सूर्यप्रसाद अधिकारी

चितवनः ९ बर्ष अघिबाट व्यावसायिक अर्ग्यानिक कृषि उत्पादन गर्दै आएका  किसान छविलाल न्यौपानेले चितवनबाट अर्ग्यानिक चुकन्दर र गाजर जर्मन  निर्यात गर्न लागेका छन । भरतपुर महानगरपालिका वडा नम्बर २५ स्थित प्रभात प्राङ्गारिक कृषि उत्पादन केन्द्र लगायत चितवनका एक दर्जन किसानले  अर्ग्यानिक भ्याली बिक्रेता मार्फत प्रशोधन गरेर चुकन्दर र गाजर पठाउन लागेका हुन् ।

जिल्ला प्राङ्गारिक संघ, चितवन मार्फत फागुनको अन्तसम्ममा सय टन चुकन्दर र सय टन गाजर निर्यात गर्न लागिएको प्रभातका सञ्चालक  न्यौपानेले जानकारी दिए । चुकन्दर र गाजर उत्पादन र निर्यातको लागि  पेश्की रकम समेत प्राप्त भइसकेको उनले बताए  । ‘हामीले फागुनसम्म यसको उत्पादन सबै दिइसक्नुपर्छ । यसपछि सुर्खेतमा जर्मनहरूकै प्रशोधन कारखाना छ , उनले भने , त्यहाँबाट यसको प्रशोधन गरेर सातु (धुलो) जर्मन लगिन्छ ।’ अर्ग्यानिक चुकन्दर र गाजरको माग जर्मनमा उच्च भएको कारण आगामी वर्षदेखि यस खेतीको विस्तार समेत गरिने न्यौपानेको भनाई छ  । जर्मन निर्यातको लागि  न्यौपानेको  डेढ विघा बारीमा   ३० टन चुकन्दर र करिब २० टन गाजर उत्पादन हुने प्रक्षेपण छ । 

उनले यसअघि पनि अर्ग्यानिक भ्याली  र अर्ग्यानिक भेन्चर बिक्रेता मार्फत अर्ग्यानिक तरकारी, धान, मकै, गहुँ, तोरी, तरकारी लगायतका कृषि उपज बिक्री गर्दै आएका हुन् । 

‘हामीले गर्ने हरेक उत्पादन शुन्य एग्रोभेट विलिङ्गको उत्पादन हो, उनले भने , यसलाई चाहिने मल र विषादी पनि प्राङ्गारिक नै हुन्छ ।’ बिना रसायन माटोलाई स्वस्थ बनाउन वर्षौसमय लाग्ने र माटो स्वस्थ भएपछि उत्पादन वृद्धि हुनुका साथै लागत पनि कम लाग्ने उनको भनाई छ । ‘अहिले रासायनिक मल भन्दा प्राङ्गारिक मलबाट उत्पादन गर्दा मलाई बढी मुनाफा हुने गरेको छ, उनले भने, उत्पादन स्वस्थ पनि हुन्छ टेष्टी र स्टोरेज पनि बढी गर्न सकिन्छ ।’ किसानले  उत्पादन गरेका चुकन्दरको बीउ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)बाट सिफारिस गरेको स्थानीय बीउबाट उत्पादन गरिएको हो । 

यसलाई विषादीबाट बचाउन र माटो स्वस्थ राख्न यसको वरपर अन्य उपज लगाएर छेकबार गरिन्छ । अहिले कम्पनीले अर्डर गरेपछि बेलाबेलामा आएर बारीमा आउने, निरीक्षण गर्ने काम गरिरहेको उनले बताए  । उनले  यो अर्ग्यानिक चुकन्दर एउटै १ केजीभन्दा बढी वजनको हुने अनुमान गरेका छन् । 

अन्य कृषि उपज भन्दा चुकन्दर र गाजर खेतीमा रोगको जोखिम कम भएकोले उत्पादन र मुनाफा पनि सुनिश्चित हुने न्यौपानेले बताए  । झण्डै तीनदशक अघि आफ्नो घरको लागि मात्र अर्ग्यानिक कृषि उत्पादन गर्दै आउनु भएका न्यौपानेले ९ बर्ष अघिबाट अर्ग्यानिक उत्पादनको अभियान शुरु गरेका हुन्। न्यौपानेले मौसम र माग आए अनुसार अर्ग्यानिक तरकारी, तोरी, धान, मकै, गहुँ लगायतका अन्य नगदे बालीको उत्पादन तथा बिक्री गर्दै आएका छन ।