इटहरीः  झापामा सहकारी चोरी गरेको आरोपमा इटहरीबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको छ  । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय झापाले  सार्वजनिक गरेको छ।

उनीहरुलाई कोशी प्रदेश प्रहरी कार्यालयको समन्वयमा सुनसरीको इटहरीबाट पक्राउ गरी झापा ल्याइएको डीएसपी कृष्ण चन्दले बताए । पक्राउ परेकाहरूविरुद्ध चोरीको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

चन्दका अनुसार पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ फाखेल घर भएका २१ वर्षीय सुनिल भनिने सन्तबहादुर स्याङ्तान, सोही ठाउँका २२ वर्षीय सुनिल स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङ्तान, ३० वर्षीय सोमलाल स्याङ्तान, २६ वर्षीय सुजन स्याङ्तान र मकवानपुरगढी गाउँपालिका–७ का २८ वर्षीय अजय राना मगर छन् ।

उनीहरूले ३० लाख १६ हजार ६८७ रुपैयाँ बराबरको चोरी गरेको झापा प्रहरीका प्रवक्ता तथा डीएसपी  चन्दले बताए । अहिलेसम्म झापाका मात्रै ११ वटा सहकारीमा यो समूहले चोरी गरेको खुलेको छ ।

चोरी गर्नका लाथि ताला फोड्न प्रयोग भएको मार्तोल, पेन्चिस, पिलास लगायतका सामान पनि प्रहरीले बरामद गरेको छ । चोरी गर्ने बेला लगाइएका कपडासमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।