धनकुटाः निर्माणाधीन तमोर कोरिडोरका लागि चालु आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन नहुँदा काम बिचमा नै छोड्नु परेको छ । द्रुत गतिमा काम अगाडि बढिरहेको यस कोरिडोरका लागि चालु आवमा ५८ करोड रुपियाँ मात्र विनियोजन भएको थियो । त्यसमध्ये पुस मसान्तसम्ममा करिब ४० करोड रुपियाँ खर्च भइसकेको छ । पुसयता पनि २५ करोडभन्दा बढीको काम भइसकेको छ । रकम भने १८ करोड रुपियाँमा मात्र बाँकी रहेको तमोर कोरिडोर आयोजना प्रमुख प्रदीप निरौला बताउछन । उनी भन्छन्, “बजेट अभाव भएकाले काम नै रोकिने अवस्थामा पुगेको  छ ।”

धनकुटाको मूलघाटबाट पाँचथर खण्ड अन्तर्गत ११२ किलोमिटर सडक कालोपत्रेका लागि २०७९ कात्तिकमा चार अर्ब १६ करोड रुपियाँमा ठेक्का लागेको थियो । गत वर्ष सडक स्तरोन्नति गर्न ४८ करोडको काम भएको थियो । यो वर्ष धेरै बजेट आवश्यक पर्ने भए पनि निक्कै कम बजेट छुटट्एिको निरौलाको भनाइ छ । उनले भने, “यो वर्ष नै धेरै काम गर्नुपर्ने भएकाले दुई अर्ब रुपियाँभन्दा बढी आवश्यक पर्ने थियो तर एक चौथाइमा बजेट विनियोजन हुँदा काम पूरा हुन नसक्ने भयो ।” 

यो मार्ग पूर्वी पहाडलाई तराईसँग जोड्ने मात्र नभई भारत र चीन जोड्ने सबैभन्दा छोटो मार्ग हो । राष्ट्रिय गौरवको यो आयोजना अहिले कालोपत्रे गर्ने चरणमा छ । कोरिडोरको मूलघाटदेखि नावाखोलासम्मको २८ किलोमिटरमा हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको छ । सरकारले सम्झौता अनुसार बजेट उपलब्ध नगराउँदा मजदुरलाई भुक्तानी दिन समस्या हुन थालेको ठेकेदार कम्पनीको भनाइ छ । सम्झौता अनुसार भुक्तानी नभए काम रोकिन सक्ने रौताह क्षमादेवी कन्स्ट्रक्सनका व्यवस्थापक अजन दाहाल बताउछन्। “हामीले काम त निरन्तर गरिरहेका छौँ तर कामदारलाई भुक्तानी गर्नसमेत रकम अभाव हुने अवस्था आएकाले काम नै रोकिने अवस्था आउन लागेको छ,” दाहालले भने ।

आर्थिक अभाव तथा आयोजनाको समस्याका बारेमा सरकार वा मन्त्रालयलाई जानकारी गराउने तयारी गरिएको जिल्ला समन्वय प्रमुख नीरन तामाङ बताउछन्।   

भारतको जोगबनीबाट तमोर नदीको किनार हुँदै चीनको तिब्बतलाई जोड्न २०६७ सालमा आयोजना सुरु गरिएको थियो । धनकुटाको मूलघाटदेखि तमोर नदीको किनारैकिनार करिब १८० किलोमिटर तथा विराटनगरको रानी भन्सारवाट चीनको सीमा क्षेत्रसम्मको लम्बाइ २७० किलोमिटर छ । पाँचथरदेखि इलाम हुँदै तराई पुग्न छ घण्टा तथा ताप्लेजुङबाट ८ घण्टा लाग्ने गरेकोमा सडकको ट्र्याक खुलेसँगै अहिले भने पाँचथरबाट तीन र ताप्लेजुङबाट चार घण्टामा तराई पुग्न सकिन्छ । मेची राजमार्गबाट तराई झर्दाभन्दा यो मार्गबाट आधाभन्दा बढी छोटो हुन्छ । त्यस्तै तेह्रथुम र धनकुटाका बासिन्दालाई समेत यो मार्ग धेरै सहज बनेको छ । अहिले धनकुटा, तेह्रथुम, पाँचथर र ताप्लेजुङबाट यो रुट हुँदै दैनिक दुई दर्जनको हाराहारीमा सवारीसाधन सञ्चालनमा आउने गरेका छन् । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित भएको छ ।