अनुसा थापा

वैशाखदेखि भदौ वर्षातको मौसम हो । यो अवधिमा सबैभन्दा धेरै पानी पर्छ । जुनसुकै भूभागमा पनि यो बेला वर्षात हुन्छ । खोलाहरुमा भल आउँछ । त्यसैगरी यतिबेला मुलुकभरका सर्वसाधारणको आँखामा आँशुको भल बगेको छ । सहकारी संस्थाहरुले बचतकर्तालाई धरधरी रुवाएका छन् । 

पैसा डुबेको चिन्ताले गर्दा उनीहरुको आँखाबाट नरोकिनेगरी आँशु बगेको छ । भूरादेखि बुढासम्मको पैसा सहकारीले खाइदिएको छ । ब्याज आउँछ, बुढेसकाल्लाई हुन्छ भनेर सर्वसाधारणले सहकारीमा पैसा राखे । घरजग्गा बेचेर, जिन्दगीभरको कमाइ, विदेश बसेर कमाएको र जागिरबाट अवकाश हुँदा आएको पैसा बचत गरेका थिए । 

जुन सहकारीले झ्वाम पारिदियो । देशैभरी ३५ हजार २३९ वटा सहकारी दर्ता छ । यी सहकारीले करोडौं बचतकर्ताको ३७ खर्ब रुपैयाँ झ्याम्म बनाइदियो । पाँच हजारदेखि १४ करोड रुपैयाँ डुब्ने बचतकर्ताहरु छन् । उनीहरु अहिले निकै तनावमा छन् । सहकारीले पैसा खाइदिएपछि चिन्ताले पिरोलिएका कतिपय बचतकर्ताको हार्ट अट्यार्क भएर ज्यान गएको छ । 

कतिपयले आत्महत्याको बाटो रोजेका छन् । अधिकांश सहकारी भागिसकेको छ । नभागेको सहकारीले पनि बचत फिर्ता गर्न सकेको छैन् । सहकारीमा बचतकर्ताले पैसा राख्न छोडिसकेका छन् । सहकारीमाथि अब विश्वास गर्न सकिँदैन् भन्ने कुरा आम सर्वसाधारणले बुझिसकेका छन् । 

सबैलाई आफ्नो पैसा निकाल्नु छ तर सहकारीले दिँदैन् । कार्यालय खुलेका सहकारीहरुले पनि झुल्याउने र अल्मलाउने काम गरिरहेको छ । किन कि ती पनि भाग्ने मौका खोजेर बसेका छन् । सहकारी सञ्चालित घरका धनीहरु पनि अहिले तनावमा छन् । घरमा मान्छेको ओइरो लाग्दा उनीहरुको सातो जान्छ । 

घर तोडफोड हुने हो कि भनेर डराएका घरधनीहरु घर खाली गरिदिन आग्रह गर्दै पालिका गुहारिरहेका छन् । पैसा नपाएपछि बचतकर्ताले कार्यालयमा भएको सामान उठाउन शुरु गरिसकेका छन् । बाहिर बोर्ड झुण्डाएको छ, तर भित्रचाँहि ताला ठोकेको हुन्छ । दुई वर्षअघि हामी यहीको बासिन्दा हो, हामी भाग्दैनौं भन्नेहरु लुकेर हिँडेका छन् । 

अध्यक्षहरु सम्पर्कविहिन भएका छन्, कर्मचारी लुकीछिपी हिँडेका छन् । हिजो बढी ब्याज दिन्छु भन्ने प्रलोभन देखाएर सहकारीले बचतकर्ताबाट पैसा उठायो । अहिले न मर्दापर्दा पैसा दिन्छ न बिरामी भएर अस्पताल भर्ना हुँदा । सहकारीले पैसा नदिँदा किरिया गर्नसमेत समस्या परेको समाचारहरु बाहिरिरहेका छन् । 

