सिद्धार्थनगरः  नेपालको संघिय सरकारमा देखिएको राजनीति हलचलले प्रदेशहरुलाई पनि असर पुराएको लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जोखबहादुर महराले बताएका छन् । हामीले परिकल्पना गरेको संघियतालाई संस्थागत गर्न पार्टीहरुले नसकेको उनको धारणा छ । 

संघिय सरकारमा एमालेले सरकारलाई दिएको सर्मथन फिर्ता लिए संगै लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन पनि एमालेले फिर्ता लिएको छ । समर्थन फिर्ता संगै लुम्बिनी प्रदेश सरकारमा सहभागी मन्त्रीहरुले विहिवार राती नै मुख्यमन्त्री महरालाई राजिनामा बुझाएका छन् ।

मन्त्रीहरुले दिएको राजिनामा बुझ्दै मुख्यमन्त्री महराले  देशमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपनि नेपालका ठुला पार्टीहरुमा संघियता लागूहुन नसक्दा केन्द्रमा देखिने समस्याहरुले प्रदेशलाई पनि असर पुराएको बताए ।

संघियतालाई संस्थागत गर्नका लागि पार्टीहरुमा पनि प्रदेश र स्थानीय तह सम्म स्वविवेक अधिकार र सरकार गठनलाई प्रदेशलाई नै जिम्मेवारी बनाउनुपर्ने सुझाव दिए ।

केन्द्रिय राजनीतिमा देखिने हलचलले प्रदेशलाई पनि असर पुराउनु गतल हो । मुख्यमन्त्री महराले भने,‘ हामीले संघियता ल्याएपनि आफ्ना पार्टीहरुमा संघियता ल्याउन असमर्थ देखिएको छौँ । प्रदेशलाई संस्थागत गर्नका लागि पार्टीहरुले सोच्नुपर्ने अवस्था आएको छ । ’

समृद्ध प्रदेशको निर्माण गर्नका लागि प्रदेशको राजनीति नेतृत्वले नै पहलकदमी गर्नु पर्दछ । संघिय सरकारमा देखिएका समस्या संघले र प्रदेशमा देखिने समस्या प्रदेशले समाधान गर्ने परिपाटीको विकास गर्न हामी लाग्नुपर्ने मुख्यमन्त्री महराले राजिनामा बुझाउन आएका मन्त्रीहरुलाई बताए । यसका लागि पार्टीहरु भित्रनै संघर्ष गर्नुपर्ने बेला आएको मुख्यमन्त्री महराको सुझाव रहेको छ ।

लामो जनयुद्ध तथा जनआन्दोलनले संस्थागत गरेको संघियताले तिन तहको सरकार निर्माण गरि समृद्ध हुने परिकल्पना गरिए पनि विभिन्न समस्याहरुले अल्झाई रहेको बिचार मुख्यमन्त्रीले राखे ।

4

प्रदेश सरकारको स्थापना संगै यस्ता परिघटनाहरु देखा परेकाले प्रदेश संरचनाको औचित्व छैन भन्ने आवाजहरुले स्थान पाएको भन्दै मुख्यमन्त्री महराले यस्ता समस्याहरुलाई ब्रेक गर्नका लागि हामीहरु तयार हुनुुपर्ने सुझाव दिए । 

लुम्बिनी प्रदेश सरकारमा हामी छोटो समय संगै कामगर्ने अवसर प्राप्त गर्नासाथ धेरै जनपक्षिय कामहरु गर्न सफल भएका छौँ । मुख्यमन्त्री महराले भने ,‘ हामीले शुरु गरेका कामहरु चालु आर्थिक बर्षको अन्त्य सम्म पुरा गर्ने दायित्व थियो तर राजनीतिमा देखिएको फेरबदलले पुरा गर्न सकेनौँ । आगामी आर्थिक बर्षका लागि पनि हामीले सहकार्यमा ल्याएको नीति तथा कार्यक्रम र बजेटलाई कार्यन्वयनका लागि कार्यविधि बनाएर अगाडी बढ्नुपर्ने थियो । त्यो गर्न नसक्नु हाम्रो बाध्यता भयो  ।’  

हामी सरकारमा आएसंगै धेरै अफ्टयारा कामहरुलाई विस्तारै सहज बनाउदै लगेको थियौँ । समितिका सभापतीहरु चयन गरेयौँ । समितिका बैंठकहरुलाई निरन्तरता दिएका छौँ । सदनलाई यथेस्ट विजनेस दिएको छौँ । निकै राम्रो बातावरणमा सरकार सञ्चालन भैरहेको अवस्थामा आएको यो हलचलले लुम्बिनी प्रदेश सरकारलाई असहज तर्फ धकलेको मुख्यमन्त्री महराले बताए ।

प्रदेशमा अहिल सम्मकै सहज, शान्त बातावरण, सबैभन्दा शालिन रुपमा मन्त्रीपरिषदका बैठकहरु बसेयौँ । प्रदेशका मन्त्रालयहरु सकारात्मक मार्गमा अगाडी बढिरहेका थिए । तर हामीले पाएको जिम्मेवारी पुरागर्न केन्द्रिय राजनीतिले समस्या श्रृजना गरेको मुख्यमन्त्री आफ्नो मन्तव्यमा बताए ।

मैले पूर्णरुपमा मन्त्रीहरुलाई विश्वास गरे भन्दै मुख्यमन्त्री महराले मन्त्रीहरुले पनि आफुले विश्वास गरे अनुसार जोश र जागरका साथ जनपक्षिय काम गरेको  बताए ।

उनले भने,‘ नीति तथा कार्यक्रम त्यायौँ, त्यो सहज ढंगले पास गरेयौँ । जनअपेक्षा अनुसार बजेट निर्माण गरेयौँ, प्रतिपक्षलाई विरोध गर्ने बातावरण नै निर्माण गरेनौँ ।’ 

कर्मचारीतन्त्रले कामगर्न दिन्न भन्ने थियो तर हामीले सहज सहकार्यमा कम गरेयौँ । मुख्यमन्त्री महराले भने,‘ कार्यक्षेत्रमा मन्त्री र सचिव विचमा सकारात्मक सम्बन्ध निर्माण गरि जनता संग प्रत्यक्ष जोडिएर काम गरेयौँ ।’

यो हाम्रो दोष नभएर बाध्यता हो । आशा छ फेरि पनि हामी एकठाउ हुने छौ भन्दै मुख्यमन्त्री महराले आफ्नो नेतृत्वमा रहेको सरकार सफल गराउन सधै अग्रपंतिमा उभिएकोमा राजिनामा दिने एमालेका मन्त्रीहरु प्रति कृतज्ञता व्यक्त गरे ।