इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर ११ निवासी २६ बर्षीय सुदिप विक १२८.७ ग्राम सुनसहित काठमाडौंबाट  पक्राउ परेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले १२८.७ ग्राम सुनसहित उनी सँगै गोरखा चुमनुब्री गाउँपालिका वडा नम्बर ६का ३९ वर्षीय सोनाम दोर्जे लामा पनि  पक्राउ गरेको प्रहरी उपरिक्षक  नकुल पोखरेलले जानकारी दिएका छन् ।  उनीहरूले रसुवाको केरूङ नाका हुँदै भन्सार छलेर सुन तस्करी गरी काठमाडौं प्रवेश गरेको भन्ने सूचना प्रहरीले पाएको थियो । गोप्य रुपमा पाएको सूचनाको आधारमा  सोमबार साँझ कार्यालयबाट प्रहरी एक टोली खटिएको थियो। काठमाडौं महानगरपालिका वडा नम्बर १८ नरदेवीबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूबाट एक टुक्रा सुन फेला परेको थियो। जसको तौल १२८.७ ग्राम रहेको उपरिक्षक पोखरेलले जानकारी दिए ।   उक्त सुनको बजार मूल्य १३ लाख ९१ हजार १६० रुपैयाँ छ। उनीहरूमाथि थप अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय गौचरमा पठाएको पोखरेलले जनाए।