धेरै सहकारीका सञ्चालक जेल चलान भएका छन् । कतिपय देश छोडेर भागिसकेका छन् । नभागेका सहकारीमा पैसा माग्न जाँदा शेयर, गाडी र घरजग्गा लिनुस् भन्छन् । बैंकले एक सय रुपैयाँ कित्तामा निकालेको शेयरलाई पाँच हजार भन्छन् । एक लाख रुपैयाँ नपर्ने गाडी र जग्गाको मूल्य लाखौं राखिएको छ । 

उनीहरुको मूल्यमा शेयर, गाडी र घरजग्गा लिइदिनुपर्ने रे । सहकारीहरु अझैपनि बचतकर्तालाई ‘उल्लु’ बनाएर ठग्ने चाल चलिरहेका छन् । हिजो २२ प्रतिशतसम्म ब्याज दिने शर्तमा बचत गर्न लगाए, अहिले उनीहरुको रेटमा शेयर, गाडी र घरजग्गा लिनु भन्छन् । काठमाडौंमा बचत गर्नेलाई रामेछाप, इलामलगायतका स्थानको जग्गा लिन दबाब दिइरहेका छन् । 

आफ्नो रेटमा लिए त्यही जग्गा लिनु, नत्र भए पैसा माया मार्नु भन्न खोजेका छन् । सर्वसाधारणको आँखामा सबै सहकारी ‘ठग’ बनेका छन् । सहकारीले बचतकर्तालाई ‘मर्नु न बाँच्नु’ बनाइदिएको छ । तर, मन्त्रीहरुचाँहि तिनकै कार्यक्रममा अतिथि बन्न पुगेको देखिन्छ ।  सहकारीमन्त्री रञ्जिता श्रेष्ठ, अर्थमन्त्री डा प्रकाशशरण महत सहकारीको कार्यक्रम उद्घाटनमा गइरहेका हुन्छन् । 

सहकारीले बचतकर्तालाई ‘घर न घाट’ को बनाउँदा मन्त्रीहरु तिनको कार्यक्रम उद्घाटन गर्न पुग्नु लज्जास्पद कुरा हो । पूर्वमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जीबी राईविरुद्ध सिन्धुलीका युवराज सफलले केही दिनअघि सहकारी ठगीको उजुरी दर्ता गरेका छन् । 

उनले दोषीहरुमाथि कारबाही गर्न माग गरेका छन् । तर, सहकारी विभागले अहिलेसम्म सीआईबीलाई पत्र लेखेको छैन् । विभागले नै सहकारी ठगीका आरोपीहरुलाई बचाइरहेको बचतकर्ताहरुको आरोप छ । बचतकर्ताहरु यतिबेला राज्य संयन्त्रमाथि आक्रोशित भएका छन् । लाखौं बचतकर्ताको बिल्लीबाठ हुँदासमेत सरकार हात बाँधेर बसेको छ अनि बचतकर्ता आक्रोशित हुनु स्वाभाविकै छ । 

अब पनि सरकार नतात्ने हो भने आफूहरुले नै सहकारी सञ्चालकहरुलाई कारबाही गर्ने बचतकर्ताहरु बताउँछन् । कतिपय सहकारीका कर्मचारीहरुले बजारबाट पैसा उठाउने कार्य रोकेका छैनन् । कार्यालय बन्द भइसकेको छ तर उनीहरु पैसा उठाएर खाइरहेका छन् । सहकारीमा पैसा नराख्न भनि सरकारले अहिलेसम्म सार्वजनिक सूचना जारी गरेको छैन् । 

स्थानीय पालिकाहरु पनि बचतकर्तालाई सचेत गराउन र उनीहरुको समस्या समाधान गर्नमा चासो देखाएका छन् । विज्ञापन बोर्ड पनि यो विषयमा मौन बसेको छ । सहकारी पीडितहरु दिनदिनै विभाग धाइरहेका छन् । विभागमा दिनहुँ भीड हुने गरेको छ । उनीहरु आउँछन्, सरकारलाई आफ्नो गुनासो सुनाउँछन्  । 

