ । मेलामा सूचना र प्रविधिसँग सम्बन्धित एक सय बढी स्टल राखिएका छन् ।