इटहरी/ उत्तरी मोरङको सुन्दरहरैंचा नगरपालिकामा धार्मिक पार्कको निर्माण शुरु भएको छ । सुन्दरहरंैचा–५ मा रहेको ७ बिघा क्षेत्रफलमा फैलिएको नयाँ वृन्दावन गौशाला परिसरमा यस्तो पार्क निर्माण शुरु भएको हो ।
प्रदेश १ को पहिलो तथा सबैभन्दा ठूलो धार्मिक क्षेत्र र पार्क बनाउने उद्देश्यका साथ यस्तो कार्य गरिएको निर्माण समितिको भनाइ छ ।
विभिन्न धार्मिक मठमन्दिरहरू, शाकाहारी तथा मांसाहारी छुट्टाछुट्टै वनभोज स्थल र गोत्र अनुसारका बिरुवाहरू लगाएर पार्क क्षेत्रमा हरियाली बढाउने यसका परिकल्पनाकार दीनबन्धु शास्त्री बताउँछन् । पार्कमै गोत्र अनुसारका ऋषिहरूको मूर्ति अनि अष्ट चिरञ्जीविको मूर्ति पनि बनाइने शास्त्रीले बताए ।
विभिन्न दाताहरूले दिएको जग्गामा हिन्दू, बौद्ध र कविर आदिका मूर्ति र मन्दिर सजाइएको छ । हाल बुद्ध मूर्ति र कविर मूर्तिहरू स्थापना गरिसकिएको छ भने मुस्लिम र हिन्दू शैलीका खम्बाहरू उठाएर कृष्ण मन्दिर निर्माण पनि जारी भएको छ ।
अहिले नै आकर्षक फाउन्टेन, पर्याप्त खुला स्थान र बस्ने आकर्षक फलैंचाहरूले भरिभराउ धार्मिक पार्कलाई थप सुन्दर बनाउने यसका अभियन्ताहरूको भनाइ छ ।
विश्वकै सबैभन्दा अग्लो गाईको मूर्ति बनाउँदै नगरपालिका
राधेश्याम सेवा ट्रस्टको सञ्चालनमा रहेको नयाँ वृन्दावन क्षेत्रमा नगरकै गौरवको परियोजना पनि सञ्चालन गर्ने तयारी नगरपालिकाले थालेको छ । सुन्दरहरैंचाका मेयर शिवप्रसाद ढकाल नयाँ वृन्दावन क्षेत्रको धार्मिक पार्कमा विश्वकै सबैभन्दा अग्लो गाईको मूर्ति बनाइने बताउँछन् ।
नेपाल तथा सीमावर्ती भारतीय राज्य विहार र पश्चिम बंगालका हिन्दू पर्यटकहरू तान्न र धार्मिक पार्कको शोभा बढाउन यस्तो गर्न लागिएको मेयर ढकालको भनाइ छ । गाईको मूर्ति ३ सय फिट भन्दा अग्लो बनाउने तयारी भएको मेयर ढकाल बताउँछन् ।
इटहरी बजारबाट ५ मिनेट र पूर्व–पश्चिम राजमार्गबाट साढे १ किलोमिटर दुरीमा रहेको नयाँ वृन्दावन मोरङ र सुनसरीको सीमा भएर बग्ने बुढी खोला किनारमा रहेको छ । खोलाको कटान नियन्त्रण गर्न तटबन्ध बनाएर धार्मिक पार्क निर्माणको काम तीव्र पारिएको छ । २०६५ सालमा दर्ता भएको ट्रस्टले यो परियोजना २०६६ सालबाट शुरु गरेको हो । यस प्रोजेक्टको पूर्ण सम्पन्न हुन दाताको दानमा भर पर्ने सञ्चालक समितिको भनाइ छ ।
‘पुर्खाको इतिहास नै वंशको संरक्षण’ नारा दिएर धार्मिक पार्कको काम अगाडि बढिरहेको छ । ‘हाल गौशाला र नयाँ वृन्दावनको रूपमा मात्रै परिचित यो क्षेत्रमा धार्मिक तथा पर्यटकीय चहलपहल गर्न धार्मिक पार्कको अवधारणा ल्याइएको हो’, पार्क परियोजना नसकिउन्जेल अन्न व्रतमा रहेका शास्त्री भन्छन्, ‘मान्छेहरू पाप पखाल्न मात्रै होइन, टहल्न, घुमफिर गर्न र पिकनिक खान पनि यस्ता धार्मिक क्षेत्रमा आऊन् भन्ने हाम्रो उद्देश्य हो ।’