तर, सरकारले वास्ता गर्दैन् । एउटा कानबाट सुन्ने र अर्को कानबाट उडाउने कार्य भइरहेको छ । सहकारी डुबेको दुई वर्ष भइसकेको छ । तैपनि सरकारलाई मतलब छैन् । दुई वर्षदेखि बचतकर्ता पीडा खेपेर बसेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  ले सहकारीमा देखिएको समस्या समाधानका लागि पटकपटक निर्देशन दिइसकेका छन् । 

प्रधानमन्त्रीले सहकारीमन्त्री श्रेष्ठ र अर्थमन्त्री महतलाई सहकारीको समस्या समाधानका लागि आवश्यक कार्य गर्न भनेपनि उनीहरुले अटेर गर्दै आएका छन् । यसले सहकारीमन्त्री श्रेष्ठ र अर्थमन्त्री महत बचतकर्ता डुबाउने सहकारीको पक्षमा छन् भन्ने कुरा स्पष्ट हुन्छ । सरकारले चैत मसान्तभित्र बचतकर्ताको पैसा फिर्ता गर्न निर्देशन दिइसकेको छ । 

कानुन बनेर राजपत्रमा समेत प्रकाशित भइसकेको छ । बचत फिर्ता नदिने सहकारीको विरोधमा उजुरी दिन सरकारले आह्वान गरेको छ । तर, अहिलेसम्म उजुरी लिनेबाहेक खासै प्रगति भएको छैन् । कतिपय सहकारी सञ्चालकले बचतकर्तालाई फकाउने, अल्माउने र थम्थमाउने काम गरिरहेका छन् । 

उनीहरुले उजुरी हाल्न दिइरहेका छैनन् । सहकारीको सबै लगानी घरजग्गा, शेयर र गाडीमा छ । यी क्षेत्रमा पूरै मन्दी आइसकेको छ । अब यिनीहरुले बचतकर्ताको पैसा कसरी फिर्ता गर्छन् ? सहकारी चल्दैन् भन्ने कुरा सर्वसाधारणले थाहा पाइसकेका छन् । सरकारले अब सहकारीको दर्ता खारेज गरिदिनुपर्छ । 

सहकारीका सञ्चालकलाई कानुनको दायरामा ल्याउनुपर्छ र तिनको सम्पत्ति बेचेर बचतकर्ताको पैसा फिर्ता गरिदिनुपर्छ । सहकारीको ठगीधन्दाले सीमा नाघिसकेको छ । सरकारबाट केही हुनेवाला छैन्, अब बचतकर्ता नै ‘एक्सन’ मा उत्रिनुपर्छ । सहकारी ठगहरुलाई राजनीतिक पार्टीकै संरक्षण छ । 

राजनीतिक दलका कार्यकर्ताहरुले नै सहकारी खोलेर सर्वसाधारण ठगेको पुष्टि भइसकेको छ । सहकारीमन्त्री श्रेष्ठले कि धमाधम सहकारी सञ्चालकलाई कारबाही गर्न निर्देशन दिनुपर्यो कि नैतिकताको आधारमा राजीनामा दिनुपर्यो । बचतकर्तालाई रुवाएर उनी पदमा बस्न सुहाउँदैन् । 

विभागमा महानिर्देशक आएको महिनौं बितिसकेको छ । तर, उनले अहिलेसम्म एउटा पनि सहकारी समस्याग्रस्त घोषणा गर्न मन्त्रालयलाई पत्र लेखेका छैनन् । न सीआईबीलाई नै लेखेका छन् । सहकारी सञ्चालकहरु जोगिन निरन्तर मन्त्रालय र विभाग धाइरहेका छन् । सहकारीलाई समस्याग्रस्त हुनबाट रोक्न र समस्याग्रस्त घोषणा गरिसकेकालाई कालोसूचीबाट हटाउन सहकारी सञ्चालकहरु लागेका छन् । 

सहकारी डुब्नु राज्य सञ्चालकहरुका लागि ‘दुहुनो गाईं’ जस्तै भएको छ । बुढापाकाले भन्थे,‘एउटा नबिग्रिकन अर्को सप्रिदैन् ।’ सहकारीका बचतकर्ता डुबे, मन्त्री र महानिर्देशक मोटाए